काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरीबन्धु काण्ड लुकाउन न्यूरोडको सडक बनाउन थाले आरोप लगाएका छन्। महानगरले न्यूरोड क्षेत्रमा फुटपाथ बनाउन लागेको सडक सोमबारबाट सडक डिभिजन काठमाडौंले फेरी सडक नै बनाउन थालेको छ।
गिरिबन्धुको १० हजार करोडको काण्ड लुकाउन र जनतालाई झुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्यूरोडमा बनाउन लागेको फुटपाथलाई सडक नै बनाउन थालेको मेयर शाहले बताए। सोमबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले उक्त विषय सार्वजनिक गरेका हुन्। साथै न्यूरोडको सडक बनाएको जसरी चक्रपथ, बुटवल, चितवनको पनि बाटो बनाउन उनले चुनौती दिएका छन्।
अघिल्लो साता महानगरको कार्यापालिका बैठकमा वडा २२ नम्बरका वडाध्यक्ष चिनीकाजी महर्जनसँग फुटपाथ विस्तारका विषयमा मेयर शाहको चार्काचर्की भएको थियो। वडा अध्यक्ष महर्जन फुटपाथ बढाउन नहुने पक्षमा छन् भने मेयर शाह बढाउनुपर्छ भन्ने अडानमा थिए। तर, सडक डिभिजनले आफ्नो कार्यक्षेत्रको सडक अनुमति बिना खन्ने काम भएको भन्दै आजबाट मर्मत सुरु गरेको हो।
यसअघि डिभिजन कार्यालयले महानगरलाई पत्र पठाएर अनुमति बिना सडकलाई फुटपाथ नबनाउन आग्रह गर्दै आएको थियो। तर, महानगरले डिभिजन कार्यालयको पत्रलाई वेवास्ता गरेको थियो। साथै कार्यपालीका बैठका मेयर शाहले सडक विभागबाट आएको पत्र कानुन संवत् नभएकाले कानुनी प्रक्रियामा जाने एवं उक्त पत्र राजनीतिक आधारमा आएको बताएका थिए।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ एमालेका सांसद हुन्। साथै २२ नम्बर वडाका अध्यक्ष महर्जन पनि एमालेबाटै निर्वाचित हुन्। वडा अध्यक्ष, मन्त्री हुँदै एमालेका अध्यक्ष केपी ओलीसम्म मेयर शाह खनिएका हुन्।