बैंक तथा वित्तीय संस्थाहरुले लगानी गरेका ठूला कर्जा र त्यसबाट सिर्जित निष्क्रिय कर्जाका कारण विगतको कर्जा रणनीतिमा पुनरवलोकन गर्नुपर्ने दबाबमा बैंकिङ क्षेत्र परेको आभाष हुन्छ। बढ्दो निष्क्रिय कर्जाले आगामी दिनमा खुद्रा कर्जा (रिटेल लोन) र साना तथा मझौला व्यवसाय कर्जा (एसएमईज्) बढाउनुपर्ने संकेत गरेको छ।
बढ्दै गरेको निष्क्रिय तथा खराब कर्जाको प्रवृत्ति साँच्चिकै डरलाग्दो बनेको छ र यसले बैंकहरुको नयाँ ऋण लगानी गर्ने जोश र जाँगर कम हुँदै गएको देखाउँछ। आर्थिक वर्ष २०७८÷७९ मा औसत १.२० प्रतिशत रहेको वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा २०७९/८० मा आउँदा २.९८ प्रतिशतमा उक्लियो। २०८१ चैतसम्म निष्क्रिय कर्जा औसत ३.६५ प्रतिशत छ।
लगानी भइसकेकै ऋणको व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको अहिलेको अवस्थामा बैंकहरुले नयाँ कर्जा प्रवाह गर्नेतर्फ खासै ध्यान दिएका छैनन्। अर्काेतर्फ समग्र अर्थतन्त्र अझ खासगरी देशको सूक्ष्म अर्थतन्त्र अघोषित तर एक प्रकारको आर्थिक मन्दीबाट गुज्रिइरहेको अवस्थामा बैंकहरुमा कर्जाको यथेष्ट माग पनि छैन। बैंकमा पर्याप्त तरलता हुँदाहुँदै पनि कर्जा माग कम हुन गई कर्जा विस्तार हुन नसकेको अनौठो संयोग बैंकिङ जगत्ले यसपटक नजिकैबाट नियालिरहेको छ।
चालू आर्थिक वर्षको ९ महिनामा बैंक तथा बित्तिय संस्थाहरुबाट समग्रमा प्रवाहित कर्जाको वृद्धिदर करिब ५ प्रतिशत छ भने निक्षेप वृद्धिदर करिब ७ प्रतिशत छ।
२०८० चैतमा समग्र बैंकिङ क्षेत्रको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) करिब ८० प्रतिशत छ। विगतका वर्षको निक्षेप वृद्धिको प्रवृत्ति हेर्दा चालू वर्षको अन्तिम त्रैमासमा पनि करिब २०० देखि २५० अर्ब रुपैयाँ निक्षेप बढ्ने आकलन गर्न सकिन्छ। यसले वित्तीय प्रणालीमा थप तरलता देखिनेछ। तर, तरलता बढे पनि बैंकहरु ऋण लगानी विस्तार गर्ने अवस्थामा छैनन्। सबैको ध्यान फेरि पनि ऋण असुली र भइरहेकै कर्जा व्यवस्थापनमा केन्द्रित छ।
देशैभरि छरिएर रहेको निक्षेप परिचालन, त्यसबाट गरिने साखः र कर्जा सिर्जना अर्थतन्त्रका आधारभूत खम्बा हुन्। यसबाट देशमा आर्थिक वृद्धि र आर्थिक स्थायित्व पैदा हुन्छ। वित्तीय कारोबारका रुपमा हुने निक्षेप संकलन र कर्जा परिचालनले सम्पूर्ण अर्थतन्त्रमा तरंग प्रभाव (रिप्पल इफेक्ट) देखिने गर्दछ। बैंकहरु जनउत्तरदायी भई ऋण विस्तार गर्न सके र ऋणीहरुले पनि उत्तरदायी भई बैंकको ऋण परिचालन गर्न सकेको स्थितिमा ऋणीलाई आफ्नो आर्थिक लक्ष्य हासिल गर्न सहयोग पुर्याउनुका साथै उपभोग्य वस्तुमा खर्च, व्यावसायिक लगानी, कुल गार्हस्थ उत्पादन (जिडिपी) वृद्धि भई समग्र अर्थतन्त्र विस्तारमा सहयोग पुग्छ।
पछिल्ला दिनमा खासगरी साना व्यवसाय र व्यवसायीहरु एकातर्फ आयमा भइरहेको कमी र अर्कातर्फ दायित्व बहन गर्दा भइरहेको पुँजी क्षयीकरणबाट प्रताडित बनेका छन्। व्यवसाय चलाइराखेर घाटा बढाइराख्नुभन्दा व्यवसाय नै बन्द गरी जोगिने उपाय खोज्दा धेरै साना व्यवसाय अहिले बन्द भइसकेका र बन्द अवस्थामा पुगेका छन्।
एसएमईज्लाई अर्थतन्त्रको मेरुदण्ड मानिन्छ। एसएमईज्ले अर्थतन्त्रमा नवप्रवर्तनको विकासमा टेवा पुर्याउनुका साथै रोजगारी सिर्जना गरी स्थानीय तहमा समुदायलाई आर्थिक उन्नतिको बाटो खोलिदिन्छन्। एसएमईज्ले उद्यमशीलताको पृष्ठपोषण, विविधतामा समावेशिता, विविध संस्कृतिमा सामाजिक एकता, नैतिक व्यावसायिकता, प्रविधिको विकास र सामाजिक परिवर्तन गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्।
संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषद–एसिया तथा प्यासिफिक (युएनइएससिएपी) का अनुसार नेपालमा लघु, साना तथा मझौला व्यवसायले करिब २७ लाख मानिसलाई रोजगारी दिइरहेका छन्। नेपालमा आधिकारिक रुपमा दर्ता भई सञ्चालनमा भएका करिब ९ लाख २३ हजार (दर्ता नभई सञ्चालनमा रहेका साना व्यवसायको संख्या ठूलो छ) व्यवसायमध्ये करिब ९० प्रतिशत हिस्सा लघु, साना तथा मझौला व्यवसाय (एमएसएमईज्)को छ। एमएसएमईज्ले देशको कुल रोजगारीको ४५ प्रतिशत हिस्सा ओगटेको छ। तर, एमएसएमईज्हरुमा मागबमोजिम लगानी गरी सञ्चालन गर्न वा आवश्यक लगानी खाडल पुर्न ठूलो रकम चाहिन्छ, जुन युएनइएससिएपीका अनुसार करिब साढे ३ अर्ब अमेरिकन डलर हो।
बैंक तथा वित्तीय संस्थाहरुले तोकिएका क्षेत्रमा तोकिएको प्रतिशत बराबरको हिस्सा ऋण लगानी गर्नैपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले आफ्नो कुल ऋणको न्यूनतम ५ प्रतिशत विपन्न वर्ग कर्जा प्रवाह गर्नुपर्छ। त्यस्तै, बैंकहरुले २०८४ असारसम्म ऊर्जा क्षेत्रमा न्यूनतम १० प्रतिशत, कृषिमा १५ प्रतिशत, एमएसएमईज् (१ करोडभन्दा कम रकम) क्षेत्रमा १५ प्रतिशत ऋण लगानी गर्नुपर्छ।
ऊर्जा क्षेत्रमा तोकिएअनुसार ऋण लगानी भए पनि कृषि र एमएसएमईज्मा भनेअनुसार कर्जा प्रवाह हुन सकिरहेको छैन। २०८४ सम्म तोकिएको लक्ष्य भेट्टाउन बैंकहरुले अब प्रवाह गर्ने कर्जामा ठूलो हिस्सा लगानी गर्नुपर्ने हुन्छ। यसले बैंकहरुको लगानी आगामी दिनमा कृषि र एमएसएमईज्मा आकर्षित हुने देखिन्छ र हुनुपर्छ।
साना व्यवसायहरु देशको आर्थिक विकासका उत्प्रेरक तत्त्व हुन्। यस्ता व्यवसायले व्यवसाय सुरु हुने दिनमा व्यवसायीको स्व–पुँजी वा आन्तरिक स्रोतबाट लगानी माग्ने गर्छन् भने व्यवसाय विस्तारका क्रममा बाह्य स्रोतको पनि आवश्यकता पर्दछ। पछिल्ला दिनमा खासगरी साना व्यवसाय र व्यवसायी एकातर्फ आयमा भइरहेको कमी र अर्कातर्फ दायित्व बहन गर्दा भइरहेको पुँजी क्षयीकरणाबाट प्रताडित बनेका छन्। व्यवसाय चलाइराखेर घाटा बढाइराख्नुभन्दा व्यवसाय नै बन्द गरी जोगिने उपाय खोज्दा धेरै साना व्यवसाय अहिले बन्द भइसकेका र बन्दावस्थामा पुगेका छन्। यसको प्रभाव पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै देख्न सकिन्छ।
देशमा भइरहेका साना व्यवसाय बन्द हुनु अथवा यो क्षेत्रको विकास हुन नसक्नु भनेको फेरि पनि व्यवसायीहरु देश छाडेर रोजीरोटी र रोजगारीका लागि विदेश पलायन हुनु हो। हो, अहिले नै साना व्यवसायको योगदान देशको जिडिपीमा उल्लेख्य छैन तर एमएसएमईज्लाई उपेक्षा गर्नु भनेको दीर्घकालमा देशलाई क्षति हुनु हो र देश फेरि पनि श्रम र पाखुरा बेची विप्रेषणमै परनिर्भर हुनु हो। साना व्यवसायको पृष्ठपोषण र प्रवद्र्धन हुन सक्यो भने यसले व्यवसायी र तिनका परिवारका सदस्यको सोही व्यवसायमा आबद्धता एवं सक्रियता बढाउँदै थप रोजगारीका बाटाहरु पनि खुल्छ। साथै, वैदेशिक रोजगारीमा जाने बढ्दो प्रवृत्ति रोकिन टेवा पुग्छ। दीर्घकालमा व्यवसायको विकासले मुलुकको जिडिपी वृद्धिमा सहयोग पुग्ने र राज्यलाई आयकर प्राप्तिमा पनि राम्रो बल पुग्दछ।
लगानी भइसकेकै ऋणको व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको अहिलेको अवस्थामा बैंकहरुले नयाँ कर्जा प्रवाह गर्नेतर्फ खासै ध्यान दिएका छैनन्। अर्काेतर्फ समग्र अर्थतन्त्र अझ खासगरी देशको सूक्ष्म अर्थतन्त्र अघोषित तर एक प्रकारको आर्थिक मन्दीबाट गुज्रिइरहेको अवस्थामा बैंकहरुमा कर्जाको यथेष्ट माग पनि छैन।
एमएसएमईज्ले मुलुकको आर्थिक वृद्धिमा पुर्याउने योगदानको सन्दर्भमा द्वन्द्वग्रस्त मुलुक सिरियाको उदाहरण लिन सकिन्छ। सन् २०११ पछिको गृहयुद्ध हुनुअगाडि सिरियामा एमएसएमई क्षेत्रको योगदान देशको कुल जिडिपीको ६० प्रतिशत थियो, जुन अहिले युद्धग्रस्त अवस्थामा आउँदा पनि ४० प्रतिशत हाराहारी छ। एमएसएमईको दरिलो उपस्थितिले सिरियामा वर्तमान चुनौतीपूर्ण समयमा सरकारले रोजगारी वातावरण सिर्जना गर्न नसके पनि एमएसएमईहरुले रोजगारी सिर्जना गर्दै दिगो आर्थिक विकासमा सहयोग गरिरहेका छन्। साथै, ७० प्रतिशत जनताको जीवनस्तर उठाउन, गरिबी निवारण र सामाजिक, आर्थिक स्थायित्वलाई बढावा दिन योगदान गरिरहेका छन्।
एसमएमइज्ले सिरियामा परम्परागत सीप र सांस्कृतिक सम्पदा संरक्षणमा मद्दत गरिरहेका छन्। सिरियाली पुख्र्याैली परम्परा र सीपलाई गौरवको विषय ठानेर नयाँ पुस्तालाई पुराना सीप हस्तान्तरण गर्ने र त्यसबाट देशमा पर्यटन विकास गरी दिगो आयआर्जन गर्न एसएमईहरुले सघाइरहेका छन्। त्यति मात्र होइन, सिरियामा नयाँ उत्पत्ति भइरहेका साना व्यवसायले नवप्रवर्तनलाई अँगीकार गर्दै आधुनिक प्रविधिसँग तादात्म्य बनाउँदै सिरियालाई उद्यमशीलताको केन्द्र बनाउने लक्ष्य लिएका छन्। वातावरणमैत्री व्यवहारलाई टेवा दिँदै नवीकरणीय ऊर्जाको उच्चतम प्रयोगमार्फत साना व्यवसायहरुले सिरियामा हरित वातावरणको पुनरागमनमा योगदान गरिरहेका छन्। स्थानीय कृषि तथा ग्रामीण उद्यमहरुको पुनरोत्थानलाई आफ्नो उद्देश्य ठानेर अगाडि बढिरहेका सिरियाली साना व्यवसाय अहिले दीर्घकालीन खाद्य सुरक्षा र मूल्य शृंखला (भ्यालू चेन) को विकासका लागि व्यावसायिक प्रणाली (इकोसिस्टम) सुधार्न लागिपरेका छन्।
सिरियाको यो उदाहरण साना व्यवसायले अर्थतन्त्रमा पार्ने प्रभावकारिताको हकमा सबै ठाउँ र देशमा लागू हुन्छ। साना व्यवसायमा गरिने लगानीले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिन समय लाग्न सक्छ। तर, प्रभाव सकारात्मक हुने कुरामा दुईमत हुनै सक्दैन। साना व्यवसायमा गरिने लगानी प्रभाव अर्थतन्त्रमा सदाबहार (इभरग्रिन) हुन्छ। यसले व्यावसायिक प्रणाली विकास गर्न सधैं योगदान दिने गर्छ।
पछिल्ला दिनमा बैंकहरुलाई बढ्दो निष्क्रिय कर्जाले दबाब सिर्जना गरेको, भइरहेको कर्जा व्यवस्थापनमा बढी समय खर्चनुपरेको र थप कर्जा लगानी गर्न पुँजी पर्याप्तता अनुपात साँघुरिँदै गएको अवस्थामा सम्भाव्य साना व्यवसायीको व्यवसाय, व्यावसायिक परियोजना र तिर्न सक्ने सामथ्र्य हेरेर ऋण लगानी गर्न सक्नुपर्छ। यसले व्यवसायीहरुको आफ्नो व्यवसायप्रति मनोबल कमजोर भइरहेको समय अलकति सकारात्मक सन्देश प्रवाह गर्नेछ।
एकातिर बैंकहरुमा पर्याप्त तरलता विद्यमान छ भने अर्कोतिर सरकारको विकास खर्च बाँकी अवधिमा विगत वर्षमा जस्तै ठूलो मात्रामा हुन्छ। त्यसैले बैंक तथा वित्तीय संस्थाहरुले अहिलेदेखि नै कार्ययोजना बनाई नयाँ आर्थिक वर्षको सुरुआतबाटै एमएसएमईज् लगानी गर्ने हो भने त्यसको सकारात्मक प्रभाव अर्थतन्त्रमा देखिनेछ। त्यसले अर्थतन्त्रमा थप सकारात्मक तरंग प्रभाव पारी अर्थतन्त्र सुधारमा आशाका किरण देखिनेछन्। पक्कै पनि बैंक तथा वित्तीय संस्थाहरु, राष्ट्र बैंक र सरकारले यस विषयमा ध्यान पुर्याउनेछन्। सरकारको आउनै लागेको वार्षिक बजेटमा यो विषयले प्रवेश पाउने अपेक्षा छ।
साना व्यवसायमा गरिने लगानीको सकारात्मक तरंग प्रभाव देखाउने चित्र