काठमाडौं। निर्वाचनमा पराजित वडाध्यक्षले थर्काउँदा निर्माण कार्यमा काममा बाधा हुने गरेको गुनासो व्यवसायीले गरेका छन्।
चुनाव हारेका वडाध्यक्षले पनि निर्माण व्यवसायीलाई आफ्नो स्वार्थअनुरुप काम लगाउन खोज्ने र नमान्दा थर्काउने गरेको नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जे लामाले गुनासो गरेका हुन्।
‘निर्माणका लागि ढुंगा, गिट्टी, बालुवा निकाल्न स्थानीयले अवरोध गर्छन। १÷२ भोटले हारेको वडाध्यक्ष पनि हेप्ने भन्दै थर्काउँछन्। हामीले कसरी काम गर्नू?’ वरिष्ठ उपाध्यक्ष लामाले भने। सरकारले आयोजना प्रमुख ६÷६ महिनामा परिवर्तन गर्दा पनि निर्माणको काम प्रभावित हुने उनले बताए।
सोमबार नेपाल पूर्वाधार पत्रकार समाज (सिज) ले आयोजना गरेको पूर्वाधार क्षेत्रमा आव २०८१÷८२ को ‘बजेटमा पूर्वाधार क्षेत्रः कति प्राथमिकता’सम्बन्धी अन्तरक्रियामा बोल्दै उनले सार्वजनिक खरिद नियमावली संशोधन निर्माणमा व्यवसायीको पहुँचले काम गरे आरोपको खण्डन गरे।
‘आवश्यकताअनुसार एकैपटक संशोधन नगरेपछि पटकपटक संशोधन भएको छ। तर व्यवसायीको आफ्नो पहुँचले गरेको भन्छन्। त्यस्तो होइन’, उनले भने।
एडीबी, विश्व बैंकको लगानी रहेका आयोजनामा एउटै ठेक्का खर्बौंको लाग्ने तर नेपाली निर्माण कम्पनीले काम नपाउने अवस्था रहेको उनले गुनासो गरे।
‘नेपाली व्यवसायी काम नपाएर हिँडेका छन्, सरकार टुक्र्याएर ठेक्का लगाउँदैन’, उनले भने, ‘जेभीमा काम गर्न पनि सीमित कम्पनीले मात्रै पाउने बनाइएको हुन्छ। एडीबी, र्वल्ड बैंकको लगानीका आयोजनामा नेपाली व्यवसायीले काम गर्न सक्छन् भनेर पत्रकारले आवाज उठाइदिनुपर्छ।’ व्यवसायी काम नगर्ने, ठग हुन् भन्ने सोच्न नहुने उनको भनाइ छ।