काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ। बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.८१ अंक अर्थात् १.१२ प्रतिशतले घटेर २०८९.४२ को बिन्दुमा सिमित भएको हो।
अघिल्लो कारोबार दिन सोमबार भने नेप्से ३.९३ अंकले बढेर २११३.२७ को बिन्दुमा बन्द भएको थियो। बुधबार कारोबार सुरु भएको केही मिनेटमै अर्थात् ११ बजेर ४ मिनेटमा उच्च अंकले बढेर २१५३.३९ को बिन्दुसम्म पुगेको नेप्से त्यसबाट निरन्तर घटेर २०८९.४२ बिन्दुमा सिमित भएको हो।
नेपाल सरकारले आगामी आर्थिक वर्षको वार्षिक बजेट मंगलबार प्रस्तुत गरेको थियो। बजेटमा अर्थमन्त्री वर्षमान पुनले पुँजी बजार लगानीकर्ता र संरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत क्षमता सुधार तथा नेप्से र सिडिएस एन्ड क्लियरिङ्सको संस्थागत पुनर्संरचना गरिने विषय उल्लेख गरेका थिए।
साथै, पुनले निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीले आइपिओ निष्कासन गर्नुपर्ने व्यवस्था मिलाइने विषय पनि बजेटमा समावेश गरेका छन्। यद्यपि, पुँजीगत लाभकर घट्ने लगायतका विषय भने बजेटमा अट्न सकेनन्।
अघिल्लो कारोबार दिनको तुलनामा बुधबार कारोबार रकम भने बढेको छ। बुधबार नेप्सेमा कुल ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। सोमबार भने नेप्सेमा कुल ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बुधबार कारोबारमा आएकामध्ये ५६ कम्पनीको सेयर मूल्य बढ्दा १९१ कम्पनीको घटेको छ। बुधबार कालीन्चोक दर्शन लिमिटेड, अपर लाहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ।
यस्तै, बुद्धभूमी नेपाल हाइड्रोको सेयर मूल्य सर्वाधिक अर्थात् ९.४१ प्रतिशतले घटेको छ। आज म्यानुफ्याक्चरीङ एन्ड प्रोसेसिङ समूहको सेयर मूल्य सर्वाधिक अर्थात् २.६८ प्रतिशतले बढेको छ। बैंकिङ समूहको सेयर मूल्य भने २.९४ प्रतिशतले घटेको छ।