काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प व्यावसायिक अभिलेखसहित ३४ वटा मुद्दामा दोषी ठहर भएको अदालतले फैसला गरेको छ। न्यूयोर्कको म्यानहटन ज्यूरी अदालतले ट्रम्पलाई दोषी ठहर गरेको हो।
यससँगै आगामी निर्वाचनमा रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार बनेका ट्रम्पले चुनाव लड्न नपाउने पाउने विषयमा अन्यौल उत्पन्न भएको छ।
अमेरिकाको इतिहासमा ट्रम्प जघन्य आरोप लागेको र आरोप पुष्टि भएको पहिलो पूर्वराष्ट्रपति बनेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन्।
म्यानहटन ज्यूरीले दुई दिनसम्म ९ घन्टाको बहस सुनेपछि ट्रम्पलाई दोषी ठहर गर्दै फैसला सुनाएको बताइएको छ। दोषी ठहर गरिए पनि उनलाई सजाय भने तोकिएको छैन।
अदालतका न्यायाधीश जुआन एम. मर्चनले जुलाई ११ मा ट्रम्पको सजाय तोकिने बताए।
ट्रम्पले सन् २०१६ को राष्ट्रपति निर्वाचनताका पूर्व पोर्नस्टार स्टोर्मी ड्यानियललाई आफूहरूबीचको सम्बन्ध लुकाउन १ लाख ३० हजार डलर पैसा दिएको आरोप थियो।
उनीमाथि राष्ट्रपति हुँदा ह्वाइट हाउसबाट गोप्य कागजातहरू गायभ गरेको,राष्ट्रपति निर्वाचनको परिणाम प्रभावित पार्न खोजेको, संसद भवनमा आक्रमण गरेको लगायत फौजदारी अपराधसँग सम्बन्धित थुप्रै मुद्दाहरूमा फैसला आउन बाँकी नै छ।
बिहीबारको फैसलालाई ट्रम्पले आफूमाथि प्रतिशोध साँधिएको प्रतिक्रिया दिएका छन्। - एजेन्सी