नेपाल भ्रमण वर्ष–२०२० को शुभारम्भ १ जनवरी २०२० मा काठमाडौंको दशरथ रङ्गशालामा भव्यताका साथ हुँदैछ । सोहि दिन सातै प्रदेशहरुमा पनि एक साथ ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ हुनेछ । यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेका छौं ।
म गत साउन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा आएँ । त्यसयता अधिकांश समय यही ‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीमा खर्चिए । एक सय भन्दा बढी संघ, संस्थासँग छलफल गरेका छौँ । निजी क्षेत्र, गैरसरकारी संस्थाहरु, अन्तर्राष्ट्रिय क्षेत्र, नेपालस्थित कुटनीतिक नियोग, सामाजिक क्षेत्र, स्वयमसेवी समूह–संगठनलगायतसँग हामीले छलफल गर्यौं ।
सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ घोषणा गरेको छ । तर, ती छलफलहरु २० लाख पर्यटक कसरी भित्र्याउने ? मा मात्र केन्द्रित थिएन । राष्ट्रिय एकता कायम गरेर भ्रमण वर्षलाई राष्ट्रिय उत्सवको रुपमा कसरी मनाउन सकिन्छ ? के गर्दा पर्यटनका लागि राष्ट्रिय मनोविज्ञान तयार हुन्छ ? र, हामीले पर्यटनको क्षेत्रमा राखेका दीर्घकालीन योजना र सपनाहरु कसरी पूरा गर्न सकिन्छ ? भन्ने तर्फ हाम्रो ध्यान र छलफ केन्द्रित थियो । र, अब त्यसै तर्फ केन्द्रित हुनेछ ।
हाम्रो प्रयास र प्रयत्न सिङ्गो मुलुकलाई उत्सवमय बनाउने हो । यो अभियानमा मुलुकलाई जुरुक्कै उठाएर विश्व समुदायलाई नेपाल शान्ति, स्थिरता, सुशासन र समृद्धिको बाटोमा अघि बढेको सन्देश दिनु हो । नेपाल संसारकै एक अद्वितीय पर्यटकीय गन्तव्य भनेर दुनियाँलाई थाहा दिनु हो । विश्वभरीका लगानीकर्ताहरुलाई नेपाल लगानीको लागि उपयुक्त मुलुक हो भनेर जानकारी दिनु पनि हो ।
संख्या त छँदैछ, हामीले त्यो भन्दा बढी विश्व समुदायमा नेपालको बारेमा दिइने सन्देश र देशभित्र पैदा गर्ने जागरण र सचेतनलाई प्रमुख मानेका छौं । २० लाख पर्यटक आउँदै गर्दा देशलाई के फाइदा हुनेछ ? पर्यटनमा कति गुणस्तरीयता आउने छ ? पर्यटन क्षेत्रबाट राजश्व तथा रोजगारी कति बढ्ने छ ? समग्र आर्थिक वृद्धि, प्रतिव्यक्ति आय एवं कूल गार्हस्थ उत्पादन (जीडीपी) मा कस्तो योगदान दिनेछ ? पर्यटनमा गुणस्तरीयता, बजारीकरण र ब्राण्डिङमा कस्तो परिवर्तन आउने छ ? यही प्रश्नहरुलाई केन्द्रमा राखेर हामीले अभियान चलाएका छौं ।
‘नेपाल भ्रमण वर्ष–२०२०’ को सन्दर्भमा कायम भएको राष्ट्रिय एकताले हामी उत्साही छौं । सबै क्षेत्रले यसलाई सफल बनाउन जाहेर गर्नु भएको प्रतिबद्धताले हामीमा थप उर्जा थपिएको छ । सबै राजनीतिक दलका प्रमुखहरुले पनि यसलाई राष्ट्रिय उत्सवकै रुपमा लैजानुपर्नेमा जोड दिनुभएको छ । सरकार यो अभियानको सहजकर्ता र व्यबस्थापक मात्रै हो, सिंगो देश यो अभियानको आयोजक हो ।
हामीले १८ मंसिर २०७६ मा नेपालस्थित ३१ देशका राजदूत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग मन्त्रालयमा छलफल गरेका छौं । महामहिम राजदूतहरुले साँच्चीकै नेपाल नयाँ बाटो र नयाँ क्षितिजतिर लम्किएको प्रतिक्रिया दिनुभएको छ । हामीले भनेको संख्या र सन्देश दुबैका लागि त्यो छलफल उपलब्धीमुलक ठानेका छौं ।
सरकारले ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ को शुभारम्भको दिन देशभरी दिवापली गरेर स्वागत गर्न आह्रवान गरेको छ । सबै सरकारी निकाय, नीजि क्षेत्र, गैरसरकारी क्षेत्र, विदेशस्थित कुटनीति नियोगका कार्यालहरुमा सबैले दिपावाली गर्नुहुनेछ । त्यो दिपावली, त्यो उज्यालोले हाम्रो नयाँ यात्राको संकेत गर्नेछ । अबको हाम्रो यात्रा उज्यालै उज्यालोतिर उन्मुख छ भन्ने सन्देश दिनेछ । म जनसमुदायलाई अपिल गर्न चहान्छु, त्यो दिन सबैले दिपावली गरौ । र, दुनियाँलाई भनौं, ‘अबको हाम्रो यात्रा उज्यालो तर्फ अघि बढेको छ ।’
‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीदेखि शुभारम्भको पूर्व सन्ध्यामा आइपुग्दासम्म अर्को खुशीको बिषय हो, नेपाली सञ्चार क्षेत्र र सञ्चारकर्मीहरुले महत्वपूर्ण भूमिका छ । देशलाई भ्रमण वर्षमय मनाउन साँच्चै सञ्चार क्षेत्रको पनि अभुतपूर्व एकता र सहयोग देखिएको छ ।
पर्यटनलाई नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार भनेका छौं । त्यसका लागि यो संख्या र कार्यक्रम पर्याप्त छैन । त्यसैले हामीले ‘२०२०’ लाई प्रस्थान बिन्दु मान्ने छौं । २०२० देखि २०३० लाई पर्यटन दशकको रुपमा सञ्चालन गर्ने योजनामा हामी छौं ।
‘नेपाल भ्रमर्ण वर्ष–२०२०’को शुभारम्भ सरथ रंगशालामा सम्माननीय राष्ट्रपतिज्यूबाट हुनेछ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुनेछ । शुभारम्भमा सरकारी तथा निजी क्षेत्रका सामाजिक संघ संस्थाहरुको मार्चपास रहनेछ । नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलको विशेष प्रस्तुती रहनेछ । नेपालका ख्यातीप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुती रहनेछ ।
पर्यटनलाई नेपालको अर्थतन्त्रमा प्रमुख आधार मध्येका एक बनाउने सरकारको योजना छ । पर्यटनबाट नेपालको कुल ग्राहस्थ उत्पादनमा करिब ३ प्रतिशत योगदान छ । १५ औं पञ्चबर्षिय योजना सम्पन्न हुदाँसम्म १० प्रतिशत योगदान पुर्याउने लक्ष्य छ ।
यसका लागि पर्यटन पूर्वाधार निर्माण र सेवा विस्तारमा जोड दिएका छौं । मानव संशाधनको बिकास, सांस्कृति सम्पदाहरुको बिकास, पर्यटनको अध्ययन अनुसन्धानमा जोड दिदै आएका छौं । ‘नेपाल भ्रमण वर्ष–२०२०’ सँगसँगै यी कामहरुलाई अघि लैजाने छौं ।
(भ्रमण वर्षको तयारीका सम्बन्धमा पर्यटन मन्त्री याेगेश भट्टराईले दिएको मन्तब्यको सम्पादित अंश)