काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले वर्षायाम लागेसँगै खोला तथा नदीमा पानीको बहाव क्रमिक रुपमा बढेर देशभित्रका जलविद्युत् गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारतर्फ विद्युत् निर्यात सुरु भएको जनाएको छ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबार (१४ जेठ रातीबाट) भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको हो।
खोला तथा नदीमा पानीको बहाब बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त भएको विद्युत् निर्यात सुरु गरिएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रुपमा ४ सय मेगावाट हाराहारी विद्युत् निर्यात भइरहेको बताए।
‘खोला तथा नदीमा पानीको बहाव क्रमिक रुपमा बढ्दै गइरहेकाले विद्युत् उत्पादन पनि बृद्धि भइरहेको छ भने पिक समय आन्तरिक खपत पनि दुई हजार मेगावाट पुगेको छ। विगत ७/८ वर्षअघि दैनिक रुपमा विद्युत् खपत एक÷डेढ करोड युनिटको हाराहारीमा रहेकामा हाल बढेर ४/साढे ४ करोड युनिट पुगेको छ’, कार्यकारी निर्देशक घिसिङले भने।
आन्तरिक माग पूरा गरी अतिरिक्त भएको १ हजारदेखि १ हजार २ सय मेगावाट विद्युत् प्रतिस्पर्धी बजार र द्विपक्षीय सम्झौताबमोजिम यस वर्ष निर्यात लक्ष्य राखिएको उनले जानकारी दिए। निर्यात स्वीकृतिका लागि आयोजनाको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणसमक्ष प्रस्ताव पठाइसकेको उनले बताए।
द्विपक्षीय सम्झौताबमोजिम बिहार राज्यलाई करिब २ सय मेगावाट विद्युत् बिक्रीका लागि पावर ट्रेड कम्पनीसँग र करिब ४०० हरियाणा राज्यलाई बिक्री गर्न एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभीभीएनसँग सम्झौता गरी स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणमा प्रस्ताव पठाइसकेको घिसिङले उल्लेख गरे।
चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म १३ अर्ब ४७ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको छ। प्राधिकरणले चालू आर्थिक वर्षमा निर्यातभन्दा १ अर्ब ७४ करोड रुपैयाँको बढी विद्युत् आयात गरेको हो। यस अवधिमा १ अर्ब ४९ करोड २९ लाख युनिट विद्युत् निर्यात गरिएको हो।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले हालसम्म नेपालका १५ जलविद्युत आयोजनाबाट उत्पादित ६५६ मेगावाट विद्युत् प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिएको छ। ६५६ मेगावाटबाटै मध्यकालीन विद्युत सम्झौता बमोजिम हरेक वर्ष जुन–अक्टोबरसम्म पाँच वर्षका लागि ११० मेगावाट विद्युत् एनभीभीएनलाई बिक्री गर्न स्वीकृति दिइएको छ।
एनभीभीएनले उक्त विद्युत हरियाणा राज्यलाई बिक्री गर्दै आएको छ। नेपालले विद्युत् रियल टाइम मार्केटमा विद्युत् खरिद बिक्रीको पनि अनुमति पाएको छ।
६५६ मेगावाटमध्ये ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट ५८६ र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ।
कार्यकारी निर्देशक घिसिङले बाराको पिलुवा सबस्टेसनबाट परवानीपुर सबस्टेसनसम्मको करिब १८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तारका लागि एउटा सर्किट बन्द गरी तार (कन्डक्टर) बदल्ने काम भइरहेकाले वीरगञ्ज क्षेत्रका उद्योगमा विद्युत् आपूर्तिको केही समस्या रहेको उल्लेख गरे।
‘पिलुवा–परपानीपुर प्रसारण लाइनको हालको कन्डक्टरलाई बदलेर एचटिएलएस बनाउन अहिले एउटा सर्किट बन्द गरी काम भइरहेको छ। एउटा सर्किटबाट मात्र आपूर्ति भएकाले विद्युत्बाट माग नधान्ने र राति भारततर्फबाट आयात गर्न नपाउने हुँदा वीरगञ्ज करिडोरका उद्योगमा विद्युत् आपूर्तिको केही समस्या छ। कन्डक्टर बदल्ने काम २÷३ दिनमा सकिनेछ। त्यसपछि हालको समस्या समाधान हुनेछ,’ उनले भने।
दुवै सर्किटको कन्डक्टर बदलेपछि हालको करिब २ सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पिलुवा–परपानीपुर १३२ केभी प्रसारण लाइनका क्षमता डबल हुनेछ। परवानीपुर सबस्टेसनबाट भारतर्फ पनि विद्युत् निर्यात हुनेछ।
हिउँदमा १५ अर्बको बिजुली खरिद
विद्युत प्राधिकरणले यस वर्षको हिउँदयाममा देशभित्रको विद्युत् माग धान्न १५ अर्ब २१ करोड रुपैयाँको विद्युत् भारतबाट आयात गरेको छ। सुक्खायाम सुरु भएसँगै खोला तथा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न भारतबाट विद्युत् आयात गरिएको हो।
यस अवधिमा १ अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् आयात गरिएको छ। प्राधिकरणले गत वर्ष जेठदेखि यस वर्षको हालसम्म १५ अर्ब ६२ करोड रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ।
चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म १३ अर्ब ४७ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको छ। प्राधिकरणले चालू आर्थिक वर्षमा निर्यातभन्दा १ अर्ब ७४ करोड रुपैयाँको बढी विद्युत् आयात गरेको हो। यस अवधिमा १ अर्ब ४९ करोड २९ लाख युनिट विद्युत् निर्यात गरिएको हो।
आयात गरिएको विद्युत् मूल्य निर्यात गरिएभन्दा सस्तो रहेको छ। निर्यात गरिएको विद्युत् प्रतियुनिट औसत मूल्य ९ रुपैयाँ २ पैसा रहेको छ भने आयातको प्रतियुनिट औसत मूल्य ८ रुपैयाँ ३८ पैसा छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जेठको बाँकी समय र असारमा निर्यात हुने विद्युत् परिणामबाट चालू आर्थिक वर्ष (आव)मा आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था देखिएको बताए।
‘६/७ वर्षअघिसम्म विद्युत्को आयातकर्ताको मात्र अवस्था थियो। २/३ वर्ष अघिबाट विद्युत् निर्यात सुरु गरे पनि निर्यातभन्दा आयात बढी भई खुद आयातकर्ता बन्ने अवस्था थियो भने अब यस वर्षबाट खुद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था देखिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘चालू आवमा निर्यातभन्दा आयात १ अर्ब ७४ करोड रुपैयाँले बढी देखिएको छ। आवको बाँकी अवधिमा निर्यात हुने विद्युत्को परिणामले यो ग्यापलाई पूरा गरी खुद निर्यातकर्ताका रुपमा रहनेछौं।’