काठमाडौं। गण्डकी प्रदेशको श्रमाधान रोजगार मेला सुरु भएको छ। पोखराको पोखरा इभेन्ट सेन्टरमा सञ्चालित मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्त रुपमा उद्घाटन गरे।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरको संयुक्त आयोजना तथा होटल संघ नेपाल (हान) को संयोजनमा मेला आयोजना गरिएको हो।
मेला सह–आयोजकमा उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघलगायतका सरोकारवाला संस्था रहेका छन्।
३९ स्टल राखिएको मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सीजी ग्रुप, सामाजिक सुरक्षा कोष, एनएमबी बैंक, पोखरा महानगर, होङ्सी सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघ, होटल सरोवर, नेपाल उद्योग परिसंघलगायतका विभिन्न स्टल रहेका छन्।
दुई दिनसम्म चल्ने मेलामा श्रमाधानका बहुआयामिक पक्षबारे संवाद हुनेछ। मेलाको पहिलो दिन आज श्रम आप्रवासनः कानुनी प्रकृया र मनोसामाजिक प्रभाव, यातायात रोजगारमा चुनौती र अवसर, अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा संवाद हुनेछ।
दोस्रो दिन मंंगलबार शिक्षा र रोजगारीबीचको सेतुः कार्यस्थलमा सिकाइ प्रयोग, पर्यटनले कोर्नुपर्ने अबको बाटो, श्रम कानुनका अप्ठ्यारा र फुकाउनुपर्ने गाठा विषयमा संवाद हुनेछ।
कोसीको विराटनगरबाट सुरु श्रमाधान रोजगार मेला बागमती प्रदेश पुगेर सकिनेछ। मेलाले विशेषगरी रोजगारदाता र रोजगारी खोज्नेबीच देखिने गरेको खाडल पुर्न महत्त्वपूर्ण मानिने श्रम मन्त्रालयले जनाएको छ।
कार्यक्रममा श्रम मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेले मेलाले रोजगारदाता र रोजगारी खोज्नेहरुबीच पुलको काम गर्ने बताए।बाध्यतात्मक वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सांकेतिक पहल भएको उनको भनाइ छ।