काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजी क्षेत्रबाट सरकारसमक्ष प्रस्तुत गरिएका माग सम्बोधन भएकाले कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको आगामी आवको बजेट विषयक छलफलमा अध्यक्ष ढकालले बजेटमा समेटिएका विषयको कार्यान्वयन महत्त्वपूर्ण हुने बताएका हुन्।
‘बजेटले निजी क्षेत्रको माग समेटेको छ। अब कार्यान्वयनमा पनि यसलाई लगिनुपर्छ। बजेटमा समावेश भएका निजी क्षेत्रको मागको सफल कार्यान्वयन हुनुपर्छ। बजेटमा ससाना छरिएर रहेका पुँजीलाई लगानीमा परिणत गर्नेजस्ता कार्यक्रम निजी क्षेत्रको सुझावअनुसार नै प्राथमिकताका साथ आएका हुन्’, अध्यक्ष ढकालले भने।
पुराना बजेटका कतिपय कार्यक्रम तथा नीतिलाई नयाँ बजेटमा नसमेटिनु भने दुःखद पक्ष रहेको उनको भनाइ छ। मर्जर र एक्विजिसनमा दिइएको सुविधा अहिलेको बजेटमा काटिनु गलत भएको अध्यक्ष ढकालले बताए।
‘बजेटले दिएको मार्ग निर्देशलाई हुबहु कार्यान्वयन गर्ने दिशातर्फ अगाडि बढ्न सक्नुपर्छ। यसो भए अर्थतन्त्र लयमा फर्कन समय लाग्दैन,’ अध्यक्ष ढकालले भने।
अर्थतन्त्र सुधार्न २०८० असोज २५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा निजी क्षेत्रका तर्फबाट सुझाव दिइएको उनले स्मरण गरे।
आर्थिक एजेन्डामा सबै दलहरुलाई एकै ठाउँमा ल्याउने र सामूहिक प्रतिबद्धता गर्नुपर्ने विषय राख्नु पनि सकारात्मक पक्ष भएको उनको धारणा छ।
नेपालमा लगानी वातावरण भएन भन्ने कुरा चिर्नका लागि लगानी सम्मेलन आयोजना भएको र त्यसका लागि ८ वटा कानुन परिवर्तन गर्ने विषय सबै राजनीतिक दलका साझा एजेन्डा बनेको अध्यक्ष ढकालले बताए।