काठमाडौं। नेपाल राष्ट्र बैंकले पुँजीकोष दबाबमा रहेका बैंकहरूलाई ‘पर्पेचुअल प्रिफरेन्सियर सेयर’ जारी गर्न दिने भएको छ। केन्द्रीय बैंकले बैंकहरुलाई मौद्रिक उपकरणको रुपमा प्राथमिक पुँजीकोषमा गणना गर्न मिल्ने अग्राधिकार सेयर जारी गर्न दिने भएको हो।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा तेस्रो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाको पुँजीकोष थप सुदृढ गर्ने अतिरिक्त उपकरण प्रयोगमा ल्याउने घोषणा गरेको थियो।
घोषणा कार्यान्वयनमा ल्याउन बैंकहरूलाई ‘क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५’ मा अतिरिक्त प्राथमिक पुँजीकोषमा २ वटा उपकरण प्रयोगमा ल्याउन लागिएको राष्ट्र बैंक नियमन विभाग प्रमुख तथा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए।
बैंकहरूले वित्तीय स्रोत परिचालनमा एडिसनल टियर१ (थप प्राथमिक पुँजी)का लागि पर्पेचुअल डेब्ट इन्स्ट्रुमेन्ट (पीडीआई) र पर्पेचुअल नन्–क्युमुलेटिभ प्रिफरेन्सियल सेयर (पीएनसीपीएस) प्रयोगमा ल्याउन सक्छन्।
अहिले ३ वाणिज्य बैंक, २ विकास बैंक र एक वित्त कम्पनीको प्राथमिक पुँजीकोष तोकिएको सीमाभन्दा तल छ। दर्जन बढी बैंकलाई नियामकले तोकेको प्राथमिक पुँजीकोष कायम गर्दै नयाँ कर्जा विस्तार गर्न हम्मे परेको छ। अधिकांश बैंकहरूको पुँजीकोष दबाबमा रहेको कारण कर्जा विस्तार गर्न नसकेको अवस्थालाई मूल्यांकन गरी उपचार खोजिएको पौडेल बताउँछन्।
‘अहिले बैंकहरूमा देखिएको पुँजीकोष दबाब दीर्घकालीन नभएर मध्यकालीनसम्म भएको निक्र्यौल गरी सोहीअनुसारको उपचार गर्न लागिएको हो,’ कार्यकारी निर्देशक पौडेलले क्यापिटल नेपालसँग भने, ‘पुँजी सम्बन्धमा तत्कालै हकप्रद सेयर र एफपीओ आउँदैन। अहिले आउने भनेको एडिस्नल टायर वान क्यापिटलभित्र पर्पेच्युअल नन्क्युमिलेटिभ प्रिफरेन्सियर सेयर र पर्पेच्युअल डिबेन्चरमा कुनलाई दिने भन्ने कुरा हो। हामीसँग धेरै विकल्प नभएका कारण पर्पेच्युअल नन्क्युमिलेटिभ प्रिफरेन्सियर सेयर नै दिने भन्ने छ।’
पर्पेचुअल नन्क्युमुलेटिभ प्रिफरेन्सियल सेयर नाफा भएको वर्ष मात्र लाभांश पाउने गरी जारी गरिने अग्राधिकार सेयर हो। अर्थतन्त्रको सुस्तता प्रभाव कर्जा मागमा परेको छ भने एनपीएल बढाइरहेको छ। यसको प्रत्यक्ष प्रभाव बैंकहरूको पुँजी कोषमा पर्छ। यस्तो प्रभावलाई सम्बोधन गर्न समस्याअनुसारको उपकरण प्रयोग गर्न लागिएको पौडेल बताउँछन्।
राष्ट्र बैंकले दिन लागेको अग्राधिकार सेयर टायर१ क्यापिटल गणना गर्न मिले पनि चुक्ता पुँजीमा गणना गर्न मिल्दैन। ‘क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५’ मा अतिरिक्त प्राथमिक पुँजीकोषमा २ वटा विकल्प राखिएको छ। बैंकहरूले उक्त विकल्प प्रयोग गरेर संकलन गरेको वित्तीय स्रोत बफर क्यापिटलसहितको ८.५ प्राथमिक पुँजीकोषमा १.५ प्रतिशत मात्रै गणना गर्न पाउँछन्।
बैंकहरूले अग्राधिकार सेयर जारी गर्दा कुनै वर्ष बैंक नोक्सानीमा जाँदा र आगामी वर्ष नाफा भए लाभांश दिने सर्तसहित सञ्चयशील अर्थात् क्युमुलेटिभ पर्पेचुअल प्रिफरेन्सियल सेयर जारी गर्न सक्छन्। तर, राष्ट्र बैंकले नाफा भएको वर्षमा मात्रै नाफा दिँदा हुने गरी जारी गर्न मिल्ने नन्क्युमुलेटिभ पर्पेचुअल प्रिफरेन्सियल सेयर अर्थात् असञ्चयशील अग्राधिकार सेयर जारी गर्न दिन लागेको हो।
त्यस्ता उपकरण प्रयोगमा ल्याउँदा राष्ट्र बैंकले सहजीकरणसँगै सीमा तोक्न लागेको कार्यकारी निर्देशक पौडेल सुनाउँछन्। ‘यस्ता उपकरण प्रयोग गर्दा बैंकहरूलाई केही अप्ठ्यारा भएकाले मात्रै राष्ट्र बैंकले सहजीकरण गर्न लागेको हो, त्यसमा कति प्रतिशतसम्म जारी गर्न पाउने भनेर सीमा तोक्न आवश्यक छ। पुँजीमा गणना गर्न पाउने र नपाउने अग्राधिकार सेयरबारे पनि राष्ट्र बैंकले प्रस्ट बनाउनुपर्नेछ,’ उनले भने।
राष्ट्र बैंकले दिन लागेको अग्राधिकार सेयरका लगानीकर्ताले बैंकले नाफा कमाएको वर्ष मात्रै लाभांश पाउनेछन्। यस्ता लगानीकर्ताले बैंकको साधारणसभामा भाग लिन पाउँदैनन् भने बैंकको अन्य सञ्चालक समितिको निर्णयमा पनि आफ्नो मत राख्न पाउँदैनन्। तर, संस्था समस्याग्रस्त भएर खारेज हुने भए अग्राधिकार सेयरका लगानीकर्ताको सेयर पहिले फिर्ता दिनुपर्ने हुन्छ।
अग्राधिकार सेयर
बैंकले आर्जन गरेको नाफाबाट पाइने लाभांशमा साधारण सेयरधनीभन्दा पहिला अधिकार हुने गरी जारी गरिएको सेयरलाई अग्राधिकार सेयर भनिन्छ। यस्तो सेयर निश्चित समयपछि फिर्ता हुने गरी वा तोकिएको समयसीमाभित्र पुँजीमा गणना हुने गरी जारी गरिन्छ।
राष्ट्र बैंकले अग्राधिकार सेयर क्युमुलेटिभ पर्पेचुअल प्रिफरेन्सियल सेयर (सञ्चयशील), नन्क्युमुलेटिभ पर्पेचुअल प्रिफरेन्सियल सेयर (असञ्चयशील), रिडिमेबल पर्पेचुअल प्रिफरेन्सियल सेयर (विमोच्य) र ई–रिडिमेबल पर्पेचुअल प्रिफरेन्सियल सेयर (अविमोच्य) ४ प्रकारका हुन्छन्।
बैंकहरूले अग्राधिकार सेयर जारी गर्दा कुनै वर्ष बैंक नोक्सानीमा जाँदा र आगामी वर्ष नाफा भए लाभांश दिने सर्तसहित सञ्चयशील अर्थात् क्युमुलेटिभ पर्पेचुअल प्रिफरेन्सियल सेयर जारी गर्न सक्छन्। तर राष्ट्र बैंकले नाफा भएको वर्षमा मात्रै नाफा दिँदा हुने गरी जारी गर्न मिल्ने नन्क्युमुलेटिभ पर्पेचुअल प्रिफरेन्सियल सेयर अर्थात् असञ्चयशील अग्राधिकार सेयर जारी गर्न दिन लागेको हो।
यस्तो सेयर राष्ट्र बैंकको स्वीकृतिमा निश्चित समयपछि बैंकहरूले पुँजीमा परिणत गर्न सक्छन्। यस्तो सेयर बैंकहरूले आजीवन अर्थात् संस्था अस्तित्वमा रहँदासम्म वा निश्चित अवधि तोकेर जारी गर्न सक्छन्।