काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेसँगै सेयर बजार क्रमशः घट्न थालेको छ। बजेट सार्वजनिक गर्ने दिन मंगलबार सार्वजनिक बिदाका कारण सेयर बजार बन्द थियाे। त्यसपछिका दुई दिन क्रमशः बुधबार र बिहीबार सेयर बजारमा ठूलो अंकको गिरावट आएको हो।
सेयर बजार आज पनि दोहोरो अंकले घटेको छ। साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.८९ अंकले घटेर २०६९.५३ को बिन्दुमा बन्द भएको हो।
अघिल्लो कारोबार दिन बुधबार नेप्से २३.८१ अंकले घटेर २०८९.४२ को बिन्दुमा बन्द भएको थियो। पछिल्लो दुई कारोबार दिनमा नेप्सेमा ४३.७ अंकको गिरावट आएको छ। सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट सार्वजनिक गरेपछिको दुई कारोबार दिनमा दुई दिन नै नेप्से उच्च अंकले घटेको हो।
बिहीबार नेप्सेमा कुल ४ अर्ब २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बुधबार कुल ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बिहीबार कारोबारमा आएकामध्ये ७० कम्पनीको सेयर मूल्य बढ्दा १७३ कम्पनीको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
यस दिन नेपाल फाइनान्स, अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी र भगवती हाइड्रो डेभलपमेन्टको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। मनकामना इन्जिनियरिङ हाइड्रोको सेयर मूल्य ९.९८ र युनिलिभर नेपालको सेयर मूल्य ९.५० प्रतिशतले बढेको छ।
आज पोखरा फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्य ७.०८ प्रतिशतले घटेको छ।
बिहीबार अधिकांश समूहको सेयर मूल्यमा गिरावट आएको छ। आज म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ समूहको सेयर मूल्यमा १.२३ प्रतिशत, जलविद्युत्मा ०.४९ प्रतिशत, फाइनान्स समूहमा ०.१५ प्रतिशतको वृद्धि र अन्य सबै समुह राताम्य भएका छन्।
बिहीबार होटल तथा पर्यटन समूहको सेयर मूल्य सर्वाधिक अर्थात् २.५३ प्रतिशतले घटेको छ। यस्तै, लघुवित्त समूहमा १.९६ प्रतिशतको गिरावट आएको छ।