काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी ओलीले सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरीकनै बजेट ल्याएको गुनासो गरेका छन्। वर्तमान सत्ता गठबन्धनको मुख्य घटक एमाले अध्यक्ष ओलीले सत्तारुढ दलसँग परामर्शबिनै सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याइएको दाबी गरेका हुन्।
शनिबार संसद् भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेट नेकपा माओवादी केन्द्रपतिर ढल्किएको उनको भनाइ छ। बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको भन्दै उनले बजेट निर्माण प्रक्रियामै सरकारले कमी–कमजोरी गरेको औंल्याए।
‘हामीले जानुपर्ने कतो हो? सैद्धान्तिक रुपमा बजेटले कस्तो दिशा समातेको छ? यी विषयमा केन्द्रित भएर छलफल गर्नेछौं। बजेटका सन्दर्भमा कुन–कुन मन्त्रालयमा कस्तो विनियोजन भयो र त्यसमा कुन–कुन कार्यक्रम समेटिए, कुन नयाँ थपिए, पुरानालाई निरन्तरता दिइयो वा दिइएन, कुन कटौती गरिए? यी सबै विषय एमालेले हेर्छ,’ ओलीले भने
उनले बजेट अर्थमन्त्रीको पार्टीको मात्रै भएको बताए। अध्यक्ष ओलीले भने, ‘यो बजेट ल्याउँदा सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर आएको भए धेरै राम्रो हुन्थ्यो। छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो भन्ने अन्योल देखिएको छ।’
एमालेले समाजवाद निर्माणको बाटो लिएकाले त्यसका लागि आधार तयार गर्ने, समाजवादउन्मुख बजेट, नीति, कार्यक्रम, योजना हुनुपर्नेमा अन्योलग्रस्त देखिएको अध्यक्ष ओलीले दाबी गरे।