काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को बजेटमा स्टीलजन्य बस्तुमा बढाएको करको दर उल्टाउन अर्थमन्त्री वर्षमान पुनले अटेर गरेपछि उद्योगी व्यवसायी अहिले राजनीतिक दलका नेताहरूको घरदैलो धाउन थालेका छन्। २.५ प्रतिशत भन्सार महसुल बढाएर सरकारले स्टील उद्योगलाई थप समस्यामा पारेभन्दै उनीहरू राजनीतिक दलका नेतालाई गुहार्न पुगेका हुन्।
बजेटमार्फत गरेको करको फेरबदलले १८ उद्योगको ३६ अर्ब लगानी जोखिममा मात्र नभई हजारौंको रोजगारी गुम्ने भन्दै तत्काल करको दर संशोधन गर्न दवाव दिन उनीहरूले दलका नेताहरू गुहारिरहेका हुन्।
बिहीबार बिहान सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमै पुगेर स्टील उद्योगीले आफ्नो मर्का सुनाएका थिए। अहिलेको अवस्थामा स्टीलमा बढाएको कर समय सान्दर्भिक नभएको भन्दै संशोधनका लागि पहल गरिदिन अध्यक्ष ओली सामू अनुरोध गरेका थिए।
नेपाल उद्योग वाणिज्य महासंघअन्तरगत उद्योग समितिका सभापति एवं श्री स्टीलका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले करको दरको बारेमा दलका नेताहरुलाई बुझाउन घरदैलो गरेको बताए। ‘हामी अहिले जटिल समस्यामा छौं,’ प्रबन्ध निर्देशक अग्रवालले भने, ‘दलका नेताहरूलाई समस्याको बारेमा ब्रिफिङ गरेर त्यसबाट हुने फाइदा र बेफाइदाको बारेमा समेत जानकारी दिएका हौं।’
व्यवसायीहरुको भेटमा अध्यक्ष ओलीले बढेको करको दरका विषयमा अर्थमन्त्री पुनसँग सल्लाह गर्ने आश्वासन दिएका थिए। सत्ता साझेदार दल भएकोले व्यवसायीले एमाले अध्यक्ष ओलीलाई भेटेका थिए।
बजेट लगत्तै पत्रकार सम्मेलन गरी आफ्नो असन्तुष्ट पोखेका स्टील उद्योगीहरुले बिहीबार नै अर्थमन्त्री पुनलाई भेटेर समस्याको समधानका लागि अनुरोध गरेका थिए। व्यवसायीहरुको भेटमा अर्थमन्त्री पुनले कसैको मुख हेरेर नभई संसदीय समिति, आन्तरिक राजश्व विभागले गरेको अध्यनको रिपोर्ट, विगतदेखि नै व्यवसायीले राख्दै आएका माग तथा राजनीतिक तहको सुझावसमेतलाई मध्यनजर गरी तथ्य परक रुपमा करका दरमा परिवर्तन गरिएको प्रष्टीकरण दिएका थिए।
मन्त्री पुनले निर्णयमा अडिग रहे पनि व्यवसायीका जायज माग र गुनासा सुन्न तत्पर रहेको बताए। उनले संवाद गर्नुको अर्थ मन्त्रालय निर्णयबाट पछि हट्न खोजेको वा घोषणा गरिसकिएकाले अब पछि हट्नै सकिँदैन भन्ने रुपमा बुझ्न पनि नहुने स्पष्ट गरे। उनले करका दर हेरफेरको विषयलाई लिएर धेरै विवादको विषय बनाउन जरुरी नरहेको भन्दै तथ्यका आधारमा छलफल गरी निस्कर्षमा पुग्न व्यवसायीलाई आग्रह गरे।
अर्थमन्त्री पुनले आफ्नो निर्णयबाट पछि नहट्ने मनस्थिती बुझेका व्यवसायीहरु राजनीतिक दलका नेताहरु भेटलाई तिब्रता दिन थालेका छन्। २ वर्षअघि सरकारकै निर्णयको आधारमा अर्बौ रुपैयाँ लगानी गरेर औधोगिकरणमा उद्धत भइरहेको बेला एक्कासी आएको करको दरको परिवर्तनले सन्नटा छाएको भन्दै परिर्वतन गर्न तथ्यका साथ नेताहरुलाई भेट्न लागिरहेका छन्।
प्रधानमन्त्री भेट्दै व्यवसायी
एमाले अध्यक्ष र अर्थमन्त्रीसँगको भेटपछि व्यवसायीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई भेट्ने तयारी गरिरहेका छन्। शुक्रबारका लागि प्रधानमन्त्रीसँगको भेटका लागि समय मागेका थिए। तर, प्रधानमन्त्री दाहाल दलको बैंठक सहित अन्य कार्यक्रममा व्यस्त भएपछि शुक्रबार भेट हुन सकेन।
एक व्यवसायीका अनुसार शनिवारसम्म प्रधानमन्त्रीलाई भेट्ने र त्यसपछि प्रमुख प्रतिपक्ष दलका नेताहरुलाई समेट भेटेर आफ्नो समस्याको बारेमा जानकारी गराएर करको दर संशोधन गर्न दबाब दिने व्यवसायीहरूको तयारी छ।