काठमाडौं। कम्युनिटी होमस्टे नेटवर्क (सीएचएन) ले नेपाल पर्यटन बोर्ड, यूएसएड ‘ट्रेड एन्ड कम्पीटिटिभनेस’लगायत नेपालको अद्वितीय सामुदायिक पर्यटन उपज तथा ‘इमर्सिभ एक्सपोजर ट्रिप्स’ यात्रा अनुभव लक्षित कम्युनिटी कनेक्ट कार्यक्रम सम्पन्न भएको छ।
अस्ट्रेलिया सरकारको सहयोगमा इसिमोडद्वारा कार्यान्वयन गरिएको परियोजना ‘हाइग्रीड’ र विभिन्न स्थानीय सरकार तथा सामुदायिक साझेदार संघ–संस्थाको सहयोगमा ३० विशिष्ट व्यक्तित्व सहभागी कम्युनिटी कनेक्ट कार्यक्रम १६ देखि २६ तारिखसम्म सञ्चालन गरिएको हो।
कार्यक्रममा अन्तर्राष्ट्रिय सञ्चारकर्मी, फोटोग्राफर, दिगो तथा सामुदायिक पर्यटन अभियन्ता, बिटुबी ट्राभल कम्पनी तथा गन्तव्य व्यवस्थापन कम्पनीका प्रतिनिधि सहभागी थिए।
स्थानीय समुदायको सशक्तीकरण गर्ने, दिगो तथा जिम्मेवार पर्यटन अभ्यासलाई बढावा दिने र प्राकृतिक तथा सांस्कृतिक सम्पदा संरक्षणमा सहयोग पुर्याउने उद्देश्यसहित आमन्त्रित सहभागीलाई नेपालको विभिन्न क्षेत्रमा उपलब्ध चार वटा इमर्सिभ एक्सपोजर ट्रिप्ससहित मे २६ मा काठमाडौंमा कम्युनिटी कनेक्ट समापन भएको हो।
एक्सपोजर ट्रिप्सका लागि सहभागीलाई विभिन्न चार गन्तव्यमा सामुदायिक पर्यटन अनुभव दिने गरी यात्रा कार्ययोजना बनाइएको थियो।
यात्रा १ः ‘बियोन्ड द अर्डिनरी’
(मे १८देखि–२४सम्म) सहभागीले काठमाडौं वरपरको समृद्ध संस्कृति, प्रकृति र अर्थपूर्ण सामुदायिक सम्बन्ध अनुभव गरे। पहिलो दिन उनीहरु हरियो जंगल, झरना र मनोरम दृश्यले घेरिएको नगरकोट सामुदायिक होमस्टेमा बास बसे। त्यहाँ उनीहरूले स्थानीय प्रशिक्षक तथा अनुयायीसँग हथयोगा अभ्यास गरे र जाल्पादेवी मन्दिरसम्म पैदल यात्रा गरे।
नगरकोटबाट नालासम्मको पदयात्राले उनीहरुलाई नमोबुद्धसम्म लगियो, जहाँ उनीहरूले यस क्षेत्रको आध्यात्मिक र प्राकृतिक सौन्दर्यको आनन्द उठाए। पनौतीसम्म साइकल चढेर यात्रा जारी रह्यो, जहाँ एक स्थानीय गाइडले उनीहरूलाई सहरका पवित्र तीर्थस्थलबारे परिचय गराए। पनौती सामुदायिक होमस्टेमा सहभागीले स्थानीय पहिरनमा सजिएर आफ्ना पाहुनासँग परम्परागत नेवारी खाना पकाए।
काठमाडौं फर्किएपछि उनीहरु रञ्जना लिपी सिक्न, परम्परागत नेवारी खाना र पेयपदार्थको मजा लिन र ऐतिहासिक सहरका गल्ली–गल्ली र सम्पदाहरू हेर्न कीर्तिपुरमा रोकिए। यो भ्रमण नेपाली जीवन, सांस्कृतिक विसर्जन र स्थानीय समुदायसँगको दिगो सम्बन्धको गहिरो बुझाइ बुझाउन सहयोगी सावित भएको आयोजकको दाबी छ।
सहभागीलाई माटोका भाँडा र रञ्जना लिपिजस्ता परम्परागत शिल्प अनुभव गर्न आफ्नो घर खुला गरेकामा ठिमी र कीर्तिपुरका स्थानीय समुदायका सदस्यलाई आयोजकले धन्यवाद दिए।
यात्रा २ः ‘ट ट्रेसेस अफ तराई एन्ड इट्स थारु हेरिटेज’
(मे १६देखि –२४ सम्म) सहभागीले समुदायमा भिजेर पश्चिम नेपालको विशेष थारु संस्कृति अवलोकन गरे, जुन आफ्नो लाठी नृत्य र खानाका लागि प्रख्यात छ। तराईको ग्रामीण भादा सामुदायिक होमस्टेमा उनीहरुले बहेडा बाबा मन्दिर, घोडाघोडी तालको अवलोकन, स्थानीय जीवनशैलीको रमाइलो गर्दै विस्तारै यात्रा गर्नुका साथै रंगीन थारु नृत्य प्रस्तुतिको आनन्द लिए।
बर्दिया राष्ट्रिय निकुञ्जमा, उनीहरूले ओपन–टप जीप सफारी र स्थानीय गाइडसँग चरा अवलोकनको माध्यमबाट समृद्ध वन्यजन्तु अनुभव गर्दै स्थानीय कसरी प्रकृतिसँग मिलेर बस्छन् भन्ने अनुभव बटुले। स्थानीय गाइड÷वन संरक्षकले प्रकृतिसँगको आफ्नो विशेष सम्बन्ध रहेको र डल्ला सामुदायिक होमस्टेका थारुसँग कसरी तिनको जीवन र जंगलको संरक्षण वर्षौंदेखि एकअर्कामा सहजीवनसरह गाँसिएको छ भन्ने कुरा थाहा पाए।
त्यसैगरी शिव सामुदायिक वनका युवा अगुवाले वनको हेरचाह र चोरी सिकारविरुद्ध लड्न सामुदायिक पर्यटनमार्फत सुरु गरेको कार्यबारे सहभागीलाई जानकारी गराए। सहभागीले वन्यजन्तुसँग स्थानीय जीवन कसरी गाँसिएको छ भन्ने बुझ्दै जंगलमा हिँड्ने मौका पाए।
बुद्ध जयन्तीका दिन सहभागीले बरौलीको यात्रा गर्नुअघि भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणसँगै नजिकैका स्मारक र स्तूपा अवलोकन गरेका थिए। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र नारायणी नदीको छेउमा रहेको बरौली सामुदायिक होमस्टेमा उनीहरूले खोलाको छेउमा चिया र खाजासहित गाउँको अवलोकन र शान्त सूर्यास्त दृश्यावलोकनको आनन्द उठाए।
यात्रा अवधिमा उनीहरूले विभिन्न क्षेत्रका थारु समुदायका छुट्टाछुट्टै तर समान परम्परा अवलोकन गर्दै स्थानीयसँग नजिकबाट बसेर उनीहरूको संस्कृति र जीवनशैलीको मौलिक एवं पृथक् बुझाइ हासिल गरेका थिए।
यात्रा ३ः अन्नपूर्ण कम्युनिटी ट्रेक
(मे १६देखि –२४ सम्म) सहभागीले अन्नपूर्ण सामुदायिक पदयात्रामा अनौठो र रमाइलो यात्राको आनन्द लिन पाएका थिए र आश्चर्यजनक हिमाली क्षेत्रमा गाउँको जीवनको घनिष्ट झलक प्राप्त गरेका थिए। मोहरे हिल (३,३०० मिटर) मा अन्नपूर्ण, धौलागिरी र माछापुच्छ्रे जस्ता चुचुराहरूको मनोरम दृश्यहरूले मन्त्रमुग्ध भए।
यो पदयात्रा आफ्नो मौलिक एवं निर्मल प्रकृतिको काखमा अन्य पदयात्रीसँगको दुर्लभ भेट तथा स्थानीय किसान, चौंरी गोठाला र गाउँलेसँग अनेकन अन्तरक्रियाका लागि परिचित बन्यो। नारच्याङ सामुदायिक होमस्टेमा उनीहरुलाई पर्यटकभन्दा पनि पाहुनाको रूपमा न्यानो स्वागत गरिएको थियो।
त्यहाँ पाहुनासँग मिलेर खाना पकाएर साँस्कृतिक आदानप्रदानलाई बढावा दिइएको थियो। नेपालको परम्परागत पर्यटन मोडेल अन्नपूर्ण सर्किट ट्रेलमा रहेको तातोपानीजस्ता लोकप्रिय गन्तव्यमा केन्द्रित छ।
स्थापित गन्तव्य नजिकै रहेका क्षेत्रहरुलाई वैकल्पिक गन्तव्यका रुपमा विकास गरे यात्रुलाई समृद्ध समुदाय–आधारित अनुभव प्रदान गर्दै केही अधिक भीडभाड भएका पर्यटन गन्तव्यको वातावरणीय बोझ व्यवस्थापन गर्न सकिन्छ।
स्थानीय समुदायको सहकार्यमा, सामुदायिक होमस्टे नेटवर्कले २०१९ मा नारच्याङलाई गन्तव्यको रूपमा प्रस्ताव गर्न थाल्यो। सामुदायिक पदयात्राले हिमालयको प्राकृतिक सौन्दर्य, भिरालो खेतबारी र लालीगुँरासले ढकमक्क वनको सौन्दर्य प्रस्तुत गर्दै स्थानीय समूहको समृद्ध संस्कृति र परम्परामा यात्रुलाई आकर्षण गर्दै आएको छ।
यात्रा ४: ‘द रोड्स लेस टेकन’
(मे १७ देखि –२४ सम्म) सहभागीले पूर्वी नेपालको मौलिक प्रकृति र अनुपम सांस्कृतिक अनुभवको आनन्द लिए। धनकुटामा, उनीहरूले अचम्मको प्राकृतिक सौन्दर्यको प्रशंसा गरे। युवा समूह कोप्चे पुनर्जागरण अभियानको नेतृत्वमा नेवारी संस्कृतिलाई उजागर गर्दै पुरानो सहरको पैदल यात्राको आनन्द उठाए।
धनकुटाको सिप्टिङमा रहेको पहिलो सामुदायिक होमस्टेमा आठपहरिया समुदायको संस्कृति र उनीहरुको न्यानो आतिथ्य अनुभव गर्नुका साथै खम्बेलामा संस्कृति तथा खानपिन अनुभव गरे।
धनकुटाले जलवायु परिवर्तन र आर्थिक स्थिरताबाट गम्भीर चुनौती सामना गरिरहेको छ, जसले कृषि र महिला र आदिवासी आठपहरियाजस्ता सीमान्तीकृत समुदायको जीविकोपार्जनलाई पनि असर गर्दछ। धनकुटा नगरपालिका, छथर जोरपाटी गाउँपालिका, सामुदायिक होमस्टे नेटवर्क, स्मार्ट पानी र हुसाडेकको सहकार्यमा कार्यान्वयनमा आएको इसिमोडको हाइग्रिड परियोजनाले जिम्मेवार पर्यटन आत्मसाथ गर्दै पाइलट प्रोजेक्टमार्फत यी समस्यालाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ।
यसको उद्देश्य सामुदायिक होमस्टे, फार्म स्टे, प्रयोगात्मक पर्यटन गतिविधि, जलस्रोत संरक्षण र तिनको प्रभावकारी उपयोग, दिगो खेती, सांस्कृतिक सम्पदा र फोहोर व्यवस्थापनलगायत बहुविधि गतिविधिमार्फत जिम्मेवार पर्यटन विकासलाई प्रवर्द्धन गर्ने हो।
बलियो सहकार्यात्मक मोडेलको साथ, परियोजनाले आर्थिक अवसरहरू सिर्जना गर्ने र आठपहरियाजस्ता महिला र सीमान्तकृत समुदायको जीवनमा सुधार गर्ने लक्ष्य राखेको छ। यी प्रयासलाई साक्षी दिँदै सहभागीले आठपहरिया समुदायको अद्वितीय संस्कृति र परम्पराको प्रशंसा गर्नुका साथै जलवायु अनुकूल पानी स्मार्ट समाधान एवं सावधानीपूर्वक क्युरेट गरिएका जिम्मेवार पर्यटन उत्पादन र अनुभवको स्थापनाको पनि प्रशंसा गरे।
जनकपुरमा उनीहरुले प्राचीन जानकी मन्दिरको भ्रमण गरी मिथिला कलाबारे महिला सशक्तीकरण र मिथिला संस्कृति प्रवर्द्धन गर्ने स्थानीय पहलका रुपमा रहेको मिथिला नारी हस्तकलासँग अन्तरक्रिया गरेका थिए।
पनौती सामुदायिक होमस्टेले घरबास, बाइक टुर र परम्परागत खाना पकाउने माध्यमबाट महिला सशक्तीकरण र नेवारी संस्कृतिमा रमाइलो अनुभव प्रदान गरेको थियो।
कीर्तिपुरको बसाइले सहभागीलाई ऐतिहासिक खजाना पत्ता लगाउन, रञ्जनालिपि सिक्न र परम्परागत नेवारी खानाको स्वाद चखाएको थियो। एक्सपोजर ट्रिप्सपछि मे २६ मा आयोजित समापन कार्यक्रममा करिब दुई सय स्थानीय समुदाय तथा पर्यटन सरोकारवालाले सहभागिता जनाएका थिए।
कम्युनिटी होमस्टे नेटवर्क दिगो र सामाजिक रुपमा जिम्मेवार पर्यटन विकास गर्न स्थापित प्लेटफर्म हो, जसले समुदायमा आधारित होमस्टेलाई एकबद्ध गराई विश्वव्यापी यात्रीसँग सम्पर्क सञ्जाल स्थापित गरी नेपालभर दिगो, मौलिक तथा इमर्सिभ र जीवन्त अनुभव उपलब्ध गराउन अभिप्रेरित गर्छ।