काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले आगामी आव २०८१/८२ को बजेट व्यवसायी र उद्यमीमा आशा जगाउने गरी ल्याइएको दाबी गरेका छन्।
मंगलबार सार्वजनिक बजेटबारे जानकारी दिन अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले बजेट व्यवसायमैत्री रहेको दाबी गरेका हुन्।
विदेश जान सजिलो ठान्ने, देशमा भविष्य नदेखेर निरास हुने युवाहरूलाई पनि यो बजेटलाई आशा जगाउने उनको भनाइ छ।
‘छिमेकी मुलुकमा उत्पादित जनशक्तिबारे बुझ्न, क्षमताअनुसारको काम गरेर नयाँ चरणको अर्थतन्त्र बनाउन र विज्ञसँग छलफल गरेर विगतका गतिविधिलाई नियालेर आयोग गठन गर्न लागेका छौं। आयोग गठनपछि अर्थतन्त्रका समग्र पक्षमा यसले दिने रायसुझाव कार्यान्वयन गरिनेछ’, उनले भने।
निजी क्षेत्रलाई विश्वास दिलाउने र साथमा लिएर जाने खोजिएको अर्थमन्त्रीले जिकिर गरे। नयाँ खाले पूर्वाधार निर्माण गर्न सरकार एक्लैले नसक्ने हुँदा निजी क्षेत्रलाई समावेश गराइने उनले बताए।
पूर्वलाई उद्योग, बागमतीलाई आइटी, गण्डकीलाई पर्यटकीय हब बनाउने अवधारणासहित बजेट सार्वजनिक गरिएको उनले जानकारी दिए।
७५३ पालिका रोजगारी सिर्जना गर्ने केन्द्र भएकाले यसमा संघीय सरकारले सहयोग गर्ने अर्थमन्त्रीले बताए।
यस्तै, सडक पूर्वाधारलाई आर्थिक विकासका हबको रूपमा विकास गर्ने, राष्ट्रिय राजमार्गमा, पर्यटन, कृषि, सहरीकरणलगायत रूपमा विकास गर्ने रणनीतिसहित बजेटमा प्राथमिकता दिइएको उनले जनाए।