काठमाडौं । चिनी उद्योगीहरुले एक हप्ताभित्र उखु किसानको सम्पूर्ण बाँकी रकम भुक्तानी गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार उद्योग राज्यमन्त्री मोतीलाल दुगडले भुक्तानीको ढिलाइबारे चिनी उद्योगीलाइ मन्त्रालयमा बोलाएर गरेको छलफलमा उनीहरुले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन् ।
बैठकमा चिनी उद्योगीले एक हप्ताको समयमा सम्पूर्ण किसानको भुक्तानी गर्ने प्रतिवद्धता जनाएको मन्त्रालयले स्रोतले जनाएको छ । अहिले ८ ओटा चिनी उद्योगले उखु किसानलाई १ अर्ब ३४ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । किसानहरुले उखुको भुक्तानी नपाएपछि अहिले उनीहरु काठमाडौमा आएर आन्दोलन गरिरहेका छन् ।
तर, उखु किसानहरुले भने बाँकी रकम नपाएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । आन्दोलनरत किसान सीताराम महतोले भने ‘हामीसँग खाने पैसा छैन, पैसा नदिएसम्म रोडमा भोकै सुतेर भए पनि आन्दोलनलाई निरन्तरता दिन्छौ, पैसा नपाएसम्म गाँउ फर्कदैनौ ।’
सवैभन्दा बढि अन्नपूर्ण सुगर मिल किसानलाई ५० करोड रुपैयाँ भुक्तानी दिएको छैन । ५ बर्षदेखि अन्नपूर्ण सुगर मिलले किसान उखुको भुक्तानी नदिएको किसानहरुले बताएका छन् । त्यस्तै, श्रीराम सुगर मिलले पनि तीन बर्षदेखि उखुको भुक्तानी दिएको छैन ।
उक्त मिलले ४२ करोड रुपैयाँ भुक्तानी अड्काइरहेको छ । तर, लुम्बिनी सुगर मिलले भने एक हप्तामा सम्पूर्ण रकम दिन नसकिने भन्दै केहि समय माग गरेको मन्त्रालयले जनाएको छ ।
याे पनि पढ्नुहाेस्
दयाले पाएको चिया र बिस्कुटकै भरमा उखु किसानको आन्दोलन, उनीहरु भन्छन् : मिलवालाले दिएन, पैसा लिन काठमाडौं आएको