काठमाडौं। स्टिल उद्योगमा करका दर बढाएपछि विरोधमा उत्रिएको नेपाल फलामे छड उत्पादक संघले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर फिर्ता लिन माग गरेको छ।
आज नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ नेतृत्वमा फलामे छड उत्पादक उद्योगीले प्रधानमन्त्रीलाई आगामी आर्थिक वर्ष २०८१/८२ मा स्टिल उद्योग भन्सार महसुल २.५ प्रतिशत बढाइँदा स्टिल उद्योग मारमा पर्ने दाबी गर्दै फिर्ता लिन आग्रह गरेको हो।
उद्योगीले स्टिल उद्योगलाई भन्सार महसुल २.५ प्रतिशत बढाएर सरकारले थप समस्यामा पारेको भन्दै तत्काल खारेज नगरे १८ वटा उद्योगको ३६ अर्ब बढी लगानी जोखिममा पर्ने गुनासो प्रधानमन्त्रीसमक्ष राखेका थिए।
उद्योगीका गुनासो सुनेपछि प्रधानमन्त्री दाहालले आगामी आवको बजेटमा स्टिल उद्योगमा बढाइएको भन्सार महसुलका विषयमा अर्थमन्त्री वर्षमान पुनसँग कुरा गरेको र त्यबारे छलफल चलिरहेकाले माग पूरा गरिने बताए।
प्रधानमन्त्रीबाट स्टिल उद्योगीका माग सम्बोधन गर्न अर्थमन्त्रीलाई निर्देशन दिइएको विषय उठान भएको सिद्धिलक्ष्मी स्टिलका अध्यक्ष एवं महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले जानकारी दिए।
‘मैले तपार्ईंहरु समस्यामा परेको जानकारी विभिन्न माध्यमबाट पाइसकेको छु। प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै एक व्यवसायीले भने, ‘अर्थमन्त्रीलाई बोलाएर उद्योगी व्यवसायीसँग छलफल गरी सहमति गर्न निर्देशन दिइसकेको छु, तपाईंहरु आत्तिनु पर्दैन।’
व्यवसायीले स्टिल सिमेन्ट उद्योगजस्तै आत्मनिर्भर हुने चरणमा पुगिसकेको अवस्थामा एकैचोटि करका दर हेरफेर हुँदा समस्या भएको र उद्योगै बन्द हुने स्थितिमा पुगेकाले त्यसबाट बचाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए।
यसअघि उद्योगीले गत १७ जेठमा अर्थमन्त्री पुनलाई भेटेर बढेको कर फिर्ता लिन आग्रह गरेका थिए। त्यतिबेला अर्थमन्त्रीले बढेको करको दरका विषयमा अध्ययन गरेर मात्र निर्णय लिने व्यवसायीलाई जानकारी गराएका थिए।
तर,अर्थमन्त्रीले माग सुनुवाइ गर्ने छाँटकाँट नदेखिएपछि स्टिल उद्योगीले आन्तरिक छलफललाई समेत तीव्रता दिँदै आएका छन्। बढेको करअनुसार कुनै पनि हालतमा उद्योग सञ्चालन हुन नसक्ने निष्कर्षमा पुगेका उद्योगीहरु अहिले कसरी अगाडि बढ्ने भन्नेबारे छलफलमा रहेको व्यवसायी बताउँछन् छन्।
अहिले सरकारले ल्याएको नीतिअनुसार दुई वटा उद्योगलाई मात्र प्रत्यक्ष फाइदा पुग्ने र १८ उद्योग बन्द हुने स्थिति रहेको व्यवसायीको दाबी छ।
आर्थिक वर्ष २०८१/८२ को बजेटमा भन्सार महसुल बढाइँदा ३६ अर्ब लगानी भएका र ३ हजार १ सय बढीलाई रोजगारी दिँदै आएका मेल्टिङ प्लान्टलाई धराशयी बनाउने खाले भएको गुनासो व्यवसायीले गर्दै आएका छन्।
उद्योगीले यसअघि जेठ १८ मा स्टीलजन्य वस्तुमा बढाएको करको दर उल्टाउन अर्थमन्त्री पुनले अटेर गरेपछि सत्तारुढ एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली निवास बालकोट पुगेरै आफ्ना मर्का सुनाएका थिए। अहिलेको अवस्थामा स्टीलमा बढाएको कर समय सान्दर्भिक नभएको भन्दै संशोधनका लागि पहल गरिदिन अध्यक्ष ओलीको सहयोग मागेका थिए।
उद्योग वाणिज्य महासंघअन्तरगत उद्योग समिति सभापति एवं श्री स्टीलका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले करको दरबारे दलका नेताहरुलाई बुझाउन घरदैलो थालिएको बताएका थिए। व्यवसायीको भेटमा अध्यक्ष ओलीले बढेको करको दरका विषयमा अर्थमन्त्री पुनसँग सल्लाह गर्ने आश्वासन दिएका थिए।