काठमाडौं। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले मंगलबार सरकारले ल्याएको आर्थिक वर्ष २०८१÷८२ को बजेट सूचना तथा सञ्चार प्रविधि क्षेत्रका लागि स्वागतयोग्य रहेको प्रतिक्रिया दिएको छ। बजेटमा पाँच रुपान्तरणकारी क्षेत्रमा सूचना प्रविधि विकासलाई समावेश गरिएको भन्दै यसले नयाँ आशा देखाएको महासंघले जनाएको छ।
क्यान महासंघ अध्यक्ष रणजीत पोदारले बजेटले आईटी क्षेत्रका धेरै आवश्यकतालाई समेटेको भन्दै खुसी व्यक्त गरे। ‘हामीले स्थापनाकालदेखि आईसीटी क्षेत्रलाई प्राथमिकता दिन बारम्बार लबिइङ गर्दै आएका थियौं। पछिल्लो बजेटले यस क्षेत्रमा सकारात्मक तरङ्ग ल्याएको छ,’ अध्यक्ष पोदारले भने, ‘बजेटमा प्रस्तुत कार्यक्रम कार्यान्वयन हुने हो भने देश साँच्चिकै रुपान्तरणको बाटोमा लाग्नेछ।’
यस पटकको बजेटमा नेपाललाई सूचना प्रविधि हबको रूपमा विकास गर्ने गरी विभिन्न कार्यक्रम घोषणा गरिएको छ। यसअन्तर्गत १० वर्षमा ३० खर्ब बराबरको आईटी सेवा निर्यात गर्ने, पाँच लाखलाई प्रत्यक्ष रोजगारी तथा १० लाखलाई अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ।
काठमाडौं उपत्यका र बुटवलमा उपलब्ध सरकारी तथा निजी भवन समेत उपयोग गरी इन्टरनेट, बिजुली, सुरक्षालगायतका पूर्वाधारसहित सूचना प्रविधि पार्क सञ्चालन गर्ने र आईटी कम्पनीका लागि तीन वर्षसम्म वर्क स्टेसनका लागि निःशुल्क स्थापना उपलब्ध गराउने योजना सकारात्मक भएको महासंघले जनाएको छ।
अभियानलाई प्रदेशव्यापी बनाई कार्यान्वयनमा ल्याउन सके नवीनतम प्रविधि र समाधानमा काम गरेका स्टार्टअप र उद्यमीले राहत पाउने विश्वास गरिएको छ। त्यस्तै, काठमाडौंमा सार्वजनिक निजी साझेदारीमा अत्याधुनिक सूचना प्रविधि हब सञ्चालन गर्न बहुतले संरचना निर्माण गर्ने योजना ल्याइएको छ।
डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न छुट्याइएको बजेट थोरै भए पनि योजना कार्यान्वयनका लागि चुस्त कमिटी बनाएर काम गर्दा धेरै परिणाम निकाल्न सकिने महासंघ अध्यक्ष पोदारको धारणा छ।
सूचना प्रविधिमा सकारात्मक कार्यक्रम ल्याउँदा ल्यापटपमा ५ प्रतिशत अन्तःशुल्क राखिनु जायज नभएको महासंघले जनाएको छ। ‘मानव स्वास्थ्यका लागि हानिकारक मानिने नेगेटिभ लिस्टमा रहेको वस्तुमा लगाउने अन्तःशुल्क ल्यापटप र नोटबुकमा लगाइएको हो। सूचना प्रविधि विकासका लागि अपरिहार्य डिभाइसमै यसरी किन अन्तःशुल्क लगाइयो, यसमा सरकारको ध्यानाकर्षण गराउँछौं,’अध्यक्ष पोदारले भने।
क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले विगत बजेटभन्दा यसपालि सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिएकामा खुसी व्यक्त गरे। उनले डेटा प्रोटेक्सन र साइबर सेक्युरिटीलाई सरकारले प्राथमिकता दिएकोमा उनले धन्यवाद दिए।
‘सूचना प्रविधि क्षेत्रमा लाभांश कर दिने योजना पनि स्वागतयोग्य छ। त्यस्तै, स्टार्टअप फन्ड, स्टार्टअप बोर्डको अवधारणाले आईटी क्षेत्रका नवउद्यमीलाई प्रोत्साहन मिल्नेछ,’ उनले भने, ‘सूचना प्रविधिमा आधारित उद्यमशीलतामा जोड दिने सरकारको योजना राम्रो हो। कार्यान्वयन कसरी हुन्छ, त्यसपछि मात्र यसबारे ठोस प्रतिक्रिया दिनु राम्रो हुन्छ।’
बजेटमा सार्वजनिक क्षेत्रमा सूचना प्रविधिको पहुँच, डिजिटल करेन्सी, सूचना प्रविधिमा आधारित ज्ञान पार्क लगायतलाई पनि समेटिएको छ। त्यस्तै बजेटले स्वदेशी सफ्टवेयरको प्रवर्द्धन गर्ने योजना प्रशंसायोग्य रहेको क्यान महासंघले उल्लेख गरेको छ।
आईटी पढेका विद्यार्थीलाई कम्पनीमा इन्टर्नसिप व्यवस्था मिलाउने योजनाका लागि क्यानलगायत निजी क्षेत्रसँगको साझेदारी महत्त्वपूर्ण महासंघले बताएको छ।
सामाजिक सञ्जालमा विज्ञापन नियमन गर्ने कुरा उल्लेख गरिनु सकारात्मक भएको भन्दै क्यान महासंघले स्पष्ट गाइडलाइन बनाउनुपर्नेमा जोड दिएको छ। क्यान महासंघले समस्यामा रहेका कम्पनी र व्यवसायीलाई प्याकेज प्रदान गर्न सके सस्तोडिललगायतका ईकमर्स र अन्य स्टार्टअप पुनः सञ्चालनमा आउन सक्ने बताएको छ।