काठमाडाैं। नेपाली सडकमा विद्युतीय (ईभी) गाडी गुड्ने क्रम बढ्दो छ। केही वर्ष अगाडिसम्म डिजेल÷पेट्रोल गाडी मात्रै देखिने सडकमा अहिले विद्युतीय गाडीले आफ्नो प्रभाव बढाउँदै लगेको छ। नयाँ गाडी किन्ने तयारी गरिरहेका अधिकांश ग्राहकको रोजाइमा ईभी पर्ने गरेको छ।
तुलनात्मक रुपमा सानो बजार रहेको नेपालमा बिवाइडी, सिट्रोन, चेरी, नेक्सन, स्काईवेल, एमजीजस्ता विद्युतीय अटो ब्रान्डले छोटो समयमै आफ्नो बलियो उपस्थिति देखाइसकेका छन्। नेपाल सरकारले पनि आईसीई इन्जिन (डिजेल/पेट्रोल) गाडी आयातले व्यापार घाटाको खाडल बढाएको भन्दै विद्युतीय सवारीसाधनमा केही कम कर लिने नीति लिँदै आएको छ। यद्यपि पछिल्ला हरेक वर्षमा ईभीको कर (भन्सार तथा अन्तःशुल्क) बढाउने काम भइरहेको छ।
तर, कर बढिरहँदा पनि अहिले पनि आईसीई इन्जिनका गाडीभन्दा ईभी नै सस्तो र किफायती मानिँदै आएको छ। त्यसैको परिणाम चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनामै ८ हजार ४९७ युनिट ईभी भित्रिएका छन्। गत वर्ष २०७९/८० मा ४ हजार ५० र २०७८/७९ मा १ हजार ८०७ ईभी भित्रिएका थिए।
विगतमा नेपालमा गाडी एसेम्बल प्रक्रियामा भएको असफलताले हुन्डाईको नयाँ प्रयोगलाई निःसन्देह सफल काम भन्न सक्ने अवस्था छैन। यद्यपि हुन्डाईले विस्तारै ईभीको पनि एसेम्बल गर्दै जाने भनेकाले आशा गर्ने ठाउँ भने राखेको छ।
ईभीको आक्रामक बजार विस्तार भइरहेका बेला अटो ब्रान्ड हुन्डाईले भने नेपालमा डिजेलबाट चल्ने गाडीको एसेम्बल प्लान्ट स्थापना गरेको छ। झट्ट हेर्दा यो उल्टो बाटोजस्तो पनि लाग्छ। त्यसमाथि सानो मुलुक, थोरै जनसंख्या, नेपालमा विविध ब्रान्डका सवारीसाधनको खपत भइरहेका बेला एउटा ब्रान्डको एउटा ‘सेगमेन्ट’ मात्र तयार गर्दा त्यसले कति व्यावसायिक सफलता हात पार्ला, प्रश्न उब्जेको छ।
अझ दुई ठूला र विश्वकै धेरै जनसंख्या भएका छिमेकी भारत र चीनमा भइरहेको गाडी उत्पादन, एसेम्बल र बजारीकरण प्रभावले नेपालबाट उत्पादित सवारीसाधन ती मुलुकमा जाने कुनै सम्भावना छैन। यस्तो बेला कम्पनी टिक्न कति सजिलो होला, त्यो भने भविष्यले देखाउनेछ।
आयातीत सवारीसाधनसँग मूल्य र गुणस्तरमा गरिने प्रतिस्पर्धा त छँदै छ। तर, विगतमा नेपालमा गाडी एसेम्बल प्रक्रियामा भएको असफलताले हुन्डाईको नयाँ प्रयोगलाई निःसन्देह सफल काम भन्न सक्ने अवस्था छैन। यद्यपि हुन्डाईले विस्तारै ईभीको पनि एसेम्बल गर्दै जाने भनेकाले आशा गर्ने ठाउँ भने राखेको छ।
हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी मोटरले नवलवरासीको रामग्राममा ५ अर्ब १० करोड रुपैयाँ लगानी गरेर १० बिघा क्षेत्रफलमा एसेम्बल प्लान्ट राखेर पहिलो चरणमा ‘भेन्यू’ एसेम्बल थालेको छ।
लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठले पहिलो चरणमा आईसीई इन्जिन गाडी एसेम्बल गरे पनि बजार मागअनुसार ईभी उत्पादन गर्ने बताए। ‘अहिले सञ्चालनमा रहेको प्लान्टबाट इन्धन र विद्युतीय दुवै गाडी उत्पादन गर्न सकिन्छ,’ कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘माग उच्च हुँदै गए केही वर्षमै विद्युतीय गाडी उत्पादन थाल्छौं। संरचना पूर्ण तयार छ, केही प्रविधि मात्र थपे पुग्छ।’
लक्ष्मी ग्रुपले बिक्री गर्दै आएको आईसीई इन्जिनमा प्रख्याति कमाएको क्रेटा सन् २०२५ भित्र ईभीका रुपमा विश्व बजारमा फैलिँदै छ। ‘क्रेटा ईभीको माग देखिए नेपालमै उत्पादन गर्न सकिने कार्यकारी निर्देशक श्रेष्ठले बताए।
लक्ष्मी ग्रुपका प्रबन्ध निर्देशक दीपक थपलियाका अनुसार कम कर भएका कारण मुलुकभर ईभीको आकर्षण बढेको हो। ‘सरकार सधैं कम कर लगाएर सहुलियत दिन सक्दैन। त्यस्तो अवस्थामा ईभी क्रेज घट्न पनि सक्छ’, थपलियाले भने, ‘नेपाल भित्रिएका ईभीको मूल्य तुलनात्मक रुपमा महँगो छ। अझ कर बढ्दै जाँदा मूल्य झनै महँगिनेछ। ईभीकै कारण डिजेल/पेट्रोल गाडीको प्रयोगमा कमी आउने छैन।’
नेपाली बजारमा हुन्डाईले एम्बुलेन्ससहित १२ मोडलका सवारीसाधन बिक्री गर्दै आएको छ। यीमध्ये कोना र आयोनिक फाइभ ईभी हुन्डाईकै भेन्यू पनि अहिले विभिन्न पाँच भेरियन्टमा उपलब्ध छ। हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी मोटरले नवलवरासीको रामग्राममा ५ अर्ब १० करोड रुपैयाँ लगानी गरेर १० बिघा क्षेत्रफलमा एसेम्बल प्लान्ट राखेर पहिलो चरणमा ‘भेन्यू’ एसेम्बल थालेको छ।
लक्ष्मी हुन्डाईको प्लान्टमा ईभी पनि एसेम्बल गर्न मिल्ने भएकाले यसलाई ठूलो विषयको रुपमा नलिएको उनको भनाइ छ। नेपाली बजार अध्ययन गरेर प्लान्ट स्थापनाको निर्णयमा पुगिएको बताउँदै थपलियाले भने, ‘बजार सानो छ भनेर बसे हामी कहीँ पुग्दैनौं। एसेम्बल प्लान्टका कारण थप २००–३०० नेपालीले स्वदेशमै रोजगारी पाउने अवस्था बनेको र नयाँ प्रविधि विकासमा सहयोग पुगेको छ।’
प्लान्ट राख्ने निर्णय २०७६ मै भए पनि कोरोना महामारी र आर्थिक मन्दीका कारण एसेम्बल प्लान्ट सञ्चालनमा ढिला भएको हो। सरकारले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्ने नीति बनाएपछि लक्ष्मीले गाडी एसेम्बल गर्न थालेको हो। नेपाली बजारमा हुन्डाईले एम्बुलेन्ससहित १२ मोडलका सवारीसाधन बिक्री गर्दै आएको छ। यीमध्ये कोना र आयोनिक फाइभ ईभी हुन्डाईकै भेन्यू पनि अहिले विभिन्न पाँच भेरियन्टमा उपलब्ध छ।
मुस्ताङ म्याक्सले झस्काउने एसेम्बल प्लान्ट
२०७० अघिसम्म हुलास ग्रुपले नेपालमै गाडी ‘एसेम्बल’ गथ्र्याे। त्यसैमध्येको एक थियो, ‘मुस्ताङ म्याक्स’। हुलासले डेढ महिना लगाएर बनाएको मुस्ताङ म्याक्सले निकै चर्चा पनि बटुल्यो।
२०६८ भदौमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएसँगै मुस्ताङ म्याक्सले चर्चा पाएको हो। भट्टराई प्रधानमन्त्री भएकै बेला मुस्ताङ म्याक्स चढेर चर्चामा आएका थिए। तर, मुस्ताङ म्याक्सले धेरै समय आफूलाई बजारमा टिकाउन सकेन र बजारबाटै हरायो।
हुन्डाईले नेपालमा एसेम्बल प्लान्टर राखेर गाडी उत्पादन थालेसँगै ‘मुस्ताङ म्याक्स’को चर्चा सुरु भएको छ। कतिपयले मुस्ताङ म्याक्सलाई अघि सारेर नेपालमा एसेम्बल प्लान्ट सफल नहुने पनि भनिरहेका छन्। तर, एसेम्बल प्लान्ट राख्नेले मुस्ताङ म्याक्सको असफलताबाट पाठ सिके लाभ हुन सक्छ।
हुलास मोटर्सले २०५४ देखि उत्पादन गर्दै आएको मुस्ताङ ब्रान्डका गाडी वातावरणीय प्रदूषणका दृष्टिले यूरो–१ मापदण्डका थिए। २०५६ देखि यूरो–१ मापदण्ड लागू गरेको नेपालले २०६९ मा एकैपटक ‘यूरो थ्री’ मा जाने निर्णय गर्यो। अन्तर्राष्ट्रिय बजारमा युरो थ्रीका गाडीको दबदबा रहेका बेला नेपालले पनि वातावरणमैत्री सवारीसाधनको परिकल्पना गरेर लिएको नयाँ नीतिको सोझो असर हुलास मोर्टसलाई पर्यो र हुलासको एसेम्बल प्लान्ट बन्द भयो।
आगामी समय अटो बजार कस्तो बन्छ, मुलुकका नीति–नियम कसरी बन्छन्, कस्तो बाटो अवलम्बन गर्छन् भन्ने आकलन गर्न चुके मुस्ताङ म्याक्सकै परिणति भोग्नुपर्ने अवस्था पनि आउन सक्छ। हुन्डाईले बजार माग, प्रतिस्पर्धी मूल्य, नयाँ नयाँ फिचर र ग्राहकलाई आकर्षित गर्ने माहोल सिर्जना गरे भरपूर अवसरको प्रयोग गर्न सक्छ। अन्यथा मुस्ताङ म्याक्सकै बाटोमा नजाला भन्न सकिन्न।