काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको बजेटमा सहरी विकास मन्त्रालय पुलकित हुँदा भौतिक पूर्वाभार तथा यातायात मन्त्रालय निरास देखिएको छ।
रातभर अर्थमा धर्ना दिएर बसेका भौतिकका उच्च अधिकारीहरूले बजेट अंक बढे पनि सन्तुष्ट हुने गरी नआएपछि निरास देखिएका छन्।
सहरी मन्त्रालयको चालू आर्थिक वर्षको बजेट ६६ अर्ब १७ करोड रुपैयाँ छ। तर, आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले २०८० माघ अन्तिममा सिलिङ पठाउँदा ४६ अर्ब ८६ करोडका मात्रै पठाएको थियो।
त्यसो त, सबैजसो मन्त्राालयलाई चालू बजेटभन्दा योजना आयोगले सिलिङ घटाएर पठाएकोे थियो। सिलिङ ४५ अर्बको पाए पनि ५ अर्ब बढाएर ५० अर्ब रुपैयाँसम्मका आयोजना राखेर पठाउन सहरी मन्त्रालयलाई आयोग र अर्थ मन्त्रालयबाट भनिएको थियो। सोहीअनुसार आयोजना राखेर पठाए पनि मंगलबारको बजेट भाषणमा सहरीले अपेक्षा नगरेको बजेट पाएको मन्त्रालयका सचिव मणिराम गेलाल बतााउँछन्।
उनले क्यापिटल नेपालासँग भने, ‘हामीले कार्यक्रम राखेर पठाएकोभन्दा धेरै बजेट आएको छ, वैदेशिक सहायतातर्फका आयोजना र पश्चिम नेपालमा गएको भूकम्प पछिको पूननिर्माणका लागि रकम थपिएको जस्तो छ, एलएलबिआइएस हेरेपछि विस्तृतमा थाहा हुन्छ।’
भौतिकको बजेट गायब
सहरी मन्त्रालयल आगामी बजेटमा सन्तुष्ट देखिदा भौतिक मन्त्रालय भने निरास देखिएको छ। भौतिक मन्त्रलयले आगामी वर्षको बजेट निर्माण अर्थ मन्त्रालयमै बसेर बनाएको थियो। एलएमबिआइएस लक भइपछि आयोजना थप्न नमिल्दा भौतिकको टिम अर्थमा गएको थियो।
विभागीय मन्त्री रघुवीर महासेठले भौतिकका कर्मचारी अर्थ मन्त्रालय लगेरै सिलिङभन्दा २८ अर्ब बढी बजेट थप्न लगाएका भौतिक मन्त्रालयकै कर्मचारी बताउँछन्। भौतिकले आगामी वर्षका लागि १ खर्ब ३१ अर्बको सिलिङ पाएको थियो। त्यसमा २८ अर्ब थप गरी करिब १ खर्ब ६० अर्ब बराबरको बजेट भौतिकमा ल्याउन खोजे पनि मन्त्रालयको टिम सफल हुन सकेन।
मंगलबार बजेट भाषण गर्दा अर्थमन्त्री वर्षमान पुनले आगामी वर्ष भौतिक मन्त्रालयलाई १ खर्ब ५० अर्ब रुपैयाँ मात्रै बजेट विनियोजन गरेको घोषण गरे। अर्थ मन्त्रीको भाषणपछि भौतिक मन्त्रालयमा बजेट घटेकोप्रति असन्तुष्टि बढेको देखिन्छ।
भौतिक मन्त्रालयको करिब ८० प्रतिशत बढी बजेट प्रयोग गर्दै आएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल आफूहरूले बनाएको सिलिङअनुसार बजेट नआएको बताउँछन्।
‘हामीले बनाएको सिलिङ परिवर्तन भएको छ, सोचेजस्तो बजेट आएन’महानिर्देशक ढकालले भने। यद्यपि महानिर्देशक ढकालले कति रकम फरबदल भयो भन्नेबारे खुलेर बोल्न चाहेनन्।