काठमाडौं । मुलुकमा लगानीको वातावरण दिन प्रतिदिन बिग्रिँदै गएको निश्कर्ष निकाल्दै ठुला व्यवसायिक घरनाले स्टिल उद्योग स्थापनाबाट पछि हटेका छन ।
करिव ४ अर्ब रुपैयाँ लगानी गरेर स्टिल उद्योग स्थापनाका लागि जुटेका आईसीटीसी ग्रुप, गोल्छा अर्गनाइजेसन र हामा स्टिल समूहले तत्कालका लागि नयाँ स्टिल उद्योगबाट पछि हट्ने भएका हुन् ।
सरकारले विकास खर्च गर्न नसकेको र भइरहेका निर्माण उद्योगको अवस्था दयनीय बन्दै गएपछि ठूलो लगानी तत्कालका लागि स्थगन (होल्ड) गरेको हो ।
‘अहिले भइरहेका निर्माण सम्बन्धी उद्योगको हालत खराब भइरहेको छ, त्यही भएर हाम्रो ग्रुपले तत्काल स्टिल उद्योग नलगाउने मनस्थिति बनाएको हो,’ आइसीटीसी ग्रुपका कार्यकारी अध्यक्ष सुरेशलाल श्रेष्ठले क्यापिटलसँग भने, ‘अर्बौ रुपैयाँ लगानी गरेर नयाँ उद्योग स्थापना गर्ने अवस्था नरहे पछि केही समय पर्ख र हेरको स्थितिमा पुगेका हौ ।’
गोल्छा अर्गनाइजेशन, हामा आइरन र आइसीटीसी ग्रुपले मिलेर ब्लेट तथा रड बनाउने उद्योग स्थापना गर्न लागेका थिए । इटालिनय प्रविधिबाट डण्डी उत्पादन गर्ने लक्ष्य थियो । तर, देशमा बिग्रिँदै गएको लगानीको वातावरणका कारण ती लगानीकर्ता तत्काल लगानी नगर्ने मोडमा पुगेका हुन् ।
उद्योग स्थापनाका लागि वीरगन्जलगायतका ठाउँमा जग्गा समेत छनोट गर्ने कार्य अघि बढेको थियो । केही ठाउँमा जग्गा खरिदका लागि बैना समेत उपलब्ध गराइसकेको अवस्था थियो । तर, देशको अवस्था ठिक नभएकाले तत्काल लगानी नगर्ने सोचमा पुगेको श्रेष्ठले जानकारी दिए ।
देशभित्र निर्माण कार्य ठप्प प्राय भएको र आफूहरुले ल्याउन लागेको उद्योग पनि निर्माण क्षेत्रसँग सम्बन्धित नै भएकाले रोक्नुपरेको लगानीकर्ताको भनाइ छ ।
सरकारले लगानीको वातावरण बन्दै गएको बताए पनि लगानीकर्ताले धमाधम लगानी होल्ड गरिरहेका छन् । केही समयअघि नेपालको व्यावसायिक घराना सौरभ समूहले पनि स्टिल उद्योगमा गर्ने भनेको लगानी स्थगन गरेको थियो ।
सौरभ समूहले पनि ४ अर्ब रुपैयाँको हाराहारीमा लगानी गर्ने योजना सहित विभिन्न देशबाट मेसिन समेत मगाइसकेको थियो ।
सरकारले निर्माण कार्यलाई तीब्रता दिएको अवस्थामा मात्रै नयाँ उद्योग आउने छन् । सरकारले विकास खर्च गर्नमा कुनै सुधार गर्न नसकेपछि लगानीकर्ता निरुत्साहित हुँदै गएका हुन् । सरकारले चालू आर्थिक वर्षको ४ महिनामा पुँजीगत खर्च १० प्रतिशत हाराहारीमा मात्रै गर्न सकेको छ ।
स्थायी सरकार बनेपछि हौसिएका लगानीकर्ता साढे २ वर्षमै निरुत्साहित हुँदै धमाधम लगानी विस्तार रोकेका छन् । स्टिलको माग घटेपछि उद्योगहरुले आफनो उत्पादन क्षमता घटाइसकेका छन ।