काठमाडौं । मंगलबार बिहान ८ बजे सर्लाहीका उखु किसान सिताराम महतो माइतीघर जाने तरखर गर्दै थिए । माइतिघरमा उखु किसानहरुको आन्दोलनमा सहभागी हुन उनलाई हतारो थियो । तर, धर्नामा सहभागी हुन जाने/नजाने दोमनमा थिए । कारण, संतुङगलदेखि माइतिघरसम्म पुग्ने गाडीभाडा उनीसँग थिएन ।
एकछिनको अलमलपछि साथीबाट १ सय रुपैयाँ सापटी पाएपछि उनी दंग परे । खुसी हुदै सय रुपैयाँ खर्च बोकेर संतुगल त्रिुपरेश्वरको गाडी चढे । आफूले सर्लाहीको चिनी मिलमा बिक्री गरेको उखुको भुक्तानी नपाएपछि काठमाडौमा प्रदर्शन गर्न आएका उनी जस्तै करिब ५० किसानहरुकाे दैनिकी १२ दिनदेखि माइतिघरबाटै शुरु हुन्छ । बिहानीमा कुनै दयालुले दिएको कालोचिया र बिस्कुट खाएर उनीहरुको आन्दोलन शुरु हुन्छ ।
चिनी मिलबाट भुक्तानी पाउने पटक पटकको आश्वासनबाट आजित भएका किसानहरु अन्तिम बिकल्पको रुपमा काठमाडौ आएका हुन् । यी मध्य अधिकांश किसान त पहिलो पटक काठमाडौ आएका हुन् ।
केहि दिनको लागि मात्रै भनेर गाँउबाट ३ हजार ऋण काढेर काठमाडौ उत्रिएका महतो खर्च सकिएपछि बस्ने की फर्कने अन्योलमा छन् । काठमाडौंमा भोकै बस्नुपरेको चिन्ता मात्रै छैन, आन्दोलन सफल नभए घर परिवारको गर्जो कसरी टार्ने भन्ने फिकर पनि छ परेको उनी बताउछन् । उनी भन्छन् ‘उता घर जहानले फोन गरिरहको छ, छिटो आउनुस घरको खर्चपर्च छैन ।’
गत बर्ष साहुमहाजनबाट ३६ प्रतिशत ब्याजमा ३० हजार ऋण लिएर उनले उखु खेति गरेका थिए । सो खेतिबाट उनले चिनी मिललाई ६० हजार रुपैयाँको उखु बिक्री गरे । त्यतीबेला राम्रै प्रतिफल पाउने आशामा मख्ख परेका महतो अहिले भने किसान बन्नुपरेकोमा दिक्क छन् । उखु बिक्री गरेको दुई बर्षसम्म पनि मिलले भुक्तानी नदिदा कर्जा लिएको रकमका दोब्बर भन्दा बढी ब्याज कसरी तिर्ने भन्ने चिन्तामा छन् ।
कवाडीको गोदामा रात बिताउदै आएका अर्का किसान रौदी महतोको अवस्था पनि उनको भन्दा कम छैन । २ विघा जग्गा भाडामा कर्जामा उखु खेती गरेका महतोलाइ मिलवालाले पैसा नदिँदा ऋण, व्याज तथा जग्गा भाडा कसरी तिर्ने भन्ने चिन्ता बढ्न थालेको छ । उनी भन्छन् ‘साहुमहाजनले ऋण ल्याएको साँवा र व्याज चाहियो भनिरहेको छ । म सँग छैन् । चिनी मिलवालाले पैसा दिएन । त्यो पैसा लिन काठमाडौं आएको ।’
सर्लाहीकै बिन्देश्वर रायले पनि दुइबर्षदेखि उखुको भुक्तानी पाएका छैनन् । पैसा नपाउदा बालवच्चा पढाउन र घर व्यवहार चलाउन कठिन भएर काठमाडौं आउनुपरेको गुनासो उनको छ । ‘महाजनबाट ल्याएको ऋण छ हामीलाई । पैसा नदिए महाजनले खेत लिलामी गर्दिने भन्छ’ उनी भन्छन् ‘अब हामी कहाँ जानु पैसा लिन ?’ चिनी मिलबाट उनको मात्रै ६ लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ ।
मिल मालिकले उखु क्रसिङ गरेर चिनी बिक्री गरेको बर्ष दिन बितिसक्दा पनि किसानहरुले उखुको मुल्य नपाएपछि किसानहरु बाध्य भएर काठमाडौ आएका हुन् । अहिले सर्लाहिका मात्रै २ सय किसान आफ्नो मिहिनेतको मुल्य पाउन कहिले माइतिघर त कहिले बानेश्वरबाट संघर्ष गरिरहेका छन् ।
कुन मिलले कति भुक्तानी दिएनन् ?
५ बर्षदेखि अन्नपूर्ण सुगर मिलले किसान उखुको भुक्तानी दिएको छैन । यो एउटै मिलले ५० करोड भुक्तानी दिएको छैन् । किसानहरु काठमाडौको मिलको कार्यालयमा जादा मालिक भागेका छन् । यता, सरकारी कर्मचारीहरु भने चिनी मालिक भागेको भन्दै झारा टार्ने काम गरिरहेका छन् ।
श्रीराम सुगर मिलले पनि तीन बर्षदेखि उखुको भुक्तानी दिएको छैन । उक्त मिलले ४२ करोड रुपैयाँ भुक्तानी अड्काइरहेको छ । यसरी ८ चिनी मिलले गरिब किसानहरुको करिब डेढ अर्ब रकम दिएका छैनन् ।
सरकारबाट समेत पिडित किसान
चिनी मालिकबाट पिडित भएका किसानहरु सरकारको सहयोग चाहिरहेका छन् । तर, किसानमैत्री हुनुपर्ने सरकार आफै भने उनीहरुलाई दिनुपर्ने अनुदान रकम विभिन्न बहानामा अड्काएर किसानलाई झन् पिडित बनाइरहेका छन् । किसानले उखु उत्पादनबापत किसानलाई प्रति क्विन्टल करिब ६५ रुपैयाँ अनुदान दिने ब्यवस्था गरेको छ । सो अनुसार गत बर्ष किसानहरुले उत्पादन गरेको उखुको अनुदान मात्र १ अर्ब ३४ करोड रुपैयाँ सरकारले किसानलाई उपलब्ध गराउने पर्ने हो । तर, केन्द्रीय सरकारले बिभिन्न बहानमा किसानको अनुदान दिएको छैन ।
अघिल्लो आव २०७४/०७५ मा पनि २ करोड भुक्तानी पनि अझै किसानले पाएका छैनन् । उखुको भुक्तानी नपाएपछि राजधानी आएका सर्लाही एक किसानले क्यापिटलसँग भने, ‘हामी उद्योगीबाट मात्र ठगिएका छैनौं । यहाँ सरकारले नै दिनुपर्ने अनुदान पनि नदिएर ठगियौं । अब ऊखुखेती गरेर परिवार चलाउने स्थिति छैन ।’