मुस्ताङ। व्यावसायिक च्यांग्रा खेतीको विकास गर्न र स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले माथिल्लो मुस्ताङको लो मान्थाङमा च्यांग्र्रा पस्मिना रिसर्च एन्ड एग्रो टुरिजम फार्म स्थापना गरिएको छ।
नेपालको पहिलो एकीकृत च्यांग्र्रा फार्मका रूपमा स्थापना भएको फार्ममा १ हजार बढी च्यांग्रापालन गर्न मिल्ने क्षमता छ।
स्थानीय च्यांग्रा किसान र नेपाल पस्मिना उद्योग संघको संयुक्त पहलमा स्थापना भएको उक्त फार्मले आधुनिक च्यांग्रापालनको अभ्यासलाई दिगो कृषि पर्यटनसँग एकीकृत गर्न नयाँ आयाम दिने विश्वास गरिएको छ।
यो फार्म यस व्यवसायसम्बन्धी ज्ञान आर्जन र आदानप्रदान गर्ने केन्द्रका रूपमा रहनुका साथै च्यांग्र्रा प्रजनन र पालनमा विशेषज्ञता र उत्कृष्ट अभ्यासलाई बढावा दिन उपयोगी हुने संघले जनाएको छ।
नेपालका लागि युरोपियन युनियन (ईयु)का राजदूत भेरोनिक लोरेन्जोले आज सो फार्मको उद्घाटन गर्दै उच्च गुणस्तरको च्यांग्र्रा फाइबरको भरपर्दो स्रोत सिर्जना गरी पस्मिना मूल्य शृंखलालाई बलियो बनाउने बताए।
राजदूत लोरेन्जोले च्यांग्रापालनमा युवा र महिलाको महत्त्वलाई ध्यानमा राखी स्थानीय रोजगारीका अवसर सिर्जना गर्न र ग्रामीण बसाइँसराइ समस्या समाधान गर्न उनीहरूलाई व्यवसायमा अझ बढी प्रोत्साहित गर्नुपर्नेमा जोड दिए।
सो अवसरमा लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरुङले स्थानीय सरकारले च्यांग्र्रा किसानका लागि अनुदान मिलाउनेजस्ता कार्यक्रम आफ्नो वार्षिक योजनामा समावेश गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
अन्तर्राष्ट्रिय च्यांग्राविज्ञ डा. सरफराज बानीले दिगो अभ्यासलाई प्रवर्द्धन गर्दै व्यावसायिक च्यांग्र्रा खेतीमा क्रान्तिकारी परिवर्तन गर्ने सम्भाव्यताबारे चर्चा गर्दै फार्मको प्राविधिक डिजाइन प्रस्तुत गरेका थिए।
राजदूत लोरेन्जोले इयू–नेपाल व्यापार तथा लगानी कार्यक्रमको प्राविधिक सहयोगमा स्थापना भएको पस्मिना फाइबर संकलन केन्द्रको अवलोकन गरिन्। नेपालको पस्मिना क्षेत्रको मूल्य शृंखला मजबुत बनाउन युरोपियन युनियनले निरन्तर सहयोग गर्दै आएको छ।–रासस