काठमाडौं । राइड सेयरिङमा अग्रणी कम्पनी पठाओ नेपालले आफ्नो 'पठाओ पार्सल' सेवालाई देशभर विस्तार गरेको छ। केही महिनादेखि परीक्षण गरिरहेको यो सेवाबाट अब भने मुलुकभर तीन सयभन्दा बढी ठाउँमा सामान पठाउन सकिनेछ।
व्यवसायीले काठमाडौंबाट जुनसुकै ठाउँमा सामान पठाउनु परेमा पठाओ पार्सलको सेवा लिन सक्ने छन्। कम्पनीका अनुसार काठमाडौं उपत्यकाभित्रका मर्चेन्टले दिउँसो तीन बजेपछि डेलिभरीका लागि एक पटकको पिकअपका लागि २० भन्दा बढी एक/एक केजीका पार्सल दिएमा प्रत्येक पार्सलको डेलिभरीका लागि ७९ रुपैयाँ लाग्छ भने पिकअप निःशुल्क रहेको छ।
'कम्पनीले देशभरका विभिन्न स्थानमा कार्यालय स्थापना सुरू गरिसकेको छ', कम्पनीका प्रवक्ता शशांक शमशेर थापाले भने, 'पछिल्लो पाँच महिनामा पठाओ पार्सलले पाँच सयभन्दा बढी विजनेस र मर्चेन्टलाई डेलिभरी सुविधा दिएको छ।' परीक्षण अवधीमै पठाओले मासिक ५० हजारभन्दा बढी डेलिभरी गर्न सफल भएको उनले बताए।
पठाओ पार्सलमा आबद्ध मर्चेन्टलाई पठाओ कम्पनीले ‘ड्यासबोर्ड’ तालिम दिने र मर्चेन्टले आफ्नो सामान कहाँ पुग्यो भनेर ड्यासबोर्डमार्फत नै निगरानी गर्न सक्ने बताइएको छ।
पठाओ पार्सलबाट डेलिभरी गर्दा काठमाडौं उपत्यकामा २४ घण्टाभित्र सामान डेलिभरी हुनेछ भने उपत्यका बाहिरका मुख्य सहरमा दोस्रो दिन डेलिभरी हुने र बाँकी स्थानमा तीन दिनभित्र डेलिभरी हुने कम्पनीको भनाइ छ। कम्पनीका अनुसार क्यास अफ डेलिभरी जम्मा भएको पैसा मर्चेन्टको खातामा ४८ घण्टाभित्र जम्मा हुनेछ।
नेपालका सबैजसो मुख्य सहरमा आफ्नै हब रहेकाले पठाओ पार्सलसँग देशकै सबैभन्दा ठूलो डेलिभरी सञ्जाल बन्दै गरेको कम्पनीको भनाइ छ।
पठाओले पार्सल डेलिभरीसँगै दुई पाङ्ग्रे र चार पाङ्ग्रेसमा राइड सेयरिङ, पठाओ फूड, पठाओ बजारको सेवा पनि उपलब्ध गराउँदै आएको छ। पठाओले पार्सल सुविधा प्रयोग गर्न चाहनेले ०१-५९७००९९ मा सम्पर्क गर्न सक्नेछन्।