काठमाडौं । उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवशको अवसरमा मंगलबार आफ्नो सामाजिक सञ्जालमार्फत् ‘महिनावारी भएका महिला ट्राफिकलाई ४ दिन सडकमा नखटाउने’ घोषणा गरे। तत्कालै ट्राफिक प्रहरीले पनि आजैदेखी कार्यान्वयनमा गइसकेको दावी गरेको छ। तर, आधिकारिक निकाय नेपाल प्रहरीले भने यसबारे अनविज्ञता प्रकट गरेको छ।
गणतन्त्र दिवस अवसरमा शुभकामना दिँदै आफ्नो स्यानो प्रयास भन्दै गृहमन्त्र लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्–‘अबदेखि महिला ट्राफिकहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्न पर्दैन, मापसे लगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरुले स्वयम सेवकका रुपमा उहाँहरुको साटो सघाउनु हुनेछ।’
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवन कुमार श्रेष्ठले गृहमन्त्रीको घोषणा आजैदेखि कार्यान्वयनमा आएको दावी गरे। तर, यसबारे पुर्व छलफल भए/नभएको विषयमा भने आफू बोल्न नमिल्ने श्रेष्ठले बताए। ‘मैले भन्न मिल्ने भनेको मलाइ आदेश आएको छ, हामी कार्यान्यवनमा जान्छौं, महिला ट्राफिक प्रहरीको हकमा आजदेखि लागू भइसक्यो,’ ट्राफिक प्रहर प्रवक्ता श्रेष्ठले क्यापिटल नेपालसँग भने, ‘यदि कुनै महिला ट्राफिक प्रहरी महिनावारी भएको छ भने शुरुवाती ४ दिन सडकको डिउटी खटिनु पर्दैन भनेर भनिसकेका छौं।’
उता, गृह मन्त्रालय रहेको र ट्राफिक प्रहरीको मुख्य संगठन नेपाल प्रहरीले भने गृहमन्त्री लामिछानेको घोषणाका विषयमा प्रहरीलाई कुनै जानकारी नआएको दावी गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दान बहादुर कार्कीले गृहमन्त्रीले सामाजिक सञ्जालमार्फत गरेको घोषणा आफूहरुको जानकारी नरहेको बताए। कुनै पनि कार्यक्रम कार्यान्वयनअघि स्पस्ट विधि तय हुनुपर्छ। तर, गृहमन्त्री लामिछानेले घोषणा गरेको विषय विनाकुनै तयारी कार्यान्वयन गर्न सहज छैन।
‘प्रहरी मुख्यालयमा महिला ट्राफिकलाई महिनावारीको ४ दिन सडक नपठाउने भन्ने विषयमा छलफल भएको छैन, ट्राफिक प्रहरीमा केही छलफल भएको भए अर्को विषय हो,’ प्रहरी प्रवक्ता कार्कीले क्यापिटल नेपालसँग भने, ‘कसरी कार्यान्यवन गर्ने भन्ने विषयमा कार्याविधि आवश्यक पर्छ। कायम गर्ने वा कार्यान्यवन गराउने भन्ने विषयमा कार्याविधिगत कुरा हालसम्म बनेको छैन। मन्त्रालयले त्यसमा निर्देशन गर्ला।’ गृह मन्त्रालयको समन्वयमा आवश्यक कार्याविधि बनाए पछि मात्रै गृहमन्त्रीको घोषणा कार्यान्वयन हुने आधार बन्ने कार्कीको भनाई छ।
‘कार्यविधि नबनाइ लागू गर्न सकिँदैन, कसरी गर्ने? काठमाडौंमा मात्रै गर्ने वा उपत्यका बाहिर सबै जिल्लामा गर्ने, सेवा सुविधा कसरी निर्धारण गर्ने, डिउटी समय कति बनाउने, कस्तो डिउटी लगाउने भन्ने पनि तय गर्नुपर्ला,’ कार्कीले भने, ‘कार्यविधि बनेको भए मन्त्रालयलबाट भोलीका दिनमा मुख्यालय आउला।’
गृह मन्त्रालयका एक सहसचिवले महिला ट्राफिकलाई महिनावारीका बेला सडकमा नखटाउने विषयमा मन्त्रालयमा पनि छलफल भएर कुनै विधि बनेको आफूलाई जानकारी नभएको बताए। प्रहरी संगठनको कामकारवाहीलाई हेर्ने ति अधिकारीले विना आधार र नीतिगत व्यवस्था कार्यक्रम लागू गर्छु भनेर गृहमन्त्रीले भन्नु र विनाकुनै विधि ट्राफिक प्रहरीले कार्यान्वयन ग¥यौं भन्नु दुबै ‘स्टन्ट बाजी’ मात्रै हो। उनकाअनुससार सस्तो लोकप्रियताका लागि यस्ता विषय सतहमा आउँदा राम्रो लाग्ला तर, कार्यान्वयन गर्न कठिन हुन्छ किनभने ट्राफिक प्रहरीको संख्या नै अहिले कम छ। त्यसमाथि आधा हिस्सामा रहेका महिला ट्राफिकले सडक छाड्दा ट्राफिक व्यवस्थापन कठिन र भद्रगोल हुने ति अधिकारीको भनाई छ।
प्रहरी प्रवक्ता कार्कीकाअनुसार प्रहरी र ट्राफिक प्रहरीसँगको समन्वयमा कार्यविधि बनाई गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय पठाउने र प्रहरीले प्रधान कार्यालयले ट्राफिक प्रहरी कार्यालयमा कार्यान्वयका लागि निर्देश गरेपछि मात्रै लागू हुन्छ। हाल मुलुकभर करीव २ हजार ५ सय ट्राफिक प्रहरीहरू कार्यरत छन्। त्यस्मध्ये १ हजार २ सय काठमाडौं उपत्यकामै कार्यरत छन्।