काठमाडौं। ५४ प्रतिशत मूल्य अभिवृद्धि (भ्यालू एड) हुँदै आएको स्पञ्ज आइरन उद्योगलाई धरासायी पार्ने गरी सरकारले कर निर्धारण गरेपछि उद्योगीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई भेटेर गुनासो गरेका छन्।
सकारकै नीतिका कारण ३६ अर्ब रुपैयाँ लगानी गरेर स्थापना गरिएको स्टिल उद्योगलाई समाप्त पार्ने गरी कर नीति अंगिकार गर्दा आफूहरु समस्यामा परेको उद्योगीहरुले बताएका छन्।
संसदको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री थापालाई भेटेर आफूहरु गम्भीर समस्यामा परेको र संसदमा यो विषय उठाइदिन आग्रह गरेका हुन्।
‘हामीले स्टिल उद्योगले देशमा पुर्याउँदै आएको योगदानका बारेमा पनि महामन्त्री थापालाई जानकारी गरायौं। आयात प्रतिस्थापनमा पुगेको योगदान पनि बतायौं, श्री स्टिलका सञ्चालक राजेशकुमार अग्रवालले भने, ‘सरकारको अस्थिर नीतिका कारण आफूहरु समस्यामा परेको र यसलाई सच्याउन पहलकदमी लिइदिन समेत आग्रह गरेका छौ।’
प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर सिधै थापा भेट्न पुगेका थिए।
उद्योगीसँगको भेटमा थापाले सरकारले तपाईहरुमाथि अन्याय गरेको बताए। ‘सरकारले स्थिर नीति लिनुपर्नेमा मन्त्री नै पिच्छे नीति अंगिकार गर्दा देशमा औद्योगिक वातावरण विथोलिएको छ,’ थापाले भने, ‘नेपाली कांग्रेस जहिले स्थिर नीतिको पक्षमा छ। सरकार अस्थिर भए पनि नीति स्थिर भयो भने लगानीकर्ताको मनोवल उच्च हुन्छ। तर, आफूअनुकूल नीति चलाउँदा लगानीकर्ताको मनोवल गिर्ने मात्रै होइन्, लगानी जोखिम पनि हुन्छ।’
महामन्त्री थापाले यस विषयलाई आफूले गम्भीर रुपमा लिएको र प्रमुख प्रतिपक्षको हैसियतमा यो कुरालाई संसदमा जोडतोडका साथ उठाउने उद्योगीसामू प्रतिवद्धता समेत जनाए।
स्पञ्ज आइरन उद्योगले रोजगारीमा गरेको योगदान, विजुली खपतमा पुर्याएको योगदानलाई सरकारले अनादर गरेको देखिएको थापाले बताए। ‘एकातिर हामी ब्याकवार्ड इन्टिग्रेसनमा मुलुक जानु पर्छ भन्छौ, अर्कोतिर यस्ताखाले नीति लिन्छौ’ थापाले भने।