काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले डिजिटल प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्तालाई निर्देशन दिएका छन्।
बीमा प्राधिकरणद्वारा पेशागत बीमा अभिकर्ता संगसँग बीमा सम्बन्धी समसामयिक विषयमा आइतबार काठमाडौंमा आयोजना गरेको छलफल एवम् अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा अभिकर्ताको डिजिटल पाटोबाट क्षमता अभिवृद्धिमा सहयोग गर्न तयार रहेको बताए।
'संसारमै डिजिटलाइजेसन तीब्र गतिमा अघि बढिरहेको छ। नवीनतम् प्रविधिलाई अवलम्बन गर्नैपर्छ, पेसागत बीमा अभिकर्ता संघलाई डिजिटल पाटोबाट सहयोग गर्न प्राधिकरण तयार छ। संघले आफ्ना सदस्यलाई डिजिटल प्रविधिका बारेमा सिकाउनुपर्छ। आचारसंहिता पालना गर्न लगाउनुपर्छ। अभिकर्तालाई बलियो बनाउन संघले नेतृत्व लिनुपर्छ,' उनले भने।
बीमामार्फत प्रत्येक व्यक्तिको आर्थिक सुरक्षण, बीमितको हित र बीमा व्यवसायको विश्वसनीयता अभिवृद्धिका लागि सामूहिकरूपमा लाग्नुपर्ने उल्लेख गर्दै अध्यक्ष सिलवालले बीमा ऐन, नियम, निर्देशिका र मार्गदर्शनको सबैले पालना गर्नुपर्ने बताए। 'सबैले आआफ्नो जिम्मेवारी अनुसार काम गर्नुपर्छ। बीमितको हितलाई ध्यान दिनुपर्छ। राम्रोलाई राम्रो, खराबलाई खराब भन्न सक्नुपर्छ। अभिकर्तालाई कसैले विस्थापित गर्दैन। काम नगरे आफैँ विस्थापित हुन्छन्,' उनले भने।
अध्यक्ष सिलवालले बीमा अभिकर्तालाई आइपर्ने समस्या छलफलबाट समाधान गर्न प्राधिकरण खुला रहेको उल्लेख गर्दै बीमा सम्बन्धी काम कारबाहीका सम्बन्धमा सुझाव दिन बीमा अभिकर्तालाई आग्रह गरे।
बीमा प्राधिकरण, सञ्चालक समितिका सदस्य कपिल देव ओलीले बीमा ऐन, नियम तथा निर्देशिका र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा समग्र बीमा क्षेत्रलाई अगाडि बढाउन सम्बद्ध सबै लाग्नुपर्ने बताए।
बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले बीमा अभिकर्ता सम्बन्धी कानुनी व्यवस्था, अनलाइन परीक्षा प्रणाली, बीमालेख बिक्री गर्दा देखिएका समस्यालगायतका विषयमा प्रस्तुत गरे।
बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा व्यवसायको प्रवर्द्धन र बीमाप्रतिको विश्वसनीय अभिवृद्धिमा बीमा अभिकर्ताको भूमिका महत्त्वपूर्ण रहँदैआएको बताए।
नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल (अधिकारी)ले प्राधिकरणले जारी गरेको डिजिटल बीमालेख निर्देशन बीमा अभिकर्तालाई अप्ठ्यारो पार्न नभई अभिकर्तालाई विश्वसनीय बनाउन, बीमा प्रक्रियालाई सरल बनाउन र बीमाको पहुँच बढाउन भएको स्पष्ट पारे।
कार्यक्रममा नेपाल जीवन बीमक संघका अध्यक्ष पोषक पौडेल र पेसागत बीमा अभिकर्ता संघका महासचिव ओम केसीले बीमा अभिकर्ताका काम, विद्यमान समस्या र समाधानका उपायलगायत विषयमा छुट्टाछुट्टै प्रस्तुति दिएका थिए।
बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले सञ्चालन गरेको कार्यक्रममा जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र पेसागत बीमा अभिकर्ता संघका पदाधिकारीको सहभागिता रहेको थियो।