काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेर १ लाख ४० हजार पाँच सय पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
बुधबार तेजाबी सुन तोलामा १ लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकोमा आज १ लाख ३९ हजार आठ सयमा कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा २५ सयले बढेको छ।
यसैगरी चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ। बुधबार १ हजार ९ सय ३० मा कारोबार भएको चाँदी आज १ हजार ९ सयमा बिक्री भइरहेको महासंघले जनाएको छ।
यस्तै महासंघका अध्यक्ष मणिकरत्न शाक्य अर्थमन्त्री वर्षमान पुनले मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ सरकारले बजेटमा सुनको भन्सार दर ५ प्रतिशतले बढासँगै नेपाली बजारमा पनि मूल्य बढ्ने बताए। भन्सार मूल्य बढेसँगै प्रतितोलामा ५ हजार रुपैयाँसम्मले मूल्य बढ्ने उनको भनाइ छ।
आगामी बजेटले सुनमा भन्सार दर बढाएपछि महासंघको बैठक छिट्टै बस्ने र त्यसबारे निर्णय लिइने उनले जानकारी दिए। यसअघि सुनमा भन्सार दर १५ प्रतिशत रहँदै आएकोमा नयाँ बजेटले बढाएर २० प्रतिशत पुर्याएको छ। २० प्रतिशत पुर्याएसँगै नेपाली बजारमा सुन मूल्य थप महँगिनेछ।
‘महासंघले अन्तर्राष्ट्रिय बजारमा कायम भएको सुन मूल्यलाई आधार बनाएर नेपाली बजारमा मूल्य तोकिने हुँदा भन्सार दर बढाएपछि स्वत: सुनको मूल्य बढ्छ। यसमा महासंघको कुनै भूमिका हुँदैन। भन्सार थपघटकै कारण नेपाली बजारमा सुनको मूल्य महँगिने भएको हो,' अध्यक्ष शाक्यले भने, 'यसले व्यवसायी र उपभोक्ता दुवैलाई मारमा पार्नेछ।'
बजेटलगत्तै भन्सार दर लागू हुने हुँदा आयातीत सुन कारोबार नेपाली बजारमा बढ्ने शाक्यको भनाइ छ। सुनको भन्सार वृद्धि बारे महासंघ औपचारिक छलफलमा रहेको र नयाँ भन्सार दरअनुसार मूल्य समायोजन गरिने शाक्यले जानकारी दिए।