काठमाडौं। नेपाल राष्ट्र बैंकले पाँच महिनायता गैरकानुनी रुपमा नगद विदेशी मुद्रा स्थानान्तरण कार्य गरिरहेको भेटिएको छ।
राष्ट्र बैंकले गत माघ १५ देखि सिंगापुरको कमर्स इन्टरनेसनल मर्चेन्ट बैंकसँग मिलेर गैरकानुनी रुपमा बैंक नोट खरिद गरेको महालेखा परीक्षक कार्यालयको ६१औं वार्षिक प्रतिवेदनले औल्याएको हो।
नगद विदेशी मुद्रा स्थानान्तरणसम्बन्धी कार्यविधि, २०७७ को बुँदा ३ (१) मा बैंकमा जम्मा नगद विदेशी मुद्रालाई एजेन्सी बैंकमा खातामा जम्मा गर्ने प्रयोजनका लागि प्रतिस्पर्धाद्वारा एजेन्ट बैंक छनोट गरिने र प्रतिस्पधाद्वारा एजेन्ट छनोट नभएसम्म साबिक एजेन्ट बैंकसँगको सम्झौता अवधिसम्म सेवा लिन सकिने व्यवस्था छ।
सिंगापुरको बेरहाडमा स्थित कमर्स इन्टरनेसनल मर्चेन्ट बैंकसँग राष्ट्र बैंकल बैंक नोट खरिद गर्न २०१९ जनवरी २८ मा ५ वर्षका लागि नोट खरिद सम्झौता गरेको थियो। उक्त सेवा प्रदायकले बैंक नोट खरिद कमिसनको दरमा पटक पटक संशोधन गरेको र सोही दर राष्ट्र बैंकले स्वीकार्दै आएको छ।
तर, सम्झौतामा कमर्स इन्टरनेसनल मर्चेन्ट बैंक र राष्ट्र बैंकबीच संशोधित दरका विषयमा अन्य व्यवस्था नभएको महालेखाले उल्लेख गरेको छ।
राष्ट्र बैंक र कमर्स इन्टरनेसनल मर्चेन्ट बैंकबीच सम्झौता भएको पाँच वर्षको अवधि २०२४ जनवरी २८ तारिख (२०८० माघ १४) मै पूरा भइसकेको छ।
सम्झौता अवधि समाप्त भइसक्दा पनि प्रतिस्पर्धात्मक प्रक्रियाबाट नयाँ एजेन्सी बैंकको चयन नभएकोले विदेशी मुद्रा बिक्री गर्न एजेन्सी बैंक नियुक्ति उक्त कार्यविधिबमोजिम प्रतिस्पर्धात्मक प्रक्रियाबाट हुनुपर्ने महालेखा प्रतिवेदनले औंल्याएको छ।