काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विराटनगर, भैरहवा र विरगञ्जका औधोगिक क्षेत्रमा चैतदेखि घोषित दैनिक १२ घन्टा लोडसेडिङ गरिरहेको छ। साँझ ६ बजेदेखि विहान ६ बजेसम्म उद्योगमा विद्युत कटौती हुँदै आएको छ भने दिउँसो पनि झ्याप्प-झ्याप्प बिजुली जाने समस्या ज्यूँकात्यूँ छ।
उद्योगीहरूले पर्याप्त बिजुली नपाएको गुनासो गरिरहेको बेला प्राधिकरणले जेठ १४ गते रातिदेखि देशभित्र खपर गरी बचत रहेको बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा बिक्री सुरु भएको घोषणा गरेको छ।
सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत भारतमा निर्यात हुन थालेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन्।
प्राधिकरणले विद्युत भारतमा निर्यात गरेको प्रचार गरिरहँदा स्वदेशी उद्योगले लोडसेडिङको मार खेपिरहेका छन्। प्राधिकरण नेपाली उद्योगलाई कटौती गरेर भारतमा बिजुली बेचेको भनेर चर्चा कमाउन मात्र लागेको उद्योगी शशिकान्त अग्रवाल बताउँछन्।
'हामीलाई उद्योग चलाउन आवश्यक समयमा विद्युत पाउनै गाह्रो छ। अहिले उद्योगले चाहे अनुसार बिजुली पाइरहेका छैनन्, रातीको समयमा उद्योग बन्द गर्नुपरेको छ। प्राधिकरण भारतमा बिजुली बेचेको भनेर चर्चामा सीमित भइरहेको छ, जुन गलत हो,’ उद्योगी अग्रवालले भने।
नेपाल उद्योग वाणिज्य महासंघको कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले स्वदेशी उद्योगलाई मारमा पारेर प्राधिकरणले भारतमा बिजुली बेचेर नौटंकी गरिरहेको बताए।
श्री स्टिलका प्रवन्ध निर्देशक राजेशकुमार अग्रवालले भैरहवा क्षेत्रका उद्योगमा लोडसेडिङ गरेर भारतमा बिजुली बेच्ने प्राधिकरणको निर्णय गलत भएको बताए। ‘हामी बिजुली नभएर उद्योग बन्द गर्नुपर्ने स्थितिमा छौं,’ प्रवन्ध निर्देशक अग्रवालले भने, ‘सीमित चर्चाको लागि प्राधिकरण भारतमा बिजुली बेचेको भनेर हल्ला गरिरहेको छ।’
नेपाल उद्योग वाणिज्य महासंघको कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले स्वदेशी उद्योगलाई मारमा पारेर प्राधिकरणले भारतमा बिजुली बेचेर नौटंकी गरिरहेको बताए। ‘हामी यहाँ दैनिक १२ घन्टा लोडसेडिङ खेपिरहेका छौं,’ अध्यक्ष राउतले भने,‘प्राधिकरणले भारतमा बेच्ने बिजुली हामीनै उपभोग गर्न तयार भए पनि दिँदैन।’
स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने र भारतमा बिक्री गरेर आम्दानी गरेको भन्दै प्राधिकरणले चर्चा कमाउन खोजेपछि उद्योगी व्यवसायीले विरोध जनाइरहेका छन्। प्राधिकरणले भारतमा उद्योगीलाई दिने शुल्कभन्दा सस्तोमा बिजुली बेचिरहेको छ। उद्योगीले भने भारतलाई बेच्न थालेको बिजुली नेपाली उद्योगलाई दिए राहत हुने बताउँदै आएका छन्।
उद्योग वाणिज्य संघ वीरगन्जका अध्यक्ष अनिल अग्रवालले भारतबाटै सोलारको बिजुली ल्याएर उद्योग चलाइरहेको बेला प्राधिकरणले बिजुली बेच्नु हाँस्यास्पद रहेको बताए। ‘हामी उतैको बिजुली ल्याएर उद्योग चलाइरहेका छौं,' अध्यक्ष अग्रवालले भने, 'प्राधिकरण उही समयमा भारतबाट बिजुली बेचिरहेको छ, यो नाटक मात्रै हो।’
उद्योगमा दैनिक १२ घन्टा लोडसेडिङ हुँदा उत्पादन घटेको व्यवसायीले गुनासो गर्दै आएका छन्। उद्योगले उत्पादन घटाएपछि बजारमा सामान कम मात्रामा गइरहेको कारणले महँगी बढिरहेकोले भारतमा पठाउने बिजुली नेपालकै उद्योगलाई दिएर प्राधिकरणले पूर्ण रूपमा सहयोग गर्नुपर्ने व्यवसायीको माग छ।
यो बेला विकास निर्माणको काम हुने सिजन हो। सोही कारण बजारमा निर्माणजन्य वस्तुको माग बढेको छ। सिमेन्ट र रडसहितका निर्माणजन्य वस्तुको माग बढिरहेका बेला उद्योगमा अघोषित लोडसेडिङले काम गर्ने वातावरण नभएको उद्योगीको गुनासो छ। झ्याप्पझ्याप्प बिजुली जाँदा उद्योगका मेसिन बिग्रिने सम्भावना धेरै हुने भएकाले त्रासमै उद्योग चलाउनुपर्ने बाध्यता रहेको उनीहरूको तर्क छ।
प्राधिकरणका सूचना अधिकारी सर्वजीतकुमार चौधरीले भारतमा बिजुली निर्यातको निर्णय माथिल्लो स्तरबाट हुने हुँदा नेपाली उद्योगलाई नदिइएको विषयमा थाहा नभएको बताए। उनले वितरण महाशाखा र तथ्यांक महाशाखाका अधिकारीको नम्बर दिए पनि थप प्रतिक्रिया जनाउन अस्वीकार गरे। प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषको भने मोबाइल स्वीच अफ छ।