काठमाडौं। मलेसियाले बिहीबारदेखि विदेशी कामदार लिन बन्द गरेको छ। विदेशी कामदारका लागि छुट्याएको कोटाभन्दा बढी श्रमिक आएको र आर्थिक मन्दीको कारण देखाउँदै मलेसिया सरकारले तत्कालका लागि विदेशी श्रमिक लिन बन्द गरेको हो।
यो निर्णयसँगै मुख्य श्रम गन्तव्य रहँदै आएको मलेसिया रोजगारी बन्द हुँदा नेपाली कामदार प्रत्यक्ष रुपमा प्रभावित हुनेछन्।
मलेसिया नेपाली श्रमिकको प्रमुख गन्तव्य रुपमा परिचित छ। मलेसियाको गृह मन्त्रालयले आवश्यक पर्ने आप्रवासी श्रमिकलाई मे ३१ अघि ल्याइसक्न रोजगारदाता कम्पनीलाई समयसीमा तोकिदिएको थियो। यस्तो समयसीमा आज रातीदेखि सकिँदैछ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले मलेसियाका सम्पूर्ण क्षेत्रमा रोजगारी बन्द भएको बताए। ‘न्यूनतम तीन महिनाका लागि रोजगारी बन्द भएको सूचना आएको छ,’ अध्यक्ष भण्डारीले भने, ‘यो अवधि अझै लम्बिन पनि सक्छ।’
मलेसियाले आफूसँग भएको कुल श्रमशक्तिको १५ प्रतिशत मात्रै विदेशी श्रमिक राख्ने नीति लिएको छ। मलेसियामा १ करोड ७० लाख श्रमशक्ति रहेको मानिन्छ। सोहीअनुसार विदेशी श्रमशक्तिको अधिकतम संख्या २५ लाख ५० हजार हो।
पछिल्लो समय मलेसियामा विदेशी श्रमिकहरू भिसा अवधि सकिएपछि पनि लामो समय लुकीछिपी बसेर काम गर्ने क्रम बढेपछि सरकारले कडाइ गरिरहेको छ।
गत फेब्रुअरीसम्म मलेसियामा विदेशी श्रमिकको संख्या २१ लाख ३० हजार ९ सय ३१ जना पुगिसकेको सरकारी तथ्यांक छ ।
जनवरी १७ देखि मार्च २३ सम्म नयाँ आप्रवासी श्रमिक ल्याउन बाँकी ४ लाख १२ हजार ११ जनालाई अनुमति दिइसकेको छ। मलेसियामा सुरक्षा गार्ड, पर्यटन क्षेत्र, फर्निचर, सरसफाइ र साना औद्योगिक उत्पादनलगायतमा गरी झन्डै ५ लाख नेपाली श्रमिक छन्।
पछिल्लो समय मलेसियामा विदेशी श्रमिकहरू भिसा अवधि सकिएपछि पनि लामो समय लुकीछिपी बसेर काम गर्ने क्रम बढेपछि सरकारले कडाइ गरिरहेको छ।
मलेसियामा पनि आर्थिक मन्दीका कारण उद्योग, व्यवसाय पूर्ण रुपमा सञ्चालन हुन नसक्दा पर्याप्त मात्रामा विदेशी कामदारको माग घटेको हो।
रोजगारदाता कम्पनीले विस्तारै श्रमिकको संख्या घटाउँदै गएपछि तत्कालका लागि नेपालसहित विभिन्न मुलुकबाट श्रमिक नलिने निर्णयमा मलेसिया सरकार पुगेको बताइन्छ।
बंगाली श्रमिकसँग रुष्ट, नेपालीसँग खुसी
मलेसियामा सबैभन्दा बढी बंगलादेशी श्रमिक लुकीछिपी बस्ने र त्यही घरजम गर्ने प्रचलन बढ्दो छ। बंगाली श्रमिकले त्यहीँका केटीलाई विवाह गरेर र लुकेर बस्ने र विकृति बढाउँदा सुरक्षा संवेदनशीलतामा आँच पुगेको निष्कर्षमा मलेसिया सरकारको छ।
त्यसैले तत्कालका लागि सबै मुलुकबाट कामदार आउन रोक्ने र बजार सन्तुलन हुन थालेपछि नेपाली कामदारका लागि खुलाउने रणनीति बनाएको व्यवसायीको भनाइ छ।
‘खासगरी मलेसियामा नेपालीलाई सुरक्षा गार्डको रुपमा मन पराइँदै आएको छ। सेप्टेम्बरपछि नेपाली श्रमिक पुन लिन सक्छ’, संघ अध्यक्ष भण्डारीले भने।