काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितले प्रतिनिधि सभामा नाराबाजी गरिरहेकै बेला अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण र संस्थानको विवरण पेस गरेका छन्।
सभामुख देवराज घिमिरेले अर्थमन्त्री पुनलाई बोल्न समय दिएपछि प्रतिपक्षीको अवरोध छिचोल्दै मर्यादा पालकहरूले स्कटिङ गरी रोस्ट्रममा पुर्याएका हुन्। रोस्ट्रममा पुगेसँगै अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेस गरे।
सहकारी ठगी प्रकरणलाई मुद्दा बनाएर हिउँदे अघिवेशनमा चैत २ गतेदेखि संसद अवरुद्ध गर्दै आएको कांग्रेसले बजेट अधिवेशन पनि प्रभावित बनाउने प्रयास गरिरहेको छ।
वैशाख २८ गतेदेखि सुरु भएको संघीय संसदका गतिविधि सहज ढंगले अघि बढिरहेको छैन। जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम पेस गर्न दिए पनि कांग्रेसले अन्य गतिविधि हुन दिएको छैन।
विरोधकै बीच जेठ ८ गते राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गर्ने लगायतका काम भएको थियो भने आज आइतबार नाराबाजीकै बीच अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गरेका छन्। यसले प्रतिपक्षी दलहरू सहमतिमा नआए सरकार पेलेरै जाने र आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते पेस गर्ने तयारीमा जुटेको छ।
उता प्रतिपक्षले पनि विरोध गरिरहने तर नियमित काम कारबाहीलाई नरोक्ने मनसाय लिएको होकि भन्ने भान हुन्छ।
अर्थमन्त्रीले संसदलाई सम्बोधन गर्दै चालु आर्थिक वर्षको अर्थतन्त्र ३.९ अंकले वृद्धि हुने उल्लेख गरेका छन्।
चालु वर्ष कूल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान गरिएको छ भने प्रतिव्यक्ति आम्दानी पनि १ हजार ४५६अमेरिकी डलर हुने अर्थमन्त्री पुनले बताए।