काठमाडौं । राष्ट्रिय योजना आयोगअन्तर्गतको स्रोत समितिले आर्थिक वर्ष २०८१/०८२ को बजेट सिलिङ (बजेट सीमा) बढाएको छ। सोमबार बेलुकी ४ देखि ७ बजेसम्म चलेको बैठकले सिलिङ बढाएको हो।
यसअघि २०८० माघ २९ मा बसेको समिति बैठकले १८ खर्बको सीमा तोकेको थियो। तर, सोमबार साँझ बसेको बैठकले १ खर्बभन्दा बढी बजेट बढाएको आयोगका एक उच्च अधिकारीले बताए।
स्रोत समिति बैठकमा योजना आयोगका उपाध्यक्ष एवं समितिका अध्यक्ष मीनबहादुर श्रेष्ठसहित राष्ट्र बैंकका गभर्नर, योजना आयोका सचिव, अर्थ मन्त्रालयका सचिव र समितिका अन्य सदस्य उपस्थित थिए।
राजस्व संकलन ३० प्रतिशत बढ्ने, वैदेशिक रिण बाढाउने, अनुदान करिब १५ अर्ब बढेको, आन्तरिक ऋण कुल गार्हस्थ उत्पादन (जिडीपी)को साढे ५ प्रतिशतसम्म लिन मिल्नेलगायत व्यवस्था एवं कारणबाट सिलिङ बढाएको ती अधिकारीको भनाइ छ। योजना आयोगको गतवर्षको मध्यकालीन खर्च संरचनाअनुसार पनि आगामी आवको बजेट १९ खर्ब ४९ अर्बभन्दा बढी बनाउन मिल्दैन।
'माघमा तोकिएको भन्दा १ खर्ब बढी बढाएका छौं, अंक भोलि अर्थमन्त्रीले सार्वजनिक गर्नु हुन्छ,' ती अधिकारी भन्छन्, 'हाम्रो गतवर्षको मध्यकालीन खर्च संरचनाअनुसार १९ खर्ब ४९ अर्बभन्दा बढीको बजेट ल्याउन मिल्दैन त्यसैभित्र रहेर बजेट आउँछ।'
स्रोत समितिले आज तय गरेको सिलिङ मंगलबार बिहान १० बजे बस्ने मन्त्रिपरिषद बैठकले पास गर्ने र राष्ट्रपतिलाई जानकारी दिने कार्यतालिका छ। मन्त्रिपरिषदबाट पास गरेर राष्ट्रपतिलाई जानकारी गराइसकेपछि अर्थमन्त्री वर्षमान पुनले संसदमा १ बजे बजेट भाषण गर्नेछन्।