काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आयकर छुटको सीमा नबढाउनु दुःखद् भएको प्रतिक्रिया दिएका छन्। बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
‘अहिले कर्जा प्रवाह ५ प्रतिशत हारहारीमा बृद्धि भएको छ। यो अवस्थामा आर्थिक वृद्धि धेरै हुँदैन। तसर्थ, लक्षित आर्थिक वृद्धि हासिल गर्न कर्जाको वृद्धिदर १५ प्रतिशतसम्म हुनुपर्छ। त्यसका लागि ब्याजदर कम हुनुपर्छ,’ अग्रवालले भने, ‘यसैगरि कर्जा प्रवाह बढाउन वित्तीय पहुँच बढाउने गरि आगामी आवको मौद्रिक नीति ल्याउनुपर्ने आवश्यक्ता छ।’
अग्रवालले कृषि, पर्यटनलगायतमा बजेटले राम्रा कार्यक्रम ल्याउनु सकरात्मक पक्ष भएको बताए। यद्यपि, अर्थतन्त्रलाई चलायमान बनाउनका लागि बजेटको कार्यान्वयन चुनौतिपूर्ण रहेको उनको भनाइ छ।
उनले आन्तरिक राजस्वमा भने समस्या भएको पनि उल्लेख गरे। भूतप्रभावि करको दायित्वको दवाव परिरहेकाले यसतर्फ ध्यान दिनुपर्नेमा उनको भनाइ छ।
‘भूतप्रभावी करका नीतिले व्यवसायी आतंकित भइरहेको अवस्थामा अर्थतन्त्र सुध्रन सकिँदैन,’ अग्रवालले भने, ‘एकातर्फ स्रोत बढाउने लक्ष्य लिने तर आर्थिक शिथिलता ल्याउने बजेट ल्याउँदा तालमेल नमिल्ने हुन्छ। राज्यले मालवस्तुको मूल्यांकन गर्नेतर्फ जान हुँदैन।’
अग्रवालले आन्तरिक ऋण धेरै उठाउँदा बजारमा तरलता अभावको जोखिम पनि बढ्ने पनि उनले बताए। अनुत्पादक क्षेत्रमा रहेको बजेट कटौती गरेर उत्पादन क्षेत्रमा बजेट बिनियोजन गर्ने अभ्यास गर्नूपर्ने उनको भनाइ छ।
‘बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य सामान्य अवस्थामा कम भएपनि अर्थतन्त्र चलायमान बनाएर लक्ष्य पूरा गर्न चुनौतिपूर्ण हुनेछ,’ अग्रवालले भने, ‘आर्थिक वृद्धिको उक्त लक्ष्य प्राप्ती गर्न निजी क्षेत्रतर्फको कर्जा प्रवाह १५ प्रतिशतसम्मले बढ्नुपर्ने हुन्छ।’