काठमाडौं। महालक्ष्मी विकास बैंकले ३०औं वर्ष प्रवेश अवसरमा तेस्रो संस्करणको ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४’ गर्ने भएको छ। जेठ २२ देखि जेठ २४ सम्म ललितपुरको इमाडोलस्थित बलपार्क स्पोर्टस् इभेन्ट्स एन्ड एकेडेमीमा सञ्चालन हुने क्रिकेट खेलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको सहभागिता रहनेछ।
कुल ३१ खेल र १६० खेलाडी रहने लिगमा ७ वाणिज्य बैंक, ८ विकास बैंक तथा १ वित्त कम्पनीको सहभागिता रहने बैंकले जनाएको छ।
शुक्रबार आयोजित पूर्वप्रतियोगिता भेटघाट तथा टाई सिट कार्यक्रममा बैंकका कम्पनी सचिव तथा विभागीय प्रमुखले विजेता ट्रफी र जर्सी सार्वजनिक गरेका थिए। कार्यक्रममा टिम कप्तानलाई जर्सी वितरण गरिएको थियो।
३१ खेल लिग कम नक आउटका आधारमा खेलाइनेछ। सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिनेछ, जसमा उत्कृष्ट हुने दुई समूह क्वाटर्रफाइनल प्रवेश गर्नेछन्।
१० ओभर प्रतिइनिंग्सको प्रतियोगितामा प्राइम कमर्सियल, कुमारी, एभरेष्ट, माछापुच्छ्रे, एनएमबी बैंक, एनआईसी एसिया, नबिल बैंकको सहभागिता हुनेछ।
यस्तै, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, आईसीएफसी फाइनान्सले सहभागिता जनाउने बैंकले बताएको छ।
प्रतियोगिता विजेता, उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डरलगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरिनेछ।
प्रतियोगिताको सम्पूर्ण खेलको प्रसारण बैंकको आधिकारिक सामाजिक सञ्जाल(फेसबुक÷युटयुब च्यानल)मार्फत गरिने विज्ञप्तिमा उल्लेख छ।