काठमाडौं । पन्ध्र घण्टाभन्दा कम समयममा विश्वको सर्वोच्च शिखर सगरमाथामा आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्न सफल फुञ्जो लामालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ।
आरोही फुञ्जोले यही जेठ १० गते बिहान सगरमाथा शिखरमा पुगेर सबैभन्दा कम समयमा सगरमाथा आरोहण गर्ने महिला आरोहीको कीर्तिमान कायम गरेकी हुन्। उनी २४ घण्टा २४ मिनेटमा आधार शिविरबाट चुचुरोमा पुग्न र त्यहाँबाट आधार शिविरमा ओर्लेर कीर्तिमान कायम गर्न सफल भएकी हुन्।
विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार उनले १४ घण्टा ३१ मिनेटमा शिखर चुमेकी हुन्। सन् २०१८ मा उनले ३९ घण्टा ६ मिनेटमा शिखरमा पुगेकी थिइन्। सन् २०२१ मा हङ्कङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा शिखरमा पुगेर उनको कीर्तिमान भङ्ग गरेकी थिइन्।
वि.सं. २०४३ मा गोरखाको छेकम्पार बुर्जीगाउँ (चुम भ्याली)मा सामान्य परिवारमा जन्मेकी फुन्जोको सानै उमेरदेखि हिमाल आरोहणमा रुचि थियो। अमेरिकाको ‘डेनाली’ हिमाल चढेर आरोहण यात्रा प्रारम्भ गरेकी उनले चोयु, आमाडब्लम, लापुछे, मनास्लुको सफल आरोहण गरेकी छन्। उनले फ्रान्सको ‘मोमलङ’ हिमाल पनि आरोहण गरिसकेकी छन्।
आरोही फुञ्क्जोले हिमाल आरोहणका क्रममा दुर्घटनामा परेकालाई उद्धार गर्दै आएकी छन्। उनले सोलुखुम्बुको खुम्बु र गोरखाको मनास्लु क्षेत्रमा केन्द्रित रहेर उद्धार गर्दै आएकी छन्।
सगरमाथा आरोही सङ्घका महासचिव सापकोटाले फुञ्जोले कायम गरेको कीर्तिमानबाट विश्वभरका महिला आरोहीलाई प्रेरणा मिलेको तथा त्यसले देशको साहसिक पर्यटन विश्वबजारमा प्रवर्द्धन गर्न मद्दत पुग्ने बताइन्।
विमानस्थलमा उनलाई पर्वतारोही, पर्यटन व्यवसायी, सगरमाथा आरोही सङ्घका पदाधिकारी सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख सम्पर्क अधिकृतलगायत साहसिक पर्यटन क्षेत्रका अगुवाले स्वागत गरेका थिए। - रासस