काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधार प्रयास थालेको बताएका छन्।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबारे जानकारी दिन अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले नेपालको वास्तविक अवस्था विश्लेषण गरेर सुधारको बाटो समात्ने गरी बजेट आएको दाबी गरे।
‘आगामी आवको बजेटले नयाँ चरणको आर्थिक सुधार प्रयास गरेको छ। हाम्रो भौगोलिक अवस्थिति सुहाउँदो अर्थतन्त्र निर्माणका लागि कोसिस गर्ने र नयाँ चरणको आर्थिक सुधारका लागि सुझाव दिन उच्चस्तरीय कार्यदल गठन गर्ने नीति लिइएको छ’, अर्थमन्त्री पुनले भने।
आगामी आर्थिक वर्षको बजेटले आर्थिक सुधार सुझाव कार्यदल गठन गर्ने उल्लेख गरेको छ।
नागरिकलाई केन्द्रमा राखेर बजेट ल्याएको दाबी अर्थमन्त्री पुनले गरे। निजी क्षेत्र, प्रमुख प्रतिपक्षले समेत आशा जगाउने बजेट आएको भनेर प्रतिक्रिया दिएको उनको भनाइ छ।
‘आमजनतामा आशा जगाउने गरी बजेट आएको छ। बजेटले उद्यमी, व्यवसायीमा आशा जगाउने अपेक्षा गरेका छौं’, अर्थमन्त्री पुनले भने, ‘देशभित्र अवसर हुँदाहुँदै पनि देशबाहिर जाने प्रवृत्ति बढेको छ। सजिलै विदेशको बाटो रोज्नेभन्दा पनि मुलुकभित्रै केही काम गर्ने गरी युवामा आशा जगाउने गरी बजेट आएको छ।’
करका दर परिवर्तनका गर्दा पनि आवश्यकता र औचित्यका आधारमा गरिएको अर्थमन्त्री पुनको भनाइ छ। ‘कुनै पनि व्यक्तिगत आग्रह, पुर्वाग्रह, भावनामा बगेर काम गर्दैनौं भन्ने प्रतिवद्धताका साथ करका दरमा हेरफेर भएका छन्’, उनले भने
बजेटका प्राथमिकता र उद्देश्य धेरैतर्फ छर्नेभन्दा पनि कृषि, ऊर्जा, सूचना प्रविधिलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर आन्तरिक उत्पादन बढाउने नीति बजेटले अवलम्बन गरेको अर्थमन्त्री पुनले बताए।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत अबको १० वर्षमा ३० खर्बको निर्यात पुर्याउने महत्त्वाकांक्षी योजना अघि सारेको र स्वदेशी उद्योग तथा उत्पादनलाई संरक्षण गर्ने नीति लिएको उनले जानकारी दिए।
स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले नै तयारी र कच्चा पदार्थमा दुई तहको भन्सार लगाउने नीति लिइएको पुनले बताए। हरित करको नयाँ विषय आर्थिक ऐनमा राखिएको धारणा उनले व्यक्त गरे।