क्यापिटल नेपालको मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट सार्वजनिक नयोजन गरेको छ। जेठ १५ मा अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्का दुवै सदनमा प्रस्तुत बजेटमध्ये चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड अर्थात् १९.७४ प्रतिशत रहेको छ।
महालेखा परीक्षक कार्यालयको ६१औं वार्षिक प्रतिवेदनमा कानुनविपरीत राज्य कोषबाट खर्च भएको बेरुजु रकम ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ पुगेको उल्लेख छ। जेठ १३ मा सार्वजनिक प्रतिवेदनमा गत वर्षभन्दा यो रकम सवा २ खर्ब रुपैयाँले बढी हो। गत वर्ष बेरुजु रकम ९ खर्ब ५९ अर्ब ७९ करोड थियो।
बजेट पारदर्शिता मापन गर्ने विश्वव्यापी खुला बजेट सर्वेक्षण प्रतिवेदन २०२३ मा नेपालको बजेट पारदर्शिता अंक ५० देखिएको छ। सर्वेक्षण गरिएका १२५ देशमध्ये नेपाल बजेट पारदर्शितामा ५८औं स्थानमा रहेको जेठ १७ मा प्रकाशित अन्तर्राष्ट्रिय बजेट साझेदारी (आईबीपी) ले मे २९ मा जारी गरेको प्रतिवेदनमा जनाइएको हो। नेपालले खुला बजेट सर्वेक्षणका मुख्य तीन खम्बामध्ये बजेट पारदर्शिताको अवस्थामा सयमा ५० अंक पाए पनि बजेटको निगरानीमा ४६ अंक र बजेट प्रक्रियामा जनसहभागिताको अवस्थामा ३१ अंक मात्रै प्राप्त गरेको छ। यसअघि सन् २०२१ मा जारी भएको प्रतिवेदनमा नेपाल ७७औं स्थानमा थियो। सर्वेक्षणको सातौं संस्करणमा नेपाल ६५औं स्थानमा थियो।
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। जेठ १८ मा प्रतितोला १७ सयले बढ्दै सुन मूल्यले नयाँ रेकर्ड कायम गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा किनबेच भएको हो। सरकारको आगामी आर्थिक वर्षको बजेटमार्फत सुनमा थप ५ प्रतिशत भन्सार शुल्क बढाएपछि नेपाली बजारमा सुन मूल्यले हालसम्मकै रेकर्ड बे्रेक गरको हो। शुक्रबार तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार ७ सयले बढेर १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। महासंघका अनुसार सोमबार प्रतितोला ३ सयले बढेको सुनको मूल्य मंगलबार ४ सय, बुधबार ६ सय र बिहीबार २३ सय रुपैयाँले बढेको थियो। योसँगै पछिल्ला पाँच दिनमा नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५३ सयले महँगिएको छ।
एमाले सांसद सूर्य थापाको नेतृत्वमा सहकारी संस्थाको बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति गठन भएको छ। प्रतिनिधिसभाको जेठ १५ को बैठकले सांसद थापाको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेको हो। समितिमा एमालेबाट सरिता भुसाल, नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, नेकपा माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्। समितिको कार्यकाल तीन महिनाको हुनेछ। प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राख्दै संसद् अवरुद्ध गर्दै आएकोमा सत्तारुढ र प्रतिपक्षी दलबीच सहमतिसँगै संसद् सुचारु भएको छ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे पुनः नियुक्त भएका छन्। पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले जेठ १६ मा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेता पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। यसअघि उनी २०८० वैशाख १४ मा मुख्यमन्त्री नियुक्त भएका थिए। जेठ १४ मा सर्वोच्च अदातलतले नेकपा एमाले प्रदेशसभा संसदीय दलका खगराज अधिकारीले मुख्यमन्त्रीमा पाएको विश्वासको मत अवैधानिक भएको ठहर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७ सांसद छन् भने बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ।
यो साता सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६१.९६ अंकले घटेको छ। साताको चार कारोबार दिनमा उतारचढाव भइरहँदा नेप्से ६१.९६ अंकले घटेर कारोबारको अन्तिम दिन बिहीबार २०६९.५३ को बिन्दुमा रोकिएको हो। अर्थमन्त्री वर्षमान पुनले जेठ १५ मा आगामी आवको बजेट सार्वजनिक गरेपछि उक्लिने आकलन गरिएको सेयर बजार निरन्तर ओरालो लागेको हो। गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २१३१.४९ को बिन्दुमा सीमित भएको थियो। यो साताको चार कारोबार दिनमा नेप्सेमा कुल १६ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। गत साता चार कारोबार दिनमा कुल २१ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा सिरोहियालाई जेठ १६ मा हाजिर जमानीमा रिहा गरेको हो। उनलाई अदालतबाट तीन पटकमा ९ दिन म्याद थपेर हिरासतमा राखिएको थियो। दोहोरा नागरिकतासम्बन्धी मुद्दामा सिरोहियालाई गत जेठ ८ मा काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाटै प्रहरीले पक्राउ गरेको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी प्रकरणमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय थर्कमान लामालाई प्रक्राउ गरेको छ। ६० किलो बढी सुन तस्करी प्रकरणमा लामा लाजिम्पाटबाट जेठ १८ मा पक्राउ परेका हुन्। राजस्व अनुसन्धान विभागले गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिँदै गरेको ६० किलो बढी सुन बरामद गरेको थियो।
सहकारी रकम अपचलनपछि फरार रहेका पशुपति सेभिङ एन्ड को–अपरेटिभका अध्यक्ष चन्द्रबहादुर तामाङ (सीबी लामा) पक्राउ परेका छन्। सीबीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जेठ १८ मा चितवनबाट पक्राउ गरेको हो। उनीमाथि कान्तिपुरको ६ अर्ब बढी र पशुपतिको २ अर्ब गरी झण्डै ८ अर्ब रकम अपचलनको आरोप छ।
गृहमन्त्री लामिछानेले ट्राफिक निर्णय उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवकको रूपमा खटाउने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। लामिछानेले गत जेठ १५ मा महिला ट्राफिक महिनावारी हुँदा चार दिन बिदा दिने र सवारीसाधन चलाउँदा मापसे गरेको भेटिए स्वयंसेवकका रुपमा सडक व्यवस्थापनमा खटाइने निर्णय फेसबुकमार्फत सार्वजनिक गरेका थिए। लामिछानेले गरेको निर्णय कार्यान्वयनमा गएपछि रवीन्द्र पौडेल, आकाशकुमार भट्ट, प्रमेश पौडेल, उज्जल माली, इमामुल हक र राजु परियारले जेठ १८ मा सर्वोच्चमा रिट दायर गरेका हुन्।
मानव अधिकारको विश्वव्यापी घोषणाको धारा ३ र ५ तथा संविधानको धारा २२ ले यातनाविरुद्धको हक प्रदान गरी सोलाई कसुर भनी परिभाषासमेत गरेको अवस्थामा सामान्य गल्तीमा समेत सडकमा उभ्याई बलपूर्वक सवारी नियमनको काममा लगाउँदा समग्र चालकको हकहितमा गम्भीर असर परेको रिटमा दाबी गरिएको छ। रिटमा लामिछानेको निर्णय बदरसहित अन्तरिम आदेश माग गरिएको छ।