काठमाडौं । सरकारले पौने ४ खर्ब रुपैयाँ सेयरमा लगानी गर्दा २७ अर्ब रुपैयाँ लाभांश बुझेको छ। गत आर्थिक वर्षमा सरकारले विभिन्न क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाको सेयरमा गरेको लगानी वापत् २७ अर्ब ३८ करोड रुपैयाँ प्रतिफल बुझेको हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट प्राप्त विवरणअनुसार सरकारले ११८ स्वदेशी तथा अन्तर्राष्ट्रिय संस्थाको सेयरमा ३ खर्ब ८६ अर्ब ७ करोड २८ लाख रुपैयाँ लगानी गरेको छ। सरकारले सेवा क्षेत्र, जनोपयोगी क्षेत्र र वित्तीय क्षेत्रको लगानीबाटमात्रै लाभांश बुझेको हो।
सरकारले गरेको कूल सेयर लगानीमध्ये १ खर्ब ३६ अर्ब ५३ करोड रुपैयाँको मात्रै प्रतिफल प्राप्त गरेको छ भने बाँकी २ खर्ब ४९ अर्ब ५३ करोड ७७ लाख रुपैयाँ सेयर लगानी प्रतिफल सून्य रहेको महालेखाको प्रतिवेदनले देखाएको छ।
सरकारले गरेको सेयर लगानीमा सेवा क्षेत्रका ९ मध्ये नेपाल दूरसञ्चार प्राधिकरणबाट ५ अर्ब ५१ करोड ८७ लाख, नेपाल नागरिक उड्ययन प्राधिकरणबाट ५८ करोड ४४ लाख, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडबाट १ करोड ८९ लाखसमेत ४ संस्थाबाट ६ अर्ब १२ करोड २० लाख रुपैयाँ लाभांश बुझेको हो।
साथै, सरकारले जनउपयोगी क्षेत्रका ५ मध्ये नेपाल टेलिकमबाट ६ अर्ब ५८ करोड ७७ लाख र बुटवल पावर कम्पनीबाट १ करोड ८१ लाख समेत ६ अर्ब ६० करोड ५८ लाख नगद लाभांश सरकारले प्राप्त गरेको छ।
यसै गरी वित्तीय क्षेत्रका ९ मध्ये कृषि विकास बैंकबाट १ अर्ब ६ करोड ५८ लाख, राष्ट्रिय वाणिज्य बैंकबाट १ अर्ब ४ करोड ५२ लाख, नेपाल बैंकबाट ७३ करोड २७ लाख, नेपाल स्टक एक्सचेञ्जबाट ५८ करोड ६६ लाख, नेपाल इन्फ्रास्टक्चर बैंकबाट ८ करोड ६४ लाखसमेत ८ संस्थाबाट ३ अर्ब ५८ करोड २९ लाख र नेपाल राष्ट्र बैंकबाट ११ अर्ब ७ करोड गरी जम्मा २७ अर्ब ३८ करोड ७ लाख रुपैयाँ नगद लाभांश सरकारलाई प्राप्त भएको छ।
यी बाहेक १०३ संस्थामा लगानी गरेको २ खर्ब ४९ अर्ब ५३ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर लगानीबाट सरकारले कुनै प्रतिफल प्राप्त गरेको छैन। सरकारलाई लगानी प्रतिफल नै दिन नसक्ने संस्था सञ्चालन व्यवस्थापनमा दक्षता ल्याउनुपर्ने महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदनले औंल्याएको छ।