काठमाडौं। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बजेटमा वित्तीय क्षेत्र सुधार्ने कार्यक्रम आउनु महत्त्वपूर्ण भएको बताएका छन्। बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेट विषयक छलफलमा उनले यस्तो बताएका हुन्।
कार्यक्रम कार्यान्वयनको नेतृत्व गर्न राष्ट्र बैंक तयार रहेको पनि उनले जानकारी दिए। ‘बजेट यस्तो नीति आउनु एकदमै स्वागतयोग्य छ,’ उनले भने, ‘यसको नेतृत्व लिने राष्ट्र बैंकले नै हो। त्यसका लागि हामी तयार छौं ।’
बजेटले सरकार र राष्ट्र बैंकको कार्यक्षेत्रबीच तादत्म्य मिलाएको पनि उनको भनाइ छ। यसले बजेट कार्यान्वयनमा सहजता प्रदान गर्ने उनको धारणा छ।
यसैगरी डिजिटल भुक्तानीको प्रवर्द्धन, केन्द्रीय बैंक डिजिटल करेन्सी, ग्रीन फाइनान्स ट्याक्सोनोमीलगायत विषयलाई बजेटमा समावेश गर्दै वित्तीय क्षेत्र सुधार गर्ने बजेटको घोषणाले राष्ट्र बैंकको कार्यक्रमलाई थप सहयोग पुग्ने उनले बताए ।
यस्तै, कृषिमा आवश्यक पर्ने लगानीलाई केन्द्रीय बैंकले कम हुन नदिने प्रतिबद्धता उनले गरे। यसैगरी घर कर्जा कारोबार तथा फुकुवा, करसम्बन्धी काम, मालपोत लगायतका बीचमा डिजिटल प्लेटफर्म बनाएर बैंकको माध्यमबाट काम गर्ने नीति आउनु पनि राम्रो पक्ष भएको डेपुटी गभर्नर मिश्रको भनाइ छ।
बझाङको साइपलमा बैंक शाखा स्थापना गर्ने नीति ढिलै गरी भए पनि आउनु सकरात्मक रहेको उनले औंल्याए । ७५३ पाकिामध्ये साइपाल मात्रै बैंक शाखा नभएको गाउँपालिका हो।
सो पालिकामा शाखा स्थापना गर्ने जिम्मा एभरेष्ट बैंकले २०७४ मै पाएको थियो। तर, सडक, इन्टरनेटजस्ता पुर्वाधार नहुदाँ बैंकले त्यहाँ शाखा स्थापना गर्न सकेको छैन। अब कुनै हालतमा साइपलमा बैंक शाखा स्थापना गर्ने नीति आउनु राम्रो पक्ष भएको उनले बताए।
बजेटमा घोषणा गरेअनुसार सहुलियतपूर्ण कर्जाको नीतिलाई पुनर्संरचना गरिने उनको भनाइ छ। यसका लागि छुट्टै कमिटी बनाएर काम गरिनेछ। आगामी दिनमा आवश्यक पुनर्संरचना गरी यसलाई थप प्रभावकारी बनाउने उनले जानकारी दिए।
यस्तै, उनले ६ प्रतिशतको आर्थिक वृद्धि, ५.५ प्रतिशतमा मुद्रास्फीति सीमित राख्ने र १२ प्रतिशत कर्जा वृद्धि गर्ने लक्ष्य पूरा हुने उनले दाबी गरे।
चालू आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकहरुलाई पुँजी पर्याप्ततामा सहजीकरण गरिसकेको हुँदा यो लक्ष्य प्राप्ति गर्न सहज हुने उनले बताए। समग्रमा यसअघि नै केन्द्रीय बैंक त्यसतर्फ अगाडि बढिसकेको उनको भनाइ छ। आर्थिक गतिविधि चलायमान बनाउने गरी आगामी आवको मौद्रिक नीति बनाउने तयारी भइरहेको मिश्रले जानकारी दिए।
‘निजी क्षेत्रले लचक मौद्रिक नीति आवश्यक रहेको बताएको छ। मौद्रिक नीति अहिले पनि लचकै छ। ब्याजदर पनि धेरै कम भइसकेको छ,’ उनले भने, ‘यद्यपि, अर्थतन्त्र चलायमान बनाउन आगामी आवको मौद्रिक नीतिबाट गर्न सकिने व्यवस्थाबारे हामी सकरात्मक छौं।’