काठमाडौं। सरकारले विद्युतीय गाडीमा कर बढाउने हल्ला बाहिरिएपछि बजेट भाषणको अघिल्लो दिनमा मात्रै झण्डै डेढ सय इभी बुकिङ भएका छन्।
लामो समयदेखि विद्युतीय गाडीमा कर बढ्ने हल्ला चलेपछि त्यसैको फाइदा धेरै आयातकर्ताहरुले लिएका थिए। ६ महिना अघिबाटै विद्युतीय गाडीमा वृद्धिको हल्ला चलाएर व्यापक मात्रामा गाडी बिक्री गरिएको थियो।
तर, सरकारले बजेटमार्फत करका दरमा हेरफेर गर्ने पक्का पक्की भएपछि १४ गते मात्रै २०८ गाडी बुकिङ भएको सम्बद्ध व्यापारीहरुको भनाइ छ। सबैभन्दा धेरै बिवाइडी, त्यसपछि एमजी छन्। भर्खरै बजार प्रवेश गरेकाे दिप्पलकाे पनि बुकिङ राम्राे देखिएकाे छ।
व्यवसायीका अनुसार बिवाईडी एकैदिन १०० थान गाडी बुकिङ भएको छ। त्यसैगरी, एमजी ७५ थान बुकिङ भएको छ। त्यसैगरी, दिप्पल पनि १४ गते एकै दिन १८ थान बुकिङ भएको छ।
आगामी आर्थिक वर्षको बजेट मंगलबार प्रस्तुत हुँदैछ। यसको अघिल्लो दिन सोमबार विभिन्न ब्रान्डका उक्त संख्या बराबरको गाडी बुकिङ भएका हुन्।
सरकारले विद्युतीय गाडीमा कर बढाउने हल्ला सँगै मूल्य बढ्ने त्रासमा एक दिनमै २०८ वटा विद्युतीय गाडी बुकिङ भएका हुन्। नेपालका लागि बिवाईडीको आधिकारीक वितरक साइमेक्स इंकका आशुतोष गौतमका अनुसार सोमबार बिवाईडिको करिब १०० गाडी बुकिङ भएका छन्। ‘बिवाईडीको सोमबारको बुकिङ मात्रै १०० हाराहारीमा छ। पछिल्लो चार दिनममा बिवाईडी गाडीको बुकिङ ३०० रहेको छ’ गौतमले भने।
यस्तै, अर्को अटो ब्रान्ड ओमोडाको पनि एक दर्जन बढी गाडी सोमबार मात्रै बुकिङ भएका छन्। नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सका रुपेश श्रेष्ठका अनुसार सोमबार मात्रै ओमोडाका ८ गाडी बुकिङ भएका हुन्।
अर्को अटो ब्रान्ड नेटाको पनि सोमबार करिब आधा दर्जन बढी गाडी बुकिङ भएका छन्। नेपालका लागि नेटाको आधिकारीक वितरक सिजि मोटर्सका सुरेन्द्रबहादुर साहीका अनुसार सोमबार ७ वटा गाडी बुकिङ भएका छन्।