काठमाडौं। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षापछि पहिलो पटक सेयर बजारमा गिरावट आएको छ। जेठ ४ गते राष्ट्र बैंकले चालू आर्थिक वर्ष (२०८०/८१) को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेबाट लगातार बढेको बजारमा आइतबार भने ‘ब्रेक’ लागेको हो।
साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.१४ अंक अर्थात् १.०३ प्रतिशतले घट्दै २१०९.३४ को बिन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार भने नेप्से १५.५४ अंकले बढेर २१३१.४९ को बिन्दुमा बन्द भएको थियो।
कारोबार सुरु भएको पाँच मिनेटमै अर्थात् ११ बजेर ६ मिनेटमा बढेर २१४२.५८ को बिन्दुमा पुगेको नेप्से त्यसबाट घटेर बन्द हुने समयमा भने २१०९.३४ को बिन्दुमा सीमीत भएको हो।
आइतबार नेप्सेमा कुल ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बुधबार भने नेप्सेमा कुल ५ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
आइतबार कारोबारमा आएकामध्ये २९ कम्पनीको सेयर मूल्य बढ्दा २१५ कम्पनीको घटेको छ। यस्तै, ३ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
आइतबार कालीन्चोक लिमिटेडको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्नु बाहेक अन्य कम्पनीको सेयर मूल्य खासै बढ्न सकेन। सिटी होटल लिमिटेडको सेयर मूल्य ८.२४ प्रतिशतले बढ्दा सनराइज ब्लुचिफ फन्डको सेयर मूल्य ८.०९ प्रतिशतले बढ्यो।
आइतबार इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक अर्थात् ६.३६ प्रतिशतले घट्दा विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.३५ प्रतिशतले घट्यो।
आइतबार होटल एन्ड पर्यटन समुहको सेयर मूल्य ३.३७ प्रतिशत र म्युचल फन्ड समुहको सेयर मूल्य ०.२१ प्रतिशतले बढ्नुबाहेक अन्य सबै समुहमा गिरावट आयो। सबैभन्दा बढी घटेको फाइनान्स समुहमा २.१९ प्रतिशतको गिरावट आयो।