काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट आज दिउँसो ल्याउने भएको छ।
संसदको अवरोध जारी रहेको बेला आज बजेट वक्तव्यका लागि दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको छ।
अर्थमन्त्री बर्षमान पुनले अपराह्न १ बजेदेखि संसदमा बजेट भाषण गर्ने तालिका तय गरिएको छ।
पुन २०८० फागुन २३ गते दोस्रो पटक अर्थमन्त्रीमा नियुक्त भएका थिए। उनले ल्याउने यो बजेट पहिलो हो। यसअघि २०६८ भदौ १८ गते अर्थमन्त्री नियुक्त भएर करिव १८ महिना (२०६९ चैत १) सम्म अर्थमन्त्रालयको बागडोर सम्हाले पनि बजेट भने ल्याउन पाएका थिएनन्।
अर्थतन्त्रको बाह्य क्षेत्र मजबुत भए पनि आन्तरिक अर्थतन्त्र सिथिल प्राय छ। यस्तो अवस्थामा अर्थशास्त्रीहरू र विकास विज्ञहरूले ठूलो आकारको बजेट ल्याउन नहुने बताइरहे पनि अर्थमन्त्री पुनले भने माओवादी लडाकुलाई सम्बोधन गर्नुपर्ने, प्रधानमन्त्रीले थपेका कार्यक्रमलाई बजेट छुट्याउनु पर्ने, एमालेको दवाव सामना गर्नुपर्ने र रास्वपाको मागसमेत पूर्ति गर्नुपर्ने भन्दै चालु वर्षको भन्दा डेढ खर्ब बढीको बजेट ल्याउनु पर्ने बाध्यता भएको बताउँदै आएका छन्।
तर, स्रोत भने खुम्चिँदो छ। राजश्व वृद्धिदर बढ्न सकेको छैन। वैदेशिक अनुदान न्यूनमात्र आउने गरेको छ। र, अपेक्षित मात्रामा बाह्य ऋण पनि आउने अवस्था छैन। तोकिए अनुरुप आन्तरिक ऋण उठाएर सरकारले चालु खर्च गर्नुपर्ने बाध्यता छ। विकास निर्माण र वित्तीय व्यवस्थाका लागि थप ऋण खोज्दै हिँड्नु पर्ने बाध्यतामा सरकार छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको संसदीय छानबिनको माग गर्दै संसद अवरोध गरिरहेकाले संसदमा बजेट कसरी प्रस्तुत हुन्छ भन्ने स्पष्ट रहेको छैन। तर, सहकारी प्रकरण छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेशमा दलहरू सहमति नजिक पुगेकाले आजको संसद बैठक सौहाद्रपूर्ण वातावरणमा सञ्चालन हुने सत्तापक्षीय नेताहरूले बताएका छन्।
अर्थ मन्त्रालय स्रोतका अनुसार साढे १९ खर्ब हाराहारीको बजेट आउने छ।