काठमाडौं। सांग्रिला विकास बैंकले विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा ‘इन्धन बचाऔं, वातावरण जोगाऔं’ नारासहित साइकल र्याली आयोजना गरेको छ। डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, बिवाइडी, एफवान सफ्ट, फोनपे तथा अन्य ३५ बढी संघ–संस्थासँगको सहकार्यमा साइकल र्याली सम्पन्न भएको बैंकले जनाएको छ।
बैंक सञ्चालक लिसा शेरचनले सहभागीलाई वातावरण संरक्षणको दायित्व विषयबारे जानकारी दिएलगत्तै साइकल र्याली सुरुआत गरिएको थियो। शनिबार बिहान ७ः४५ मा सानो गौचरन मैदानबाट सुरु भएको र्याली नागपोखरी, नारायणहिटी, दरबारमार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रंगशाला, थापाथली, माइतीघर, बिजुलीबजार पुल करिडोर बाटो हुँदै सेतो पुल, पुरानो बानेश्वर, गौशाला, रातो पुल, जर्मन एम्बेसी हुँदै १० किमि यात्राको दूरी पार गरेर सानो गौचरनमै समापन भएको थियो।
साइकल र्यालीमा बैंक सञ्चालक, कर्मचारी, ग्राहक, सेयरधनी, प्रवर्द्धक, प्रायोजकलगायतले सहभागिता जनाएका थिए। २०७९ मा १५० सहभागीबाट सुरु साइकल र्याली तेस्रो संस्करणसम्म आइपुग्दा १५०० बढीको सहभागितासहित सम्पन्न भएको बैंकले जनाएको छ।
बैंकले साइकल र्यालीमा वातावरण संरक्षणप्रतिको दायित्व आत्मसात् गर्दै इन्धनको मितव्ययीता एवं वैकल्पिक यातायातको साधन साइकल प्रयोग गरी प्रदूषण नियन्त्रणका लागि समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ।
साइकल र्यालीमा सहभागी सबैलाई टिसर्ट बाँडिनुका साथै विभिन्न संस्थाबाट उपलब्ध उपहार उपलब्ध गराइएको थियो। साइकल र्यालीमा सहभागी भाग्यशाली भक्तपुरकी रविन रचालिकालाई लक्की ड्रबाट उपहारस्वरूप एउटा साइकल वितरण गरिएको बैंकले जनाएको छ।
साइलक र्यालीकै दिन पारेर बैंकले ग्रिन सेभिङ प्रडक्ट सुरु गरेको छ। यस किसिमको प्रोडक्टमा जति खाता खोलिन्छ, सोही संख्यामा बैंकले वृक्षारोपण गर्ने विशेषता रहेको प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए।