काठमाडौं। काठमाडौं महानगरपालिकाले सडक विभाग र सडक डिभिजन कार्यालय काठमाडौंको गेटमा शनिबार टिप्परमा फोहोरसहितको धुलो फालेपछि दुवै कार्यालयले असन्तुष्टि जनाएका छन्।
डिभिजन कार्यालयले शनिबार साँझ नै विज्ञप्ति जारी गरेर आफ्नो कार्यालयसँग असम्बन्धित विषयमा फोहोरसहितको धुलो फालेको सह्य नहुने जनाएको थियो।
सडक विभागले आइतबार विज्ञप्ति जारी गर्दै महानगरको मेयर जस्तो व्यक्तिबाट विभागको मुलद्धारमा फोहोर थुपार्ने कार्यलाई महत्व दिइ सामाजिक सञ्जालमा सार्वजनिक गर्नुलाई अमर्यादित भनेको छ।
‘फोहर थुपार्ने कार्यलाई फेसबुक पेजमा महत्व दिई ‘स्टेटस’ लेख्ने जस्ता अमर्यादित र सार्वजनिक हित प्रतिकुल हुने क्रियाकलाप महानगरबाट हुन्छ भनेर सडक विभागले अपेक्षा गर्न सक्ने विषय नरहेको र भविष्यमा समेत नहुने अपेक्षा गरेको छ’ विज्ञप्तिमा भनिएको छ।
यद्यपि महानगर प्रमुखबाट उठान गरेका विषयले सडक विभागले सकारात्मक सुझावको रुपमा लिएको जनाएको छ। तर, सबैको जनप्रतिनिधिको रुपमा महानगर प्रमुखको हैसियतमा यस्ता प्रकृतिका अस्वाभाविक गतिविधिले समाजमा गलत प्रवृत्ति बढ्दै जानेतर्फ सबै सजग हुन सडक विभागले अनुरोध गरेको छ।
महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ले कलंकी–महाराजगंज (चक्रपथ विस्तार) सडक खण्ड १५ वर्षदेखि अलपत्र भएको र सर्वसाधारणले धुलोबाट कष्ट पाएको भन्दै डिभिजन कार्यालय र विभागको गेटमा टिपरबाट फोहोरसहितको धुलो पुर्याएका छन्। साथै सडक मर्मत नभएसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई दैनिक १ टिपर धुलो उपहार स्वरुप पठाउने पनि मेयरले सामाजिक सञ्जालमार्फत् घोषणा गरेका छन्।
तर, सडक विभागले भने उक्त सडक खण्डको अवस्थाको बारेमा महानगर र विभाग बीच पटक–पटक संवाद, सहयोग र सहकार्य भई आएको दाबी गरेको छ।
विभागका अनुसार सो खण्डलाई ८ लेनमा अनुदान सहयोगबाट विस्तार गर्न सन् २०२४ मार्च २० चिनियाँ पक्षबाट ‘एक्सचेन्ज नोट’ प्राप्त भइ अर्थ मन्त्रालय र चिनियाँ पक्ष बीच हस्ताक्षर गर्ने गरी तयारी भइरहेको छ। साथै सर्भिस ट्रयाक निर्माणको लागि विभागले ठेक्का व्यवस्थापन गरी निर्माण अगाडि बढाएको छ।
महानगर भित्र पर्ने सडक सञ्जाल मध्ये १४८ किलोमिटर सडक मात्रै विभागबाट कार्यान्वयन र मर्मत सम्भार हुँदै आइरहेको छ। चक्रपथ निर्माण एवं विस्तारलगायत सडकहरु व्यवस्थित गर्न भौतिक मन्त्रालयबाट स्पष्ट निर्देशन भई, सोही अनुरुप कार्य हुने गरी काम भइरहेको र यसको नतिजा आगामी आर्थिक वर्षबाट क्रमशः देखिदै जानेसमेत विभागले जनाएको छ।