काठमाडौं । सेयर बजार सुस्त अवस्थामा छ। सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) निरन्तर दबाबमा रहँदा कतिपय सूचिकृत कम्पनीको सेयर मूल्य अंकित मूल्य नजिक छ। तर, बजारमा कहिल्यै बोनस सेयर र हकप्रद सेयर नदिएको उत्पादनमूलक क्षेत्रको एउटा कम्पनीको मूल्य भने प्रतिकित्ता ५० हजार रुपैयाँ नजिक पुगेर फर्किएको छ।
जेठ १६ गते नेप्से २३.८१ र जेठ १७ गते १९.८९ अंकले घट्दा पनि युनिलिभिर नेपालको सेयर मूल्यमा भने सर्किट लाग्यो र ४७ हजार ४ सय रुपैयाँ प्रतिकित्तामा कारोबार भयो। यद्यपी जेठ १७ गते नै युनिलिभरको मूल्य ४७ हजार ६ सय १४ रुपैयाँ ७० पैसासम्म पुगेको थियो। आइतबार (जेठ २०) को सुरुवाती कारोबारमा पनि युनिलिभरको मूल्य बढ्दै प्रतिकित्ता ४९ हजार २ सय ५० रुपैयाँसम्म कारोबार भएको छ। यद्यपी आइतबामर मध्यान्तरसँगै घट्न थालेको युनिलिभरको मूल्य गत बिहीबारको तुलनामा ७.८८ प्रतिशतले घटेर प्रतिकित्ता ४३ हजार ६ सय ६३ रुपैयाँमा कारोबार बन्द भएको छ।
पछिल्लो समय निरन्तर मूल्य बढेर एउटा उचाई कायम गर्नुमा कम्पनीले अधिकृत पुँजी वृद्धि गर्ने निर्णयलाई लिइएको छ। युनिलिभरले अधिकृत पूँजी ३० करोडबाट बढाएर २ अर्ब १४ करोड रुपैयाँ पुर्याउने विषय बाहिरिएसँगै सेयर मूल्यमा दुई दिन उच्च वृद्धि भएको हो।
नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे कम्पनीको पुँजी वृद्धि प्रक्रियामा अगाडि बढेकाले बोनस प्राप्तिको आशामा युनिलिभरको मूल्य आकासिएको बताउँछन्। ‘युनिलिभर पुँजी वृद्धिमा प्रक्रियामा अगाडि बढेको छ। पुँजी बढाएपछि पक्कै बोनस सेयर पनि दिन्छ,’ रजौरे भन्छन्, ‘पुँजी बृद्धि गर्नुपर्दा हकप्रद सेयर पनि माग गर्ने अवस्थालाई आधार बनाएर मूल्यमा नयाँ उचाई कामय गराइए पनि विस्तारै सुध्रिन्छ।’
युनिलिभरको ९ लाख २० हजार ७०० कित्ता सेयर नेप्सेमा सूचीकृत छ। त्यसमध्ये १० प्रतिसत सेयर मात्रै सर्वसाधारणको स्वामित्वमा छ। युनिलिभर नेपालले सेयर विक्री गरेदेखि नै नगद लाभांस मात्र वितरण दिँदै आएको छ। युनिलिभरले गत वर्षको नाफाबाट चालू वर्ष प्रतिकित्ता १५८० रुपैयाँ नगद लाभांस दिएको थियो। जुन हालसम्मकै उच्च लाभांस हो। युनिलिभर दिने लाभांसकै कारण कम्पनीको मूल्यले नयाँ उचाई कायम गर्ने गर्दछ।
कम्पनीले आर्थिक वर्ष २०६८/६९ मा ६८० रुपैयाँ, २०६९/७० मा ७६० रुपैयाँ, २०७०/७१ मा ८६० रुपैयाँ, २०७१/७२ मा ९९० रुपैयाँ, २०७२/७३ मा १०२० रुपैयाँ, २०७३/७४ मा १२७० रुपैयाँ, २०७४/७५ मा ७०० रुपैयाँ, २०७५/७६ मा ७७० रुपैयाँ, २०७६/७७ मा १०० रुपैयाँ, २०७७/७८ मा ६५० रुपैयाँ, २०७८/७९ मा १२१५ रुपैयाँ र २०७९/८० को नाफाबाट १५८० रुपैयाँ नगद लाभांश दिएको छ।
युनिलिभर सेयर बजारमा सबैभन्दा बढी मूल्यमा कारोबार भइरहेको कम्पनी पनि हो। कम्पनीले पुँजी बढाएर व्यवसाय विस्तार गर्ने घोषणा गरेपछि मूल्य विस्तारै बढ्दै गएको छ। लगानीकर्ता देव दुरागाईं युनिलिभरले अधिकृत पुँजी वृद्धि गरेकाले बोनस सेयर पाउने आशामा लगानीकर्ता आकर्षित भएको बताउँछन्। ‘अधिकृत पुँजी चुक्ता पुँजी वृद्धि गर्नका लागि पनि गरिन्छ। अधिकृत पुँजी वृद्धि गरेसँगै बोनस वितरण गर्ने आशा लगानीकर्तामा देखिन्छ,’ दुरागाईं भन्छन्, ‘त्यसैले यस कम्पनीको सेयर मूल्य उचालिएको हो। तर, अब यो भन्दा धेरै माथि जाने सम्भावना भने कम छ।’
चालू आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार युनिलिभरले ४८ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ जुन गत वर्षको ३७ करोड २६ लाखको तुलनामा ३० दशमलव ४६ प्रतिशतले बढी हो। कम्पनीले खर्च नियन्त्रण गर्दै उल्लेख्य रुपमा नाफा वृद्धि गरेको गत वर्ष चैतसम्म १ अर्ब ५४ करोड कुल खर्च गरेको कम्पनी चालू वर्ष चैतसम्म १ अर्ब ४५ करोड रुपैयाँ मात्र खर्च गरेको छ। त्यस्तै गत वर्ष ९ महिनामा २ अर्ब २ करोड रुपैयाँ कुल आम्दानी गरेकोमा चालू ९ महिनामा २ अर्ब ६ करोड रुपैयाँ आम्दानी गरेको छ। चैतसम्मको विवरणअनुसार कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २ हजार २ सय २ रुपैयाँ, प्रतिसेयर सम्पत्तिको मूल्य (नेटवर्थ) ३ हजार १ सय ६२ रुपैयाँ र सञ्चित कोष (रिटेन्ड अर्निङ) मा ४ अर्ब २६ करोड रुपैयाँ छ।
युनिलिभर ४ सय ब्राण्डका सामानहरु उत्पादन गर्दै आएको छ। मकवानपुरको हेटौंडामा मुख्य कार्यालय रहेको युनिलिभरको सनसिल्क, डोभ, क्लिनिक प्लस, क्लियर ब्राण्डका सैम्पूदेखी लक्स, लिरिल र लाइफब्वाय ब्राण्डको साबुन तथा पेप्सोडेन्ट र क्लोजअप ब्राण्डको दन्तमञ्जन नेपालमा चर्चित छन्।
ह्विल, रिण, भिम, डोमेक्स, सर्फ एक्सल ब्राण्डका कपडा धुने सर्फ चर्चित छन् भने फेयर एण्ड लब्ली, भेसलिन, पोण्ड, एभियन्स ब्राण्डका क्रिमको बजार राम्रो छ। त्यसबाहेक विभिन्न प्रकारका सुगन्धित तेल र स्प्रे पनि उत्पादन गर्दछ। युनिलिभरका प्याकेजिङ खाद्यान्न तथा पेय पदार्थ, मोर्डन कुकिज, कफी, ताज महल र ताजा चिया, किसान ससेज, लिप्टन जुसको पनि बजार विस्तार गरिरहेको छ।