काठमाडौं। पाँचौं एक्का राष्ट्रिय विद्यालय क्लब सम्मेलन सम्पन्न भएको छ। देशका ९ जिल्लाका विद्यालय क्लबका विद्यार्थी काभ्रेको धुलिखेलमा जम्मा भएर वातावरण सुधारका लागि दिर्घकालिन योजना तयार पार्दै पाँचौ एक्का सम्मेलन सम्पन्न भएको हो।
वातावरण संरक्षण शिविर (एक्का नेपाल) ले जेठ ८ देखि ११ सम्म ‘अबको भविष्य, दिगो विकासको लागी शिक्षा’ भन्ने विषय वस्तुमा केन्द्रित भई पाँचौं एक्का राष्ट्रिय विद्यालय क्लब सम्मेलन आयोजना गरेको थियो।
विद्यालय क्लबबीचमा विद्यालय क्लबका गतिविधिहरूको जानकारी आदान प्रदान गर्नु, विद्यालय क्लबको दिगोपना र आत्मनिर्भरता बढाउनु तथा जलवायु परिवर्तन, बालबालिकाको अधिकार, विद्यालयको वातावरण, पानी, स्वास्थ्य, सरसफाई सम्बन्धी ज्ञान प्रदान गर्नु र सामुदायिक विकासका प्रयासमा बालबालिकाको सहभागितालाई बढावा दिनु मुख्य उद्देश्य रहेको एक्का नेपालका कार्यकारी निर्देशक योगेन्द्र चित्रकारको भनाइ छ।
सम्मेलनमा विद्यालय क्लबको ‘मेरो क्लब र यसको दिगोपन’ शीर्षकमा प्रस्तुतीकरणमा विज्ञद्वारा विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र शिक्षकका लागि विषयगत सञ्चालन गरिएका थिए। यस्तै, विज्ञान प्रविधि तथा गणितमा आधारित ग्लोब कार्यक्रम र ज्ञान बजार कार्यक्रम सञ्चालन गरिएको थियो।
ज्ञान बजारको उत्कृष्ट ६ प्रस्तावनालाई प्रतिविद्यालय नगद २५÷२५ हजार रुपैयाँ प्रदान गरिएको छ।
उत्कृष्ट प्रस्तावना बनाउनेमा हरि आधारभूत विद्यालय झापाले ‘वातावरण संरक्षणसम्बन्धी सचेतना कार्यक्रम’, थानी आधारभूत विद्यालय धनकुटा ‘जडीबुटी बंगैचा र विश्राम स्थल निर्माण’, गणेश माध्यमिक विद्यालय चितवन ‘विद्यालय तथा सामुदायिक सरसफाइ कार्यक्रम’, कान्देश्वरी आधारभूत विद्यालय चितवन ‘विद्यालय बंगैचा र दैनिक सरसफाइ कार्यक्रम’ र विलियम पब्लिक स्कुल ललितपुर ‘शून्य प्लास्टिक पहल (इको–ईट्टा)’ र महेन्द्र माध्यमिक विद्यालय काभ्रेले ‘फोहोर व्यवस्थापन र कम्पोस्ट मलको उत्पादन’ सम्बन्धी प्रस्तावना बनाएका थिए।
यस्तै, प्लास्टिकबाट हुने प्रदूषण र व्यवस्थापनमा विद्यालय क्लबको भूमिकाबारे चित्रकला र मेरो विद्यालय क्लब उत्कृष्ट र क्रियाशील छ किनभने भन्ने शीर्षकमा भिडियो प्रतियोगिता गरिएको थियो। विजेतालाई पनि पुरस्कार दिइएको छ।
सम्मेलनले विज्ञान, प्रविधि ,शिक्षा र गणित शिक्षा र भावनात्मक बौद्धिकतालाई विद्यालयमा शिक्षण सिकाइ प्रक्रियामा जोडिने, वातावरण र वन्यजन्तु संरक्षणमा स्थानीय सम्पदा संरक्षण र स्थानीय ज्ञानको पूर्ण उपयोग गरिने, समावेशी र अपांगतामैत्री विद्यालय वातावरणका लागि प्रयास गरिने, विद्यालयले सुरक्षित पिउने पानीसँगै ल्यान्डफिलमा जाने फोहोरलाई कम गर्न फोहोर व्यवस्थापन कार्यक्रमलाई प्रवद्र्धन गर्ने र सकारात्मक सिकाइ वातावरण सिर्जना गर्न विद्यालय क्लबहरुलाइृ समर्थन र सशक्त गरिने निष्कर्ष निकालेको वरिष्ठ कार्यक्रम अधिकृत विपिन श्रेष्ठको भनाइ छ।
सम्मेलनमा काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, दोलखा, चितवन, रुपन्देही, धनकुटा, झापा र मोरङबाट विद्यार्थी सहभागी थिए। सम्मेलनमा अन्तर्राष्ट्रिय स्तरबाट थाइल्यान्ड र ताइवानबाट समेत गरी विद्यालय क्लबका सदस्य १४७ जना सहभागी थिए। विद्यालय व्यवस्थापन समितिका सदस्य र शिक्षकको समेत सहभागिता थियो।
त्यसका अतिरिक्त आयोजकका तर्फबाट २६ जना, आईयुसीएन, युनेस्को, जर्मन नेपाल सहयोग संस्था, फिनल्यान्ड दुतावास, लुम्बिनी बौद्ध विश्वविद्यालय, रोटरी क्लब, र अन्य संस्थाका प्रतिनिधिको सहभागिता थियो।
सम्मेलन उद्घाटन बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले गरेका थिए। सम्मेलनमा सहभागीलाई वृत्तचित्र प्रदर्शन, साँस्कृतिक प्रदर्शन, वातावरणीय खेल, योग तथा ध्यान सत्र, इसिमोड पर्यावरण पार्क र चिडियाखानासँगै भक्तपुर विश्व सम्पदास्थल अवलोकन गराइएको थियो।