काठमाडौं। सरकारले सबै सार्वजनिक संस्थानको ५० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने तयारी थालेको छ। आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत सरकारले सबै सार्वजनिक संस्थानको ५० प्रतिशत सेयर स्वामित्व सर्वसाधारणलाई दिन लागेको हो।
हाल सरकारको लगानी रहेका ४४ मध्ये २ बन्द छन् भने ४२ संस्थान सञ्चालनमा छन्। हाल सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २० वटामा सरकारको शतप्रतिशत लगानी छ भने बाँकी २४ वटामा सरकारकै ५० प्रतिशत बढी सेयर स्वामित्वका निकायको सेयर लगानी छ।
यीमध्ये ७ वटा संस्थानले सर्वसाधारणमा सेयर जारी गरिसकेका छन्। सञ्चालनमा रहेका तर सर्वसाधारणमा सेयर जारी नगरेका ३५ संस्थानलाई पनि पब्लिकमा सेयर जारी गर्नुपर्ने बाध्यकारी व्यवस्था बजेटमार्फत गर्न लागिएको अर्थ मन्त्रालय स्रोतले बताएको छ।
‘सरकारी स्वामित्वका सार्वजनिक संस्थानको सेयर ५० प्रतिशतभन्दा बढी सरकारी स्वामित्व रहने गरी बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न राष्ट्र बैंकबाट सुझाव आएको थियो। त्यसलाई नै बजेटमा समेट्ने अन्तिम तयारी भएको थियो,’ स्रोतले भन्यो, ‘हाल राजस्व संकलन लक्ष्यअनुरुप नभइरहेको अवस्थामा सरकारले थप वित्तीय साधन जुटाउन यस्तो गर्न खोजिएको हो।’
सर्वसाधारणमा सेयर जारी गर्न सम्बन्धित निकायले तोकेको मापदण्ड पूरा गर्न नसक्ने गरी घाटामा गएका संस्थानलाई ऋणपत्र जारी गरी वित्तीय व्यवस्था गर्न सक्ने व्यवस्था मिलाइने स्रोतको भनाइ छ।
हालसम्म सार्वजनिक संस्थानमध्ये नेपाल दूरसञ्चार, कृषि विकास बैंक, राष्ट्रिय बिमा कम्पनी, नागरिक लगानी कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट, नेपाल बैंक र विशाल बजार कम्पनीले सर्वसाधारणमा सेयर जारी गरेका छन्।