काठमाडौं । सरकारले राजस्व उठाउन नयाँ विकल्पको रुपमा ‘हनिमुन हब’ निमार्ण गर्नुपर्ने आवश्यकता सांसदहरुले औंल्याएका छन्। आजको संसद् बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेस सांसद धनराज गुरुङले उक्त विषय उठाएका हुन्।
सांसद गुरुङले आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमा टिप्पणी गर्दै बजेटले निर्धारण गरेको १२ खर्ब ६० अर्ब राजस्व असुली गाह्रो हुने बताउँदै राजस्व उठाउने नयाँ बाटो खोज्न सरकारलाई सुझाव दिए।
पूर्वकानुनमन्त्रीसमेत रहेका गुरुङले आफू मन्त्री हुँदा नै राजस्व संकलनको नयाँ बाटोका रुपमा धार्मिक, सांस्कृतिक, खेलकुदलगायत पर्यटन सम्भावना रहेका क्षेत्रमा आवश्यक कानुन बनाउन पहल गरिएको उल्लेख गरे।
सरकारले जडीबुटी खेती र विभिन्न हब निर्माण गरी पर्यटन क्षेत्रबाट थप राजस्व उठाउन आवश्यक काम गर्नुपर्ने उनले बताए।
‘जनकपुरमा वेडिङ हब, लुम्बिनीमा बर्थिङ हब बनाउने भए हनिमुन सिटी पनि थप हुनुपर्यो। हनिमुन हबको कमी भयो। एउटा हनिमुन हब वा हनिमुन सिटी कति कतै राख्दा के फरक पर्छ?’ सांसद गुरुङले भने, ‘चितवनको सौराहालाई हनिमुन सिटी बनाइदिऊँ, नवविवाहित जोडी त्यहाँ जान्छन्, हात्ती चढ्छन्। रारामा ताल मात्रै हेर्न जानुभन्दा त्यहाँ पनि हनिमुन सिटी बनाइदिउँ।’
हजार जोडी अट्ने स्थान बनाउनुपर्ने सांसद गुरुङको भनाइ छ। डाँडाडाँडामा भ्यूटावर बनाउनुभन्दा यस्ता हब बनाउन सके पर्यटन विकास गर्न सकिने उनको बुझाइ छ।
आफू कानुनमन्त्री हुँदै गाँजा खेतीको विषयमा कानुन बनाउन पहल गरेको भन्दै उनले यसलाई औषधीजन्य उत्पादनमा लैजानुपर्ने सुझाए।
‘म मन्त्री बन्दा पटक–पटक कानुन बनाएर ल्याउनुस् भन्दा ल्याउनुभएन। यदि कानुन बनाएर जाने हो भने गाँजा खेतीबाट २ खर्ब राजस्व वृद्धि हुन्छ,’ उनले भने।
जडीबुटी खेती विषयमा पनि कानुन बनाउन सके थप २ खर्ब राजस्व उठ्ने उनको भनाइ छ।