काठमाडौं । चालू आर्थिक वर्ष (२०८०/८१) को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले हौसिएको सेयर बजार आगामी आर्थिक वर्ष (२०८१/८२) को बजेटपछि भने संकुचित भएको छ। जेठ ४ गते भएको मौद्रिक नीति समिक्षापछिको ४ कारोबार दिनमा सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११२.७१ अंकले बढेर (जेठ ९ गते) २०८० माघ ७ यताकै माथिल्लो बिन्दु २१३१.४९ पुग्यो। माघ ७ मा नेप्से २१३०.१८ विन्दुमा थियो।
जेठ १३ गते २२.१४ अंकले घटेको नेप्से जेठ १४ गते फेरी ३.८९ अंकले बढेर २११३.२४ मा रोकियो। तर, जेठ १५ मा बजेट सार्वजनिक भएपछिका दुई कारोबार दिनमा ४३.७ अंकले घटेर नेप्से २०६९.५३ मा रोकिएको छ। बजेटमा लगानीकर्ताको अपेक्षा नसमेटिएपछि लगानीकर्ताले असहमति जनाएको देखिन्छ।
बजेटपछि दुई दिनको कारोबारलाई हेर्दा नेप्से मौद्रिक समीक्षा अघिको अवस्थामा पुग्ने हो कि भन्ने आशंकाहरु पनि थपिएका छन्। तर, कतिपय लगानीकर्ताहरु भने लगानीकर्ताले साँच्चिकै बजेटप्रति असतुष्टि जनाएको भए बजार सूचक मौद्रिक नीतिको तेस्रो समिक्षाअघिको अवस्थामा फर्किने र नाफा बुक मात्र गरेको भए छिट्टै २१५० विन्दु पार गरेर २२०० को यात्रामा लम्किने दावी गर्छन्।
बजेट अगाडि लगातार १ सय अंक माथिको वृद्धि भएकाले दुई दिनको करेक्सनसँगै बजारले सकरात्मक लय समाउने सम्भावना दर्साउँछन्, नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे। ‘लगानीकर्ताको अपेक्षाअनुसारको बजेट आएको भए परिस्थिति अर्कै हुन्थ्यो। बजेटले सेयर बजारका लागि राम्रो र नराम्रो दुबै गरेन,’ रजौरे भन्छन्, ‘बजेट अघि भएको सय अंक बढीको वृद्धिमा भएको नाफा बुक गर्दा बजेटपछि विक्री चाप देखिएको र दुई दिन गिरावटसँगै बजार सूचक सकारात्मक हुने सभावना छ।’
सेयर धितो कर्जामा लगाइएको सिमाले ठुला लगानीकर्ता सेयर बजार प्रवेश गर्ने वातावरण बनिनसकेको भन्दै रजौरे भन्छन्, ‘सामान्यता ३२ देखि ३३ महिनामा बजारले ‘ट्रनओभर’ गरेको विगत छ। तर, अहिले ३५ महिना भइसक्दा पनि टर्नओभर नफर्किनु चिन्ताको विषय हो।’
अर्थमन्त्री वर्षमान पुनले फागुन २३ गते अर्थ मन्त्रालय सम्हालिरहँदा प्रत्यक्ष/अप्रत्यक्ष करिब ६० लाख लगानीकर्ता जोडिएको सेयर बजार सुधार गर्ने बचन मात्रै दिएका थिएनन्, नियामकहरुबाट सुझावसमेत लिएका थिए। तर, बजेटमा लगानीकर्तालाई उत्साहित बनाउने कुनै विषय नपरेपछि लगातार २ दिन गिरावट आयो। बजेट अघि ८ वटा पुँजी बजारका संगठनले अल्पकालिन लगानीको प्रतिफलमा ५ प्रतिशत र दीर्घकालिन लगानीको प्रतिफलमा ३ प्रतिशत पूँजीगत लाभकर लगाउन र सोही करलाई अन्तिम कर बनाउन माग गरेपनि अर्थमन्त्री पुनले वेवास्ता गरे।
यद्यपि बजेटमा लगानीकर्ताको हित संरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत क्षमता सुधारसँगै नेप्से र सिडिएस एन्ड क्लियरिङको संस्थागत पुनर्संरचना गरिने, निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीले प्राथमिक निस्काशन (आइपिओ) जारी गरिनेजस्ता विषय बजेटमा समेटिएका छन्।
लगानीकर्ता देव गुरागाईं मौद्रिक नीति समीक्षाले बढाएको लगानीकर्ताको मनोबल आगामी बजेट गिराउने काम गरेकाले नेप्सेमा अझै नकारात्मक प्रभाव देखिन सक्ने बताउँछन्। ‘मौद्रिक नीति समिक्षाले अप्रत्यक्षरुपमा भएपनि सेयर बजारका लागि राम्रो गरेको थियो। मौद्रिक समिक्षा सकरात्मक आएका बेला बजेट झनै राम्रो आउने अपेक्षा लगानीकर्तामा थियो,’ गुरागाईं भन्छन्, ‘तर, बजेट लगानीकर्ताको आशाअनुरुप नआएकाले बजारमा कति समय कस्तो असर देखिन्छ भन्न सकिने अवस्था छैन।’
उता, नेपाल उद्योग तथा व्यवसायी महासंघले पुँजी बजार विकासमा वाधक मानिएको अस्पष्ट कर नीतिलाई स्पष्ट बनाउने र सम्पत्ति धितो राखी कर्जा लिन पाउने व्यवथाको प्रत्याभूति बजेटले गराउन नसक्दा लगानीकर्ताको मनोबल खस्किएको र त्यसको असर नेप्से सूचकमा परेको प्रस विज्ञप्तिमार्फत दावी गरेको छ।
नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे करिब ५० अंकको सुधार आएकाले अबको बजारले सकारात्मक लय समाउने बताउँछन्। ‘बजार संधै माथि मात्रै जाँदैन। पछिल्लो दुई दिनको गिरावटलाई सानो सुधार मान्ने हो भने अब बजार सूचक केही माथि जाने आँकलन गर्न सकिन्छ’ अध्यक्ष पाण्डे भन्छन्।